भारतको ओडिसास्थित कलेजमा मृत फेला परेकी सर्लाहीको कविलासी नगरपालिका ८ की प्रिसा साहको ओडिसामै अन्त्येष्टि गरिएको छ।कविलासी नगरपालिका ८,कविलासी चोकका श्याम प्रसाद साहकी २० वर्षीया छोरी प्रिसा बैशाख १८ गते बेलुका कलिङ्ग इन्स्टिच्यूट अफ इन्डस्टिङयल टेक्नोलोजी (केआइआइटी) ओडिसामा झुण्डिएको अवस्थामा मृत फेला परेकी थिईन् ।

त्यहाँदेखि घरसम्म शव ल्याउँदा टाढा पर्ने भएपछि उनका बुवा श्याम प्रसाद,आमा पिङ्की र भाइ गौरव कुमार प्रिसाको शव ओडिसामै अन्त्येष्टि गरेर कविलासीस्थित घर फर्किएका छन् ।श्वास नली थिचिएर प्रिसाको मृत्यु भएको भनी ओडिसाको अस्पतालले पोष्टमार्टम रिपोर्ट प्रदान गरे पनि प्रहरी,अस्पताल र कलेजले मृत्युको एकिन कारण दिनै नसकेको पीडित परिवारको गुनासो छ।बैशाख १८ गते बेलुुका प्रिसाको मृत्यु भएको खबर पाएपछि बुवा,आमा,भाई र आफन्त बैशाख १९ गते नै ओडिसीस्थित कलेजतर्फ प्रस्थान गरेका थिए ।प्रिसा ओडिसाको उक्त कलेजमा कम्प्युटर साइन्स विषयमा सेकेन्ड सेमेस्टरमा अध्ययनरत रहेकी पीडित परिवारको भनाई छ ।सोही कलेजमा केही महिना पहिला अर्की नेपाली छात्रा प्रकृति लम्सालको शंकास्पद मृत्यु भएको थियो ।

उक्त कलेजमा समय समयमा नेपाली विद्यार्थीको मृत्यु भएपनि नेपाली सरोकारवाला पक्षको ध्यानाकर्षण नभएको पीडित परिवारको गुनासो छ।नेपालमा राम्रो प्राविधिक कलेज नभएका कारण बाध्याताले केआइआइटी जानु परेको र त्यहाँ नेपाली विद्यार्थीहरु असुरक्षित रहेका पीडित परिवारको भनाई छ ।