हरिपुर्वाका सरकारी स्वास्थ्य संस्थामा निःशुल्क सेवा पाउनै समस्या

371 Shares

सर्लाहीको हरिपुर्वा नगरपालिकाका सरकारी स्वास्थ्य संस्थाहरुमा उचित स्वास्थ्य सेवा लिन नपाएको स्थानीयले गुनासो गरेका छन् ।हरिपुर्वा नगरपालिकाका विभिन्न वडाहरुमा सञ्चालित सरकारी स्वास्थ्य संस्थाहरुमा प्रसुती लगाएतका सेवा लिन गएका सेवाग्राहीहरुले उचित सेवा नपाउनुका साथै सामान्य औषधीहरु समेत नपाएको गुनासो गरेका छन् ।
हरिपुर्वा नगरपालिका २ की अन्दाजी १८ वर्षिय बबिता पासवान प्रसुती सेवा लिनका लागि हरिपुर्वा नगरपालिका १ कै स्वास्थ्य चौकीमा गएकी भएपनि त्यहाँ उचित सेवा नपाएको उनका परिवारले गुनासो गरेका छन् ।गत कात्तिक ३० गते साँझ प्रसुती सेवा लिन गएकी  पासवानको केही समयपछि सामान्य अवस्थामा बच्चा जन्मियो ।सोही स्वास्थ्य संस्थामा नियमित गर्भ परीक्षण गराएकी पासवानको
पहिलो बच्चा सामान्य जन्मिए पनि आमाको“भजाइन् टियरिङ”भएपछि बर्थिङ सेन्टरमा रहेका स्वास्थ्यकर्मीहरुलाई आपत आइ लाग्यो ।सुविधा सम्पन्न भनेर ल्याएको बर्थिङ सेन्टरमा सामान्य घाउ सिउनको लागि आवश्यक सियो(क्याटगड) समेत थिएन।उपचारमा खटिएकी स्वास्थ्यकर्मीले कतै मेडिकलबाट किनेर तत्काल ल्याउनु भन्दै आवश्यक सामानको सूची पासवानका श्रीमानको हातमा राखि दिईन् तर रातीको समय भएकाले कुनै उपाय थिएन ।
यता,सुत्केरी पासवानको रगत बगाउँदै गएपछि शैयामा छटपटीन थालिन।स्वास्थ्यकर्मीले पासवानलाई ढाडस दिँदै आफूले सिकेको अनेक उपाय लगाएर रगत रोक्ने प्रयास गरे। भोलिपल्ट बर्थिङ सेन्टर नजिकैको मेडिकल खुलेपछि औषधि र सामान ल्याएर उपचार गरियो ।पासवान जस्तै हरिपूर्वा नगरपालिका ६ की १९ वर्षिय रेजिना कार्कीलाई पनि गत कात्तिक १२ गते सुत्केरी व्यथा लाग्यो।परिवारले तत्काल बर्थिङ सेन्टर पु¥याएको केही समयमै सामान्य अवस्थामा बच्चा जन्मियो,तर,बच्चा जन्मने क्रममा कार्कीको पनि भजाइन टेयरिङ भएर रक्तस्राव भयो ।
बर्थिङ सेन्टरमा सामान्य उपचारको सामान समेत नभएपछि उनको परिवारले पनि हातमा औषधिको सूची लिएर रातभर हारगुहार गरे,तर,कुनै उपाय नलागेपछि पासवानले जस्तै कार्कीले पनि जोखिमपूर्ण ढङ्गले भोलिपल्ट बिहान हुने पर्खाइमा पीडा सहेर बसे ।
सामान्य उपकरण र औषधि नहुँदा बर्थिङ सेन्टर आउने पासवान र कार्की जस्ता आमा र नवजात शिशुको ज्यान जोखिममा पर्ने गरेको पाइएको छ।सुविधा सम्पन्न भनिएको बर्थिङ सेन्टरमा प्रसुती सेवा लिन आउने गर्भवतीका आफन्तले आवश्यक पानीदेखि सियो धागो र स्वास्थ्यकर्मीको लागि पञ्जासम्म आफैँले किनेर लैजानु पर्ने बाध्यता रहेको सेवाग्राहीहरु बताउँछन् ।
नगरपालिकाबाट आवश्यक बजेट विनियोजन नहुँदा सेवा प्रवाहमा समस्या रहेको स्वास्थ्य चौकीका प्रमुख उमेशकुमार यादवले बताए।उनले सामान्य एउटा कोठालाई बीचमा बारेर दुई कोठा बनाएर बर्थिङ सेन्टर सञ्चालन गरिएको र रातको समयमा बिजुली गएको समयमा मोबाइलको बत्ती बालेर सेवा दिनुपर्ने बाध्यता रहेको गुनासो गरे छ।उनका अनुसार स्वास्थ्य चौकीमा नेपाल सरकारले निःशुल्क उपलब्ध गराउने औषधी समेत अभाव रहेको छ ।
अहिले चिसो समयमा धेरै रुघा,खोकी र ज्वरोका समस्या भएका बिमारी आउने गरेका भएपनि आवश्यक औषधि नहुँदा बिरामीहरु सोव पाउनबाट बञ्चीत हुने गरेका पाइएको छ।एक गैर सरकारी संस्थाले केही उपकरण उपलब्ध गराएपछि पाँच वर्षअघि सुरु भएको बर्थिङ सेन्टरका अधिकांश उपकरण अहिले काम नलाग्ने अवस्थामा पुगि सकेका स्थानीय बताउँछन् ।
नियमित मर्मत नहुँदा बच्चालाई तातो बनाउने(बेबी वार्मर) र पानी तताउने भाँडो काम नलाग्ने अवस्थामा पुगेको छ।सबै नागरिकले गुणस्तरिय स्वास्थ्य सेवा पाइरहेको हरिपूर्वा नगरपालिकाका नगर प्रमुख विनोद कुमार साहले बताए ।उनका अनुसार नगरपालिका भित्रका सबै स्वास्थ्य चौकीहरुमा नियमित रुपमा निःशुल्क औषधि वितरण भइरहेको साथै तत्काल थप बुझेर समस्या समाधान गरिने बताए।हरिपुर्वा नगरपालिकामा नगर अस्पताल पनि चाँडै सञ्चालनमा आउने नगर प्रमुख साहले बताए ।

सम्बन्धित समाचार