सर्लाहीको लालबन्दीका एग्रोभेटहरुको अनुगमन गर्दा एग्रोभेट सञ्चालकहरुको भागाभाग भएको छ।सरकारले प्रदान गर्ने अनुदानको रासायनिक मलमा व्यापक कालोबजारी भएको गुनासो आएपछि लालबन्दी नगरपालिकाकी उपप्रमुख कल्पनामाया पाख्रिनको नेतृत्वमा नगरस्तरिय अनुगमन टोली बजार अनुगमनमा पुग्दा एग्रोभेट सञ्चालकहरुको भागाभाग भएको हो ।
कृषि सामग्री कम्पनि लिमिटेडको डिलर अर्थात् मल बाँड्ने जिम्मेवारी पाएका सहकारी संस्थामा मलखाद नपाइने तर बजारका एग्रोभेट पसलमा कालोबजारीमा छ्यापछ्याप्ती बिक्री भइरहेको गुनासो आएपछि एग्रोभेट पसलको अनुगमन गरिएको नगर उपप्रमुख कल्पनामाया पाख्रिनले बताईन् ।जनप्रतिनिधिहरु,कृषि प्राविधिकहरु,नेपाल प्रहरी र नगर प्रहरी अनुगमनमा गएका थाहा पाएपछि धेरैजसो एग्रोभेट सञ्चालक पसल बन्द गरेर भागेका तीनवटा एग्रोभेट पसलको मात्रै अनुगमन गर्न पाइएको उपप्रमुख पाख्रिनले बताइन ।

तीन वटा मध्ये एभरेष्ट एग्रोभेट पसलबाट छ बोरा अनुदानको पोटास बरामद गरिएको नगरस्तरिय अनुगमन समितिले जनाएको छ।अन्य पसल सञ्चालक हतार हतारमा पसल बन्द गरेर फरार भएकाले कालोबजारीको मलखाद रहे÷नरहेको हेर्न नै नपाएको लालबन्दी नगरपालिका ७ का वडा अध्यक्ष कृष्ण गोपाल कार्कीले बताए ।
सहकारी मार्फत धेरथोर लिएको मल सरकारले प्रदान गरेको अनुदान अनुसार सहुलियत दरमा पाइने गरेको भएपनि एग्रोभेटमा कालोबजारीबाट आएको त्यही मललाई चर्को मुल्यमा किन्नु परेको किसानहरुले व्यापक गुनासो गरेका छन्।सरकारले पर्याप्त मल उपलब्ध नगराउँदा यस्तो समस्या आएको किसानहरुको गुनासो छ ।