बरहथवा ११ का तीन बस्ती दुई महिनादेखि अन्धकारमय

1.1k Shares

सर्लाहीको बरहथवा नगरपालिका ११ का करिब पाँच सय परिवार दुई महिनादेखि अन्धकारमा बस्न बाध्य भएका छन् । बरहथवा नगरपालिका ११ का करिब पाँच सय परिवार मङसिरदेखि अन्धकारमा बस्न बाध्य भएका हुन । 
बरहथवा नगरपालिका ११ स्थित रहेको विशेश्वरनाथ सामुदायिक ग्रामीण विद्युत् सहकारी संस्थामार्फत २०६७ सालदेखि बिजुली बत्ती बाल्दै आएका आफुहरु गएको मङ्सिर २७ गतेदेखि अन्धकारमा बस्न बाध्य भएको स्थानीयको गुनासो छ ।
सहकारी संस्थाले बिजुलीको बक्यौता रकम चुक्ता नगरेको भन्दै नेपाल विद्युत् प्राकिरणको बरहथवा वितरण केन्द्रले बरहथवा नगरपालिका ११ को हीरापुर,हीरापुर ब्यारेज र खोरकट्टी गाउँमा बत्ती काटेपछि मङसिरदेखि आफुहरु अन्धकारमा बस्न बाध्य भएको स्थानीय रामगुलाम महतोले बताए ।उनका अनुसार सामुदायिक विद्युतीकरणअन्तर्गत विद्युत् प्राधिकरणले एक ठाउँमा थोक मिटर राख्ने र त्यही मिटर रिडिङ गरेर सहकारीको नाममा बिजुलीको एकमुष्ट बिल काट्ने गरेको थियो ।
त्यसपछि सहकारीले आफ्ना कर्मचारी खटाएर स्थानीयको घर–घरमा रहेको मिटर रिडिङ गरेर पैसा सङ्कलन गर्दै आइरहेको थियो । पछिल्लो समय भने सहकारीले पैसा बुझाउन नसकेपछि प्राधिकरणले गाउँको बत्ती काटेदेखि आफुहरु अहिले टुकीको भरमा रात काट्न बाध्य भएको कपिल रायले बताए ।उनका अनुसार मोवाइल चार्ज गर्न समेत छिमेकी गाउँ वा बरहथवा बजारसम्म आउनुपर्ने बाध्यता छ ।
नियमित बिजुली महशुल बुझाउनेको समेत बत्ती काटिएको स्थानीय लोकप्रसाद पराजुलीले बताए ।उनका अनुसार सहकारी संस्थाका पदाधिकारीले सुरुदेखि नै हेलचेक्र्याइँ गर्दा आफूहरु अन्धकारमा बस्नुपरेको परेको छ । गाउँमा बिजुली नहुँदा स्थानीयले अन्यत्र रहेका आफन्तसँग कुराकानी गर्न पाएका छैनन् ।
बिजुली नहुँदा बरहथवा नगरपालिका ११ स्थित वडा कार्यालयमा अनलाइनबाट हुने सम्पूर्ण काम प्रभावित बनेको बरहथवा नगरपालिका ११ का वडा अध्यक्ष नवराज राईले बताए । ।उनका अनुसार  बत्ती नरहेकाले अनलाइनबाट हुने घटना दर्ताका लागि सेवाग्राहीलाई नगरपालिका कार्यालयमै पठाउनु पर्ने बाध्यता सृजना भएको छ ।
सुरुमा जसरी पनि गाउँमा बत्ती बाल्नुपर्छ भनेर सामुदायिक विद्युतीकरण गरिएको विशेश्वरनाथ सामुदायिक ग्रामीण विद्युत् सहकारी संस्थाका उपाध्यक्ष रामकृष्ण चालिसेले बताए ।उनले कतिपय ग्राहकले पैसा नबुझाइदिँदा यो अवस्था आएको दावी गरे । प्राधिकरणले यसअघि पनि बेलाबेलामा गाउँमा आएर बत्ती काट्दा स्थानीयले पैसा उठाएर केही बक्यौता रकम तिरेर बत्ती सूचारु गर्न लगाउने गरेका भएपनि यस पटक करिब दुई महिनादेखि देखिएको समस्या समाधानमा कसैको चासो छैन् । एक स्थानीयले बताए ।
तर यस पटक भने मङ्सिर २७ गतेदेखि प्राधिकरणले बत्ती काटेको छ । ग्रामीण विद्युतीकरण असफल भएपछि अब भने सोझै प्राधिकरणबाट घर–घरमा मिटर राखेर प्राधिकरणले नै मिटर रिडिङ गर्ने व्यवस्था मिलाउन लागिएको बरहथवा नगरपालिकाकी नगर प्रमुख कल्पना कुमारी कटुवालले बताइन् ।
उनले ग्रामीण विद्युतीकरण गर्ने सहकारीले लेखा परीक्षण केही नरहेको र संस्था नै लथालिङ्ग अवस्थामा रहेकाले प्राधिकरणकै माध्यमबाट बिजुली मिटर प्रयोग गरी महशुल सङ्कलनको व्यवस्था मिलाउन लागि परेको बताइन् । बरहथवा नगरपालिका ११ को सामुदायिक विद्युतीकरणलाई प्राधिकरणमै गाभ्ने प्रक्रिया अघि बढाईएको नेपाल विद्युत् प्राधिकरणको बरहथवा वितरण केन्द्रका सुपरभाइजर छोटेलाल यादवले बताए । उनका अनुसार हाल सहकारीको नाममा रहेको रु १३ लाख बक्यौता नगरपालिकाले तिर्ने सहमतीपछि सो गाउँमा मिटर जडान गरेर बत्ती सूचारु गर्ने तयारी भइरहेको छ ।

सम्बन्धित समाचार