नेपाल प्रहरीको चार प्रहरी अतिरिक्त महानिरीक्षक (एआईजी)को दरबन्दी खाली भएको छ।प्रहरी एकेडेमीका कार्यरत एआईजी सुदीप गिरी र काठमाडौं उपत्यका प्रहरी कार्यालय रानीपोखरीमा कार्यरत एआईजी टेकबहादुर तामाङ ३० वर्षे सेवा अवधिका कारण अनिवार्य अवकाशमा गएपछि चार प्रहरी अतिरिक्त महानिरीक्षक (एआईजी)को दरबन्दी खाली भएको हो ।
यसअघि एआईजीको ५६ वर्षे उमेर हदका कारण प्रशासन विभागमा कार्यरत कृष्णहरि शर्मा भदौ १५ मै अवकाशमा गएका थिए ।उनीहरुसँगै प्रहरी महानिरीक्षक दीपक थापा पनि अनिवार्य अवकाश भएपछि चार एआईजीको दरबन्दी रिक्त भएको हो। आईजीपी थापाको ठाउँमा केन्द्रीय अनुसन्धान ब्यूरो (सीआईबी)का एआईजी चन्द्र कुवेर खापुङलाई बढुवा गरिएको छ । अवकाशमा जाने अधिकृतहरुको बिदाई समेत भइसकेको छ।जसकारण सीआईबीसँगै,काठमाडौं उपत्यका प्रहरी कार्यालय,एकेडेमी र प्रशासन विभागमा एआईजीको दरबन्दी खाली भएको हो ।

चार एआईजीको दरबन्दीका लागि नौ जना डीआईजीहरुबीच प्रतिस्पर्धा हुने भएको छ।प्रतिस्पर्धाको पहिलो सूचीमा सुशील सिंह राठौर छन्।प्रशासन विभागमै डीआईजीमा कार्यरत उनी राष्ट्रिय अनुसन्धान विभागमा भर्ना भएर नेपाल प्रहरीमा स्थानान्तरण भएर आएका अधिकृत हुन्।दोस्रो नम्बरमा मधेश प्रदेश प्रहरी कार्यालय जनकपुरधाम धनुषाका डीआईजी उमा प्रसाद चतुर्वेदी छन्।उनी पनि राठौर जस्तै राष्ट्रिय अनुसन्धान विभागमा भर्ना भएर नेपाल प्रहरीमा स्थानान्तरण भएर आएका अधिकृत हुन् ।
बढुवाको तेस्रो नम्बरमा हिमालय कुमार श्रेष्ठ छन्।उनी पनि राष्ट्रिय अनुसन्धान विभागमा भर्ना भएर नेपाल प्रहरीमा स्थानान्तरण भएर आएका अधिकृत हुन्।चौथो नम्बरमा डम्बर बहादुर विक छन्।उनी पनि राष्ट्रिय अनुसन्धान विभागमा भर्ना भएर नेपाल प्रहरीमा स्थानान्तरण भएर आएका अधिकृत हुन्।डीआईजी ईश्वर कार्की,राजेन्द्रप्रसाद भट्ट, दिनेश कुमार आचार्य,अरुण पौडेल र गोविन्द थपलिया पनि प्रतिस्पर्धामा रहेका छन् ।