सर्लाहीको बागमती नगरपालिकाका विभिन्न स्थानहरुमा जारी निःशुल्क आँखा शिविरमा एक हजार एक सय २५ जनाले आखा जाँच गराएका छन। शुक्रबारबाट सुरु भएको निःशुल्क आँखा शिविरमा सोमबार सम्म एक हजार एक सय २५ जनाको निःशुल्क आँखाको जाँच गरिएकोमा एक सय ७७ जनामा मोतिया विन्दुको समस्या देखा परेको बागमती नगरपालिकाको स्वास्थ्य शाखाका प्रमुख पदम रायमाझीले जानकारी दिए ।
उनका अनुसार शुक्रबार देखि सोमबार सम्मको चौथो दिन सम्ममा एक हजार एक सय २५ जनाको आँखाको निःशुल्क जाँच गरिएकोमा एक सय ७७ जनामा मोतिया बिन्दुको समस्या देखिएको साथै मोतिया बिन्दुका बिरामीहरुको माघ १२ देखी १४ गते सम्म बागमती नगरपालिका ५ स्थित रहेको जनता नमुना मा.विमा निःशुल्क शल्यक्रिया गरिने छ ।
सोमबार बागमती नगरपालिका ३ धरहरा स्थित रहेको जनकल्याण आधारभुत विद्यालयको प्राङ्गणमा निःशुल्क आँखाको जाँच गरिएको हो।सोमबार भएको शिविरमा एक सय ७४ जनाको निःशुल्क आँखा जाँच गरिएको र ४४ जनामा मोतिया बिन्दुको समस्या फेला परेको बागमती नगरपालिकाको स्वास्थ्य शाखाले जनाएको छ ।
बागमती नगरपालिकाको आयोजना तथा तिलगङ्गा आँखा प्रतिष्ठान काठमाडौँको प्राविधिक सहयोगमा बागमती नगरपालिकाका विभिन्न स्थानहरुमा निःशुल्क आँखा शिविर सञ्चालन भइरहेको हो।शिविर अन्तरगत आज मंगलबार बागमती नगरपालिका ४ जिरायत स्थित जनज्योति आधारभुत विद्यालयमा निःशुल्क आँखा शिविर सञ्चालन हुने आयोजकले जनाएको छ ।