“जेनजी पुस्ता”ले आयोजना गरेको आन्दोलनको रिपोर्टिङ गर्ने क्रममा पाँच जना पत्रकारहरु घाईते भएपछि नेपाल पत्रकार महासंघ सहित जनपत्रकार संगठन नेपाल मधेश प्रदेश समितिले आपत्ती जनाएको छ ।“जेनजी पुस्ता”ले आयोजना आन्दोलनको कार्यक्रमको रिपोर्टिङ गर्ने क्रममा संघीय राजधानी काठमाण्डौँमा पत्रकारहरु दीपेन्द्र ढुंगाना,श्याम श्रेष्ठ,मदन ढुंगाना,उमेश कार्की र शम्भु डंगोल लगायतका घाइते भएपछि महासंघ सहित जनपत्रकार संगठनले विज्ञप्ती जारी गरि आपत्ती जनाएका हुन ।
भ्रष्टाचार,बेथिति र सामाजिक सञ्जालमाथिको प्रतिबन्ध विरुद्ध शान्तिपूर्ण प्रदर्शनमा उत्रिएका “जेनजी पुस्ता”का करिब २ दर्जन युवाहरुको हत्या,सयौं घाइते हुने गरी सरकारले गरेको आततायी दमनको समेत विरोध गर्दै पाँच जना पत्रकार घाइते भएका र एक सञ्चारगृहको भवनमा आन्दोलनकारीले ढुंगामुढा गरेको घटनाप्रति महासंघ र जनपत्रकार संगठनले निन्दा र भत्र्सना गरेको छ ।
महासंघले सामाजिक सञ्जाल नियन्त्रणबाट प्रेस तथा अभिव्यक्ति स्वतन्त्रतामा अंकुश लाग्ने भएकाले तत्काल निर्णय फिर्ता लिन सरकार समक्ष माग राखेको थियो।सरकारले महासंघ लगायतका सरोकारवाला पक्षको आवाज नसुनेका कारण पछिल्लो परिस्थिति निर्माण हुन पुगेको महासंघ र जनपत्रकार संगठनको ठहर छ ।
घाइते पत्रकारहरुको काठमाडौंको विभिन्न अस्पतालमा उपचार भइरहेको छ।नयाँ बानेश्वरमा सोमबार भएको प्रदर्शनका क्रममा निषेधित क्षेत्र तोड्दै आन्दोलनकारी संघीय संसद भवन प्रवेश गर्न खोजेपछि प्रहरीले अत्याधिक बल प्रयोग गरी गोली चलाएको थियो।सोही क्रममा पत्रकारसहित आन्दोलनकारीलाई गोली लागेको थियो।प्रहरीको गोली लागेर कतिपय प्रदर्शनकारीको मृत्यु भएको छ भने पत्रकारका साथै धेरै जना आन्दोलनकारी घाइते भएका छन् ।

युवाहरुको माग सम्बोधन गर्नुको सट्टा ताकी ताकी गोली चलाएर हत्या हिंसा मच्चाएर वर्तमान सरकारले मानवता विरोधी जघन्य अपराध गरेको जनपत्रकार संगठन नेपाल मधेश प्रदेश समितिले जारी गरेको विज्ञप्तीमा उल्लेख गरिएको छ।भ्रष्टाचार र बेथितिको अन्त्य र सामाजिक सञ्जालमाथि लगाइएको प्रतिबन्ध हटाउन माग गर्दै शान्तिपूर्ण आन्दोलनमा उत्रेका युवामाथि वर्तमान सरकारले गरेको क्रूर र आततायी दमनमा परेर जीवन गुमाउने युवाहरु प्रति महासंघ र जनपत्रकार संगठनले भावपूर्ण श्रद्धाञ्जली अर्पण गरेका छन् ।साथै मृतकका परिवारलाई उचित क्षतिपूर्तिका साथै दमनमा संलग्नहरुलाई कारबाहीको माग गरिउको छ । महासंघ र जनपत्रकार संगठनले पत्रकारसहित घाइते सबैको शीघ्र स्वास्थ्य लाभको कामना व्यक्त गरेको छ ।साथै जनपत्रकार संगठनले पूर्ण प्रेस स्वतन्त्रताको सम्मान गर्न र निर्वाध रुपमा पत्रकारलाई काम गर्न दिन सम्बन्धित सबै पक्षसँग आग्रह गरेको छ ।
युवाहरुको हत्या गर्ने,सयौं युवाहरुलाई घाइते बनाउने र पत्रकारहरुमाथि गोली प्रहार गर्नेहरुमाथि उच्चस्तरीय छानवीन गरेर कानुनी कारबाहीको माग गर्दछ।जनपत्रकार संगठन नेपाल मधेश प्रदेश समिति आन्दोलनरत युवाको माग अविलम्ब सम्बोधन गर्न तथा युवाहरुको आततायी हत्या गरेर जघन्य अपराध गरेको सरकारका प्रधानमन्त्री केपी शर्मा ओलीलाई राजीनामा दिन आग्रह गर्दछ।जनपत्रकार संगठन नेपाल मधेश प्रदेश समितिका इन्चार्ज गौरब सीले हस्ताक्षर गरी जारि गरिएको विज्ञप्तीमा भनिएको छ ।