सर्लाहीको गोडैता नगरपालिका बगदह स्थित रहेको महालक्ष्मी चिनी उद्योगले उखु किसानहरुको भुक्तानी दिन आलटाल गरेको भन्दै उखु उत्पादक किसानहरु चिन्तित देखिएका छन्।महालक्ष्मी चिनी उद्योगले करिब रु चार करोडको भुक्तानी दिन बाँकी रहेको उखु उत्पादक किसानहरुले दाबी गरेका छन् ।
गएको माघ मै उद्योगलाई उखु बिक्रि गरेका किसानहरुले अहिलेसम्म पनि पूरा भुक्तानी नपाउँदा आर्थिक समस्या परेको गुनासो गरेका छन् ।उद्योगबाट पाउनुपर्ने भुक्तानी र सरकारले दिने घोषणा गरेको प्रतिक्विन्टल रु ७० अनुदान रकम नपाउँदा घर व्यवहार धान्न,बालबालिकाको अध्यायन शुल्क बुझाउन र अहिले हुर्कदै गरेको उखु बालीमा मलखाद हाल्न समस्या परेको जिल्लाका उखु उत्पादक किसानहरुले गुनासो गरेका छन् ।
महालक्ष्मी चिनी उद्योगले यो वर्ष पनि बद्मासी गरेर उखु किसानमाथि अन्याय गरेको गोडैता नगरपालिकाका नगर प्रमुख एवम उखु किसान अगुवा देवेन्द्र यादवले आरोप लगाए।गोडैता ,बलरा नगरपालिका र रामनगर उँपालिकाका प्रमुखसँग अन्य चिनी मिललाई आफ्नो पालिकाभित्र उखु तौल गर्ने काँटा राख्न नदिन र सबै उखु आफूले नै खरिद गरेर चैतभित्रमा भुक्तानी गर्ने उद्योगपतिसंग सहमती गरेर कार्यान्वयन नगरेको नगर प्रमुख यादवको गुनासो छ ।
त्यस्तै,चैतभित्रैमा सम्पूर्ण उखु किसानहरुको भुक्तानी गर्ने उद्योगका सञ्चालक वीरेन्द्र कनौडियाले प्रतिवद्धता जनाए पनि कार्यान्वयन हुन सकेको छैन् ।उद्योगले प्रत्येक वर्ष चिनी उद्योग सञ्चालन गर्नुअघि मात्रै किसानको सम्पूर्ण भुक्तानी गर्ने गरेको थियो । अन्यत्रको भन्दा आफ्नै ठाउँको उद्योगलाई उखु दिऊँ न त भनेर तीन पालिका मिलेर यो पटक अरु चिनी मिललाई काँटा राख्न निषेध गरेर उद्योगको हितमा काम गरेको भएपनि त्यही उद्योगबाट धोका भएको बलरा नगरपालिकाका नगर प्रमुख रामा शंकर कुशवाहाले बताए ।
उनका अनुसार उद्योगलाई किसानको बाँकी बक्यौता भुक्तानी गर्न बारम्बार घच्घच्याउने काम भई रहेको छ तर उद्योगले भने चिनी बिक्री नभएकाले उखु किसानको बाँकी पैसा भुक्तानी गर्न समस्या परेको बताएको छ ।किसानहरुले दाबी गरे अनुसार बक्यौता रकम करिब रु चार करोड नभइ करिब डेढ करोड भुक्तानी गर्न बाँकी रहेको र उद्योगसंग रु २५ करोडको चिनी बिक्री नभएर थन्किएको महालक्ष्मी चिनी उद्योगका उखु प्रवन्धक शिवशंकर महतोले बताए ।उनले चिनी बिक्री नभए पनि यथाशिघ्र उखु उत्पादक किसानहरुको बक्यौता रकम भुक्तानी गर्ने बताए ।यता,महालक्ष्मी चिनी उद्योग र अन्नपुर्ण चिनी उद्योगले हरेक वर्ष जिल्लाका उखु उत्पादक किसानहरुलाई झुक्याउने काम गरि रहेको नोपल उखु उत्पादक किसान महासंघको आरोप छ ।