पुर्व पश्चीम राजमार्ग स्थित सर्लाहीको बागमती नगरपालिका १२ कर्मैया चेक पोष्टबाट प्रहरीले रु ८६ लाख भन्दा बढीको भन्सार छलीको विभिन्न सामानहरु नियन्त्रणमा लिएको छ । पुर्व पश्चीम राजमार्ग स्थित सर्लाहीको बागमती नगरपालिका १२ कर्मैया स्थित ईलाका प्रहरी कार्यालय कर्मैयाबाट खटिएको प्रहरी टोलीले चेकजाँच गर्ने क्रममा चाईनिज लसुन, मोटर पार्टस र टायरहरू,भाँडा वर्तन र रेडिमेड कपडाहरु गरी रु ८६ लाख ६२ हजार चार सय ८८ बराबरको बिल बिजक र प्रज्ञापन पत्र नभएको सामान सहित दुई वटा ट्रक नियन्त्रणमा लिएको जिल्ला प्रहरी कार्यालय मलंगवा सर्लाहीका प्रहरी प्रवक्ता एवम प्रहरी नायव उपरिक्षक दिपक श्रेष्ठले जानकारी दिए ।
उनका अनुसार काठमाण्डौबाट झापाको काँकडभिट्टा तर्फ जादै गरेको प्र.१ ०१ ००१ ख ४१९० नम्बरको ट्रक रोकी चेकजाँच गर्दा उक्त ट्रकमा प्रज्ञापन पत्र नभएको र बिल बिजक भन्दा बढी भएको रु रू.२० लाख ७५ हजार पाँच सय २७ बराबरको चाईनिज लसुन सहितको ट्रक र वीरगन्जबाट झापाको बिर्तामोड तर्फ जाँदै गरेको ना ७ ख ९४६५ नम्बरको कन्टेनर ट्रक रोकी चेकजाँच गर्दा प्रज्ञापन पत्र नभएको रू.६५ लाख ८६ हजार नौ सय ६१ बराबरको मोटर पार्टस र टायरहरूका साथै भाँडा वर्तन र रेडिमेड कपडाहरु बिल बिजक भन्दा बढी रहेको पाइएपछि नियन्त्रणमा लिएको हो ।
दुई वटा ट्रकमा आएको बिल बिजक र प्रज्ञापन पत्र नभएको सामानहरु गरी कुल अन्दाजी रु ८६ लाख ६२ हजार चार सय ८८ बराबरको सामानहरू सहित दुई वटा ट्रक नियन्त्रणमा लिएको सर्लाही प्रहरीले जनाएको छ । नियन्त्रणमा लिइएको सामान सहित ट्रकलाई आवश्यक कार्बाहीको लागि राजश्व अनुसन्धान कार्यालय पथलैया बारा बुझाईएको जिल्ला प्रहरी कार्यालय मलंगवा सर्लाहीका प्रहरी प्रवक्ता एवम प्रहरी नायव उपरिक्षक श्रेष्ठले बताए ।
प्रहरीले नियन्त्रणमा लिएर आवश्यक कार्बाहीका लागि राजश्व अनुसन्धान कार्यालय पथलैया बाराका सामानहरुको के कार्बाही हुन्छ भन्ने कसैलाई थाहा हुँदैन्।त्यसरी प्रहरीले बिल बिजक र प्रज्ञापन पत्र नभएको सामानहरु नियन्त्रणमा लिएर आवश्यक कार्बाहीका लागि राजश्व अनुसन्धान कार्यालय पथलैया बारा पठाउने गरेको भएपनि त्यहाँ ठूलो आर्थिक चलखेल गरी रातारात सामानहरु विना कार्बाही छुट्ने गरेका व्यापारीहरु नै बताउँछन् ।सो विषयमा बुझ्न राजश्व अनुसन्धान कार्यालय पथलैया बाराका प्रमुख अनुसन्धान अधिकृत हरिप्रसाद शर्मा र राजश्व अनुसन्धान विभागका सूचना अधिकारी नवराज अधिकारीलाई फोन गर्दा उनीहरुको फोन उठेन ।