गोडैता नगरपालिका ६ स्थित सोरम खोलाको पुल छ वर्षदेखि अलपत्र

341 Shares

सर्लाहीको गोडैता नगरपालिका ६ बगदहस्थित सोरम खोलाको पुल छ वर्षदेखि अलपत्र छ । बगदहदेखि सीमावर्ती गाउँ बहादुरपुरलाई जोड्ने कालोपत्रे सडक अन्तर्गत सोरम खोलामा लामो समयदेखि पुल निर्माण कार्य अधुरो रहँदा स्थानीयलाई आवतजावत गर्न समस्या परेको छ ।
२०७४ फागुन ११ गते रु चार करोड २७ लाख ७९ हजार तीन सय आठमा पुल निर्माण गर्नका लागि भन्दै हिराचन्द,अञ्जना(जेभी)ले पुल निर्माणका लागि  ठेक्का सकार गरेको थियो । 
२०७६ पुस १० गतेभित्र पुल निर्माण सम्पन्न गर्ने भन्दै हिराचन्द,अञ्जना(जेभी)ले पुल निर्माणका लागि सम्झौता गरेको भएपनि अहिले सम्म पुल निर्माण कार्य अलपत्र परेको गोडैता नगरपालिकाका नगर प्रमुख देवेन्द्र कुमार यादवले बताए ।
उनका अनुसार निर्माण सम्पन्न गर्ने सम्झौता अवधि सकिएको छ वर्ष भइसक्दा पनि अहिले सम्म पनि पुल निर्माण कार्य अलपत्र परेपछि स्थानीयलाई आवत जावतमा निकै समस्या परेको छ ।
पुल निर्माणको काम पूरा नहुँदा वर्षायाममा आवतजावत गर्न असाध्यै समस्या परेको स्थानीयले गुनासो गरे।स्थानीयका अनुसार खोलामा बाढी आएको समयमा गोडैता बजारमा रहेको विद्यालयमा पढ्न जाने विद्यार्थी,खेतमा पुग्नुपर्ने किसान र दैनिक ओहोर दोहोर गरिरहने यात्रु प्रभावित हुँदै आएका छन् । पुल सञ्चालन नहुँदा बाढी आएको समयमा आउजाउ नै ठप्प हुने गरेको गोडैता नगरपालिकाले जनाएको छ ।
ठेकेदारले पुल अलपत्र छाडेपछि नगरपालिकाबाटै बारम्बार डाइभर्सन निर्माण गरेर आवत जावत गर्ने व्यवस्था मिलाउँदै आएको गोडैता नगरपालिकाका प्रमुख यादवले बताए।उनका अनुसारसडक डिभिजन चन्द्रनिगापुरका प्रमुख र प्रमुख जिल्ला अधिकारी समेतलाई पुलको विषयमा जानकारी गराएको भएपनि सरोकारवाला निकाय मौन देखिएका छन् । 
गोडैता नगरपालिका ६ बगदहस्थित सोरम खोलामा पुल नहुँदा बाढी आएको समयमा सीमावर्ती गोडैता नगरपालिका १,२ र ३ का स्थानीयको उत्तरी भेगसँग सम्पर्क टुट्ने गरेको गोडैता नगरपालिकाकी उप प्रमुख अन्जना कुशवाहाले बताईन् ।उनका अनुसार नगरपालिकामा सेवा लिन आउने नागरिकहरु ठुलो बाढी आएको दिन नगरपालिका कार्यालय आउन नसकेर फर्किनु पर्ने अवस्था छ ।
गोडैता नगरपालिका ६ स्थित सोरम खोलाको अलपत्र पुल निर्माण गर्ने जिम्मेवारी पाएको हिराचन्द–अञ्जना(जेभी)लाई पुल निर्माणको काम सक्न अहिलेसम्म चार पटक म्याद थप भइसकेको सडक डिभिजन चन्द्रनिगाहपुरका इन्जिनियर दीपेन्द्र कुमार साहले बताए ।
उनका अनुसार पछिल्लो पटक संघीय सडक सुपरिवेक्षण तथा अनुगमन कार्यालय काठमाडौँबाट पुनः २०८२ पुस ३० गतेभित्र पुल निर्माणको काम सम्पन्न गर्ने गरी म्याद प्रदान गरिएको छ ।निर्माण व्यवसायी बिक्रन्त महतोले अब पुसभित्रमा पुल निर्माण कार्य सक्ने प्रतिबद्धता जनाएका इन्जिनियर साहले बताए ।
गोडैता नगरपालिका ६ स्थित सोरम खोलाको पुल करिब तयार भइसके पनि खोलामा तटबन्ध लगाउने र पहुँच सडक निर्माण गर्न बाँकी रहेको छ । ठेकेदारले दुई वटा काम तत्कालै गरे पुल सञ्चालन भइहाल्ने अवस्था रहेको डिभिजन चन्द्रनिगापुर कार्यालयले जनाएको छ ।कार्यालयका अनुसार ठेकेदारलाई पुल निर्माणको काम सक्न बारम्बार ताकिता गरे पनि आर्थिक कारण देखाएर काममा आलटाल गर्दै आइरहेका छ ।

सम्बन्धित समाचार