सर्लाहीका उम्मेदवारले ७५ दिनमा पनि खर्च विवरण बुझाएनन्

2.5k Shares

स्थानीय निकायको निर्वाचन सम्पन्न भएको २ महिना पुरा हुँदा समेत सर्लाहीका अधिकांश उम्मेदवारहरुले चुनावको खर्च विवरण बुझाएका छैनन् । वैशाख ३० मा सम्पन्न स्थानीय निकायको निर्वाचनमा जिल्लाभर ६ हजार २ सय ४६ जना उम्मेदवारमध्ये १ सय ८ जनाले मात्रै चुनावको खर्च विवरण पेस गरेका जिल्ला निर्वाचन कार्यालय सर्लाहीले जनाएको छ ।
स्थानीय निकाय निर्वाचन ऐन र स्थानीय निकाय निर्वाचन नियमावलीमा उम्मेदवारहरुले निर्वाचन खर्च ३० दिनभित्र बुझाउनुपर्ने व्यवस्था रहेको भएपनि जिल्लाका जिल्लाका ६ हजार १ सय ३८ जना उम्मेदवारहरुले निर्वाचन खर्च नबुझाएका जिल्ला निर्वाचन कार्यालय सर्लाहीका निर्वाचन अधिकृत सत्यनारायण साहले जानकारी दिए ।उनका अनुसार निर्वाचन परिणाम घोषणा भएको ३० दिनभित्र ६ हजार २ सय ४६ जना उम्मेदवारहरुमध्ये १ सय ८ जनाले मात्रै चुनावी खर्चको विवरण पेस गरेको छन् । 
वैशाख ३० को निर्वाचनबाट जिल्लाभर ६ हजार २ सय ४६ जना उम्मेदवारहरुमध्ये १ हजार ४० जना जनप्रतिनिधि निर्वाचित भएका छन् । विजयी भएका स्थानिय निकायका प्रमुखहरुमध्ये जिल्ला समन्वय समिति सर्लाहीका सभापति कौशल किशोर सिंह र लालबन्दी नगरपालिकाका नगर प्रमुख वासुदेव अधिकारी सहित केही गाउँपालिकाका उपा अध्यक्षहरु र केही वडा अध्यक्ष तथा सदस्यहरुले मात्रै चुनावी खर्च विवरण बुझाएका निर्वाचन अधिकृत साहले बताए ।उनका अनुसार खर्च विवरण बुझाउने अन्य उम्मेदवारमा विजयी हुने र पराजित हुने दुवै रहेका छन् ।
जिल्लामा स्थानीय निकायको निर्वाचनको परिणाम घोषणा भएको करिब ७५ दिन भई सकेको छ । अहिले पनि केही स्थानिय निकायहरुका उम्मेदवारहरु तथा जनप्रतिनिधिहरुले  निर्वाचन खर्चको विवरण इमेल मार्फत पठाइ रहेका भएपनि म्याद गुज्रेका कारण अब कार्यालयमा निर्वाचन खर्चको विवरण नबुझ्ने जिल्ला निर्वाचन अधिकारी साहले बताए । म्याद गुज्रिएपछि पनि केही उम्मेदवार खर्च विवरण बुझाउन आएको भए पनि उनिहरूको विवरण फर्काइएको साहले बताए । कार्यपालिका सदस्य र जिल्ला समन्वय समिति सदस्यको भने खर्च विवरण बुझाउने म्याद बाँकी रहेको जिल्ला निर्वाचन कार्यालय सर्लाहीले जनाएको छ ।
देशभरमा सबै भन्दा धेरै २० वटा स्थानिय निकाय रहेको सर्लाहीमा २ सय वटा वडाहरु रहेका छन् । जसमा ६ हजार २ सय ४६ जना उम्मेदवारहरुले आफ्नो उम्मेदवारी दिएका थिए । त्यस मध्य १ हजार ४० जना जनप्रतिनिधि निर्वाचित भएका हुन् ।

सम्बन्धित समाचार