सर्लाहीको लालबन्दी नगरपालिका–१२ जियाजोरमा माछा पालनाका लागि खनिएको पोखरीमा डुबेर बेपत्ता भएका बालकको २० घण्टापछि शव फेला पारिएको छ।लालबन्दी नगरपालिका–११ हीरापुरका देवेन्द्र ठाकुरका अन्दाजी १५ वर्षिय छोरा राजु ठाकुर आईतबार अपरान्ह उत्त पोखरीमा पोडि खेल्न गएको समयमा डुबेर बेपत्ता भएका थिए।लालबन्दी नगरपालिका–१२ लखन्देही खोला पारी रहेको एक स्थानीयले माछा पालन गर्नका लागि केही वर्ष पहिला निर्माण गरिएको पोखरीमा डुबेर बेपत्ता भएका युवक ठाकुरलाई सामेबार मध्यान्ह करिब साढे १२ बजे मृत फेला पारिएको जिल्ला प्रहरी कार्यालय सर्लाहीले जनाएको छ ।
कार्यालयका अनुसार आईतबार र सोमबार नेपाल प्रहरी र शसस्त्र प्रहरीको टोलीले खोजतलास गर्दापनि फेला पार्न नसकेपछि शसस्त्र प्रहरी बल नेपाल छिन्नमस्ता बाहिनी बर्दिवासको गोताखोर टोलीले डुङगा र बाँसको सहायताले ठाकुरको शव पानीमुनीबाट निकालेको हो । डुबेर बेपत्ता ठाकुरको आईतबार साँझ पनि करिव तीन घण्टा नेपाली सेना,नेपाल प्रहरी र सशस्त्र प्रहरी बल नेपाल सुरक्षा वेश हरिवनको टोलीले खोजतलास गरेका थिए ।
आईतबार फेला नपरेका ठाकुरलाई सोमबार बिहानैदेखि पुनःगोताखोर टोली परिचालन गरेर खोजी गर्दा मृत फेला पारिएको जिल्ला प्रहरी कार्यालय सर्लाहीले जनाएको छ।मृतक ठाकुरको शव पोस्टमार्टमका लागि प्रादेशिक अस्पताल मलंगवा पठाइएको प्रहरीले जनाएको छ । स्थानीयका अनुसार गर्मी छल्न ठाकुरसँगै पोखरीमा पौडी खेल्न पुगेका अन्य सात जना युवाहरु सकुशल बाहिर निस्किएका छन्।भने प्रहरीले घटनाको सम्वन्धमा आवश्यक अनुसन्धान सुरु गरेको जनाएको छ ।