संचारमाध्यमले सही,सत्य र निश्पक्ष समाचार लेख्नुपर्नेमा मधेश सरकारका प्रवक्ता एवं प्रदेश सरकारका गृह,संचार तथा कानून मन्त्री राजकुमार लेखीले बताए।चलचित्र तथा लोकसंचार प्रवद्र्धन केन्द्र मधेश प्रदेशले सर्लाहीको लालबन्दीमा आयोजना गरेको सात दिने छायांकन तथा सम्पादन सम्वन्धी प्रशिक्षणको उद्घाटन गर्दै मन्त्री लेखीले मिडिया यर्थाथको पक्षमा हुनुपर्ने बताए ।
मन्त्री लेखीले मिडियाले वास्तविकतामा रहेर तीन तहका सरकारको कमी,कमजोरी उजागार गर्न सक्षम भए समाजमा सुशासन कायम हुने समेत बताए।मन्त्री लेखीले प्रदेश सरकारसँग प्रहरी र कर्मचारी नहुँदा सेवा प्रवाहमा समस्या आइरहेको गुनासो गर्दै संचारमाध्यम र संचारकर्मीको हकहितका लागि यो वर्ष विभिन्न शीर्षकमा बजेट विनियोजन गरिएको बताए ।
लोक कल्याणकारी विज्ञापन थप गर्ने,आठवटै जिल्लामा नेपाल पत्रकार महासंघलाई कार्यालय व्यवस्थापन गर्न रु १० लाख प्रदान गर्ने,महासंघमा आवद्ध पत्रकारको जीवन बीमा गर्ने र अग्रज तथा उत्कृष्ट पत्रकारलाई सम्मान गर्नेलगायतका कार्यक्रम आगामी बजेटमा राखिएको मन्त्री लेखीले बताए ।
प्रदेश सरकार आफ्नै रेडियो,टेलिभिजन,अनलाइन र समाचार समिति संचालनमा ल्याउने योजनामा रहेको समेत मन्त्री लेखीले बताए ।चलचित्र तथा लोक सञ्चार प्रवद्र्धन बोर्ड जनकपुरधामका अध्यक्ष किशोर कुमार लेखीको अध्यक्षतामा आयोजित कार्यक्रममा बोर्डका सदस्य रामस्वागत चौधरी,आम संचार प्राधिकरण मधेश प्रदेशका कार्यालय प्रमुख प्रशन्नराज कर्ण र प्रेस काउन्सिल मधेश प्रदेशका सदस्य बन्धना झा लगायतको विशेष उपस्थिति रहेको थियो ।