बागमती पुल मर्मत हुने, केही दिन डाइभर्सनबाट सवारी आवागमन हुने

306 Shares

पूर्व पश्चिम राजमार्ग अन्तर्गत सर्लाही र रौतहटलाई जोड्ने बागमती खोलाको पुल जिर्ण भएपछि मर्मतका लागि डाइभर्सनबाट सवारी साधनहरु सञ्चालन गर्न सहयोग गर्न सडक डिभिजन कार्यालय चन्द्रनिगाहपुरले अनुरोध गरेको छ।बागमती पुलबाट यातायात संचालन बन्द गर्न सहयोग गरी दिन कायालय प्रमुख अरुण कुमार लाल कर्णले शुक्रबार जिल्ला प्रशासन कार्यालय सर्लाही र रौतहटलाई पत्राचार गरेका छन् ।
“सडक डिभिजन कार्यालय चन्द्रनिगाहपुर अन्र्तगतको कार्यक्षेत्र भित्र पर्ने पूर्व पश्चिम राजमार्गको बाँके बागमती धन्सार सडक खण्डको चेनेज ३१३+५३० मा रहेको बागमती पुलको पूर्व पटीबाट पांच स्थान क्षतिग्रस्त भएको सर्वविदितै छ।उक्त क्षतिग्रस्त भएको स्थानमा शनिबार १२ बजे देखी फागुन १ गते सम्म यातायात संचालन रोकी मर्मत संभार कार्य सुचारु गर्नुपर्ने भएको व्यहोरा अवगत गराउंदै सो मर्मत संभार कार्य अवधि भरको लागि अस्थायी रुपमा निर्माण भएको डाईभर्सनबाट यातायात संचालन गर्ने व्यवस्थाको लागि आवश्यक सहयोग र समन्वय गरिदिनु हुन अनुरोध छ ।” कार्यालय प्रमुख कर्णले हस्ताक्ष्र गरी गरिएको पत्रामा भनिएको छ ।सोही पत्रमा जिल्ला प्रहरी कार्यालय, सर्लाही र रौतहट र बागमती सिंचाई आयोजना,कर्मैया, सर्लाहीले सो अवधिमा बागमती नदीमा कम पानी पठाई सहयोग गरिदिनु हुन समेत अनुरोध गरिएको छ ।
श्री संघीय सडक सुपरीवेक्षण तथा अनुगमन कार्यालय बबरमहल,काठमाण्डौ, बागमती नगरपालिकाको कार्यालय, कर्मैया, सर्लाही, चन्द्रपुर नगरपालिकाको कार्यालय,चन्द्रनिगाहपुर,रौतहट,बागमती नगरपालिका १२ र चन्द्रपुर नगरपालिका १ लाई बोधार्थ लेखिएको पत्रमा सहयोगका लागि अनुरोध गरिएको छ ।पुल जिर्ण भएपछि मर्मतको काम गर्दा पुल पूर्णरुपमा बन्द गर्नुपर्ने स्थिति आएपछि पुलदेखि दक्षिणतर्फ डाइभर्सन निर्माण भएको हो।खोलामा बालुवा,गिट्टी बिछ्याउने र पानी भएको ठाउँमा ह्यूम पाइप राखेर डाईभर्सन तयार पारिएको कार्यालय प्रमुख  कर्णले बताए।उनका अनुसार पुर्व पश्चीम अति व्यस्त सहडको बागमती नदी स्थित पर्ने पुलको“ब्यारिङ प्याडेस्टल”मा क्षति पुगेर पुल नै धस्सिएपछि जोखिम बढेको भन्दै कार्यालयले डाईभर्सन तयार गरेको हो ।
५५ वर्ष पुरानो यो पुल मर्मत नगरिए दुर्घटनाको जोखिम बढेपछि तत्काल मर्मतको काम गर्न लागिएको कार्यालयले जनाएको छ।पुललाई पहिलेकै भागमा उठाएर उच्च गुणस्तरमा कङ्क्रिट राखेर ढलान गरेको २४ घण्टापछि पुलबाट साबिककै झैँ सवारी साधन गुडाउन मिल्ने अवस्था सिर्जना हुने कार्यालय प्रमुख कर्णले बताए ।जोखिमपूर्ण बनेको बागमती पुलको सडक विभाग अन्तर्गत पुल महाशाखाको टोली समेत आएर निरीक्षण गरी फर्किएको छ ।अब महाशाखाको प्राविधिक टोलीसहित सडक डिभिजनको जनशक्ति खटिएर मर्मतको काम गर्ने र करिब चार दिनमा मर्मतको काम सकिने छ ।
पुल मर्मत हुने समयमा अहिले निर्माण भइरहेको डाइभर्सनबाट प्रत्येक सवारी साधन संचालन हुने व्यवस्था मिलाइएकोे छ।सर्लाही र रौतहत दुवैतर्फका सुरक्षा निकायबीच समन्वय गरी डाइभर्सनबाट सहजरुपमा सवारी साधन सञ्चालन गराइने सर्लाहीका प्रमुख जिल्ला अधिकारी तुलसी बहादुर श्रेष्ठले बताए।उनका अनुसार दैनिक हजारौँ सवारी साधनहरु आवत जावत गर्नेयस सडक खण्डको पुल मर्मतको काम सम्पन्न भएपछि पुलबाटै सवारी साधनहरु सञ्चालन हुने छन् ।

सम्बन्धित समाचार