सिन्धुली जिल्ला कारागारबाट एकैपटक कैदी तथा थुनुवा फरार भएका छन्।चार सय २८ जना पुरुष र ४३ जना महिला गरी कुल चार सय ७१ जना कैदी वन्दी रहेको जिल्ला कारागार कार्यालय सिन्धुलीबाट कतिजना कैदी वन्दी भागे भन्ने एकिन विवरण कसैले सार्वजनिक नगरेपनि केही कैदी वन्दीहरु भागेका कारागार प्रशासनले जनाएको छ।कैदी वन्दी भागेपछि जिल्ला कारागारको सुरक्षा चुनौती थपिएको छ ।
न्याय र कानुनी प्रक्रियाको अन्तिम बिन्दु मानिने कारागारबाटै कैदी र थुनुवा भाग्नु गम्भीर विषय भएकाले सुरक्षा संयन्त्र माथि प्रश्न चिन्ह खडा भएको स्थानीय बताउँछन्।उनीहरुले कारागारको सुरक्षा व्यवस्था प्रति चिन्ता व्यक्त गर्दै यस्ता घटना दोहोरिन नदिने उपाय खोज्न सरकारलाई आग्रह गरेका छन् ।
कारागार प्रशासन र प्रहरी बीचको तालमेल अभाव,संरचनागत कमजोरी र पर्याप्त जनशक्ति नहुँदा कारागारबाट भागेका कैदी वन्दीहरुको खोजतलासमा समस्या सृजना भएको स्रोतको भनाई छ।जसका कारण कानुनी प्रक्रियामा मात्रै अवरोध पु¥याएको नभई जिल्लाको समग्र सुरक्षा प्रति आशंका सृनजा भएको छ ।
त्यसैगरी,मधेशका तीन वटा जेलबाट नौ सय ८३ जना कैदी बन्दी भागेका छन् ।मधेशको सप्तरी,महोत्तरी र रौतहट जिल्ला कारागारमा आन्दोलन,आगजनी र तोडफोड गरी नौ सय ८३ जना जेलको पर्खाल फोड्दै बाहिरिएका सरोकारवाला निकायले जनाएको छ ।
सप्तरीको राजविराज कारागारबाट दुई सय पाँच जना कैदी वन्दी फरार भएकामा ३१ जनालाई नियन्त्रणमा लिएको प्रमुख जिल्ला अधिकारी टुवराज पोखरेलले जानकारी दिए ।उनका अनुसार आगलागी भएको र प्रहरी आगो निभाउन व्यस्त रहँदा कैदीहरू पर्खाल नाघेर भागेका थिए।
महोत्तरीको जलेश्वर कारागारमा पाँच सय ७६ जना कैदी वन्दी एकैपटक आन्दोलन गर्दै भागेका छन।कुल पाँच सय ७६ जना कैदी वन्दी रहेकामा सबैजना कैदी वन्दीहरु एकैपटक भागेका कारागार प्रशासनले जनाएको छ ।मधेश आन्दोलनकै क्रममा प्रहरी अधिकृत थमन वि.क हत्या प्रकरणमा थुनिएका छ जना अभियुक्तलाई रिहाइ गर्न आन्दोलनकारी पुगेपछि कैदीहरूले समेत विद्रोह गरेका थिए । यस्तै,रौतहटको गौर कारागारबाट दुई सय ९१ जना कैदी वन्दीहरु मध्ये दुई सय ३३ जना कैदी बन्दी भागेका छन्। कारागार तोडफोडपछि २४ जना कैदी वन्दी मात्रै कारागारमा बाँकी रहेका छन्।
यता, सर्लाही कारागार र वीरगन्ज कारागारका कैदी वन्दीहरुले पनि कारागारमा आन्दोलन गर्दै आगजनी गरेर भागन खोजेपनि सुरक्षा व्यवास्थामा कडाई गरिएका कारण कुनैपनि कैदी वन्दीहरु भाग्न सफल नभएका पाइएको छ ।सिरहा कारागार भने अहिलेसम्म शान्त रहेको छ।तर,मधेशका अधिकांश कारागार सदरमुकाम र सीमावर्ती क्षेत्रमा भएकाले ठूलो संख्यामा कैदीहरू खुला सीमा हुँदै भारततर्फ भागेको हुन सक्ने आशंका गरिएको छ।लगातार भइरहेको “जेलब्रेक”का घटनाले स्थानीयमा त्रास उत्पन्न भएको छ।कारागारमा रहेका कैदी वन्दीहरुले रवि मात्रै किन छुटे हामी किन नछुट्ने भन्दै आन्दोलन चर्काएका छन् ।यता,नेपाल सरकार गृह मन्त्रालयले कारागारबाट भागेका कैदी वन्दीहरुको खोजीका लागि निर्देशन जारी भई सकेको छ भने नेपाल भारत सीमा क्षेत्रमा सुरक्षा व्यवस्था कडा पारिएको छ ।