सर्लाहीको ईश्वरपुर नगरपालिका १२ घारिबथानका उपेश परियारको परिवारलाई आर्थिक सहयोग प्रदान गरिएको छ।करिब दुई साताअघि काभ्रेको धुलिखेलमा करेन्ट लागेर मृत्यु भएका परियारका परिवारलाई बैदेशिक रोजगारीमा रहेका घारिबथानसहित अन्य ठाउँका युवा र स्वदेशमै विभिन्न ठाउँमा कार्यरत व्यक्तिहरुले आर्थिक सहयोग गरेका इश्वरपुर नगरपालिका १२ का वडा अध्यक्ष देवी बहादुर खत्रीले जानकारी दिए ।उनका अनुसार मृतक परियारको परिवारलाई रु एक लाख ७१ हजार नौ सय ७१ बिहीबार परियार कै घरमा पुगेर प्रदान गरिएको हो ।
मृतक परियारका बुवा विष्णु दमाईसहित परिवारका सदस्यलाई सहयोग रकम हस्तान्तरण गरिएको हो।नेपाल विद्युत् प्राधिकरणले निर्माण भइरहेको नयाँ प्रशारण लाइनमा ठेकेदारमार्फत मजदुरको रुपमा कार्यरत २७ वर्षीय परियारको बिजुलीको खम्बामा चढेर काम गरिरहँदा एक्कासी करेन्ट प्रवाह हुँदा मृत्यु भएको थियो ।परियारको मृत्यु भएको दुई दिनअघि मात्रै हावाहुरी आएर घरको छानो उडाइ दिएको थियो ।परियारको काज किरियामै समस्या भएपछि स्थानीय मिलेर घरको छानो मर्मत गरिदिए पनि छानोबाट पानी चुहिँदा पीडित परिवार समस्यामा परिरहेका थिए ।