नेपालीहरुको दोस्रो ठूलो चाड तिहार नजिकिएसंगै सर्लाहीका बजार क्षेत्र प्लाष्टिकका मालाले भरिभराउ हुन थालेका छन्।केही दिन अघि मात्रै फुलमाला नदेखिने बजार क्षेत्रका पसलहरुमा हिजो आज भने तिहारलाई लक्षित गरेर प्लाष्टिकका माला लगायतका प्लाष्टिकका सामाग्रीहरु भरिभराउ भएकाहुन ।
बजारका ठाउँ ठाउँमा तिहार लक्षित प्लाष्टिकका सामाग्रीहरु राखिएका छन् ।भाइ टिकाको दिन नजिकिएसंगै लालबन्दी,हरिवन,बयलवास,बरहथवाका साथै मलंगवाका पसलहरुमा प्लाष्टिकका सामाग्रीहरु रंगिएका छन्।जसका कारण जिल्लामा सयपत्रीको माला बिक्रीको प्रचलन कम हुँदै गएको छ ।ठूला सहरमा सयपत्रीको मालाको ठूलो व्यापार हुने गरेको भएपनि जिल्लामा भने प्लाष्टिककै मालाको भर पर्नुपर्छ ।जिल्लामा वर्षेनि ठूलो मात्रामा प्लाष्टिकका माला खपत हुने गरेका छन्।प्लाष्टिकका रेडिमेट माला बाहेक फूलबाट बनेका माला पाइदैनन्।जिल्लामा फूलको मालाको खासै बजार नरहेको व्यापारीहरु बताउँछन्।फूलका माला छिट्टै विग्रिने भएकोले प्लाष्टिककै माला बढि किनमेल हुने गरेको व्यापारीहरु बताउँछन् ।तिहारमा मालासंगै ढाँकाको टोपीको पनि उत्तिकै माग हुने गरेको भएपनि बजारमा ढाँकाको टोपी कमपाउने गरिएको व्यापारीहरु बताउँछन् ।गतवर्ष भन्दा यो वर्ष प्लाष्टिकका मालाको व्यापार राम्रो हुने व्यापारीहरुले अपेक्षा गरेका छन् ।

रेडिमेट माला तथा अन्य सामाग्रीका कारण फुलका माला दिनप्रतिदिन हराउँदै गएको व्यापारीहरु बताउँछन्।फूलको व्यवसायिक उत्पादन नहुँदा तिहारमा प्लाष्टिककै मालाको भर पर्नुपरेको छ।गाउँघरमा विभिन्न जातका फूलको सामान्य उत्पादन हुने गरेको छ।तर तिहारका लागि फूल किनेर माला बनाउने बानीको विकास नहुँदा यसको व्यापार कम हुँदै गएको छ । सरकारले भने प्लाष्टिकका माला विक्री वितरणमा रोक लगाएको छ।सरकारले प्लाष्टिकजन्य मालाको विक्री वितरण नगर्न र गरेको पाइएमा रु एक लाखसम्म जरिवाना गर्ने चेतावनी दिएको भएपनि छिमेकी देश भारतसंग खुल्ला सिमाना रहेका कारण जिल्लामा खुलेआम प्लाष्टिकका माला बिक्री भइरहेका छन् ।
यस्तै,तिहार पर्वको दीपावलीमा माटोेको पालामा दियो बाल्ने चलनलाई समेत आधुनिकताले खाई दिएको छ।अहिले दियोको सट्टाले विजुली बत्तिले झिलिमिलि बनाउन थालिएको छ।पहिले यमपञ्चकको पहिलो दिनदेखि माटोले बनाइएको पालामा दियो बालेरे झिलिमिली बनाइने भएपनि पछिल्लो समय यो विस्थापित नै भएको छ।माटोको दियो बनाउने पनि घट्दै जानु र बजारमा बिभिन्न प्रबिधिहरु सहितका बत्तिहरु आउनुले यसको महत्व कम हुँदै गएको स्थानीय जानकारहरु बताउँछन् ।
गाउँमा पनि बिद्युतको पहुच बढेसँगै दियो,पालाहरुमा बत्ति बाल्ने प्रचल बिस्तारै हराउदै गएको हो।तिहारका अवसरमा खेलिने देउँसी भैलोमा समेत आधुनिकता मिसिएको छ।नयाँ पुस्ताले देउसी भैलोमा पनि आधुनिकता मिसाएको जानकारहरु बताउँछन्।देउसी भैलो खेल्दा मौलिक गीतहरु नगाई बजारमा आएका बिभिन्न गीतहरु मार्फत नाच्ने गाउने गरिंदा परम्परा हराउँदै जान थालेको छ।संस्कृति बचाउन भन्दा पनि अहिले पैसा जम्मा गर्ने उदेश्यले मात्र देउँसी भैलो खेल्न थालिएको जानकारहरु बताउँछन् ।