आगजनी र तोडफोड भएको नगरपालिका परिसरमा नगर कार्यपालिकाको बैठक

427 Shares

सर्लाहीको लालबन्दी नगरपालिकाले आगजनी र तोडफोड भएको नगरपालिका कार्यालयको परिसरमा नगर कार्यपालिकाको बैठक गरेकोे छ ।आगजनी र तोडफोडबाट नगरपालिकाको प्रशासनिक भवन र भवन भित्र रहेका कागजात,विद्युतीय उपकरण,फर्निचर तथा अन्य सामग्री सबै खरानी भएपछि नगरपालिकाको परिसरमा नगर कार्यपालिकाको ५९ औँ बैठक बसेको प्रमुख प्रशासकीय अधिकृत वसन्त न्यौपानेले जानकारी दिए ।
उनका अनुसार बैठकले नगरपालिकाको प्रशासनिक भवन,वडा कार्यालयहरुमा भएको अगाजनी र तोडफोडका साथै नगर प्रमुख वासुदेव अधिकारीको घरमा भएको तोडफोडप्रति खेद प्रकट गर्दै हाल ठप्प रहेका नगर र वडाको आधारभूत सेवा तत्काल सुचारु गराउन तयारी अघि बढाउने निर्णय गरेको छ ।

WhatsApp Image 2025-09-15 at 9.01.50 PM (1).jpeg
शहरी विकास तथा भवन निर्माण कार्यालयले लालबन्दी नगरपालिका ८ मा निर्माण गरेको आगजनी र तोडफोड भएकै भवन जेष्ठ नागरिक आवाश गृहलाई मर्मत सम्भार गरी त्यहीँबाट नगरपालिका कार्यालय सञ्चालन गर्ने कार्यपालिकाले निर्णय गरेको नगर उप प्रमुख कल्पनामाया पाख्रिनले बताईन्।उनका अनुसार नागरिकसँग प्रत्यक्ष जोडिएको राजस्व संकलनका लागि दुई÷तीन दिनभित्रै अस्थायीरुपमा काउन्टर खडा गर्ने तथा क्षति पुगेका वडा कार्यालयहरुले तीन दिनभित्रमा क्षतिको लगत संकलन गरी बुझाउने र यथाशीघ्र व्यक्तिगत घटना दर्तासहितका सेवा सुरु गर्ने निर्णय भएको छ ।

WhatsApp Image 2025-09-15 at 9.01.50 PM (2).jpeg
“जेन जी”पुस्ताको नाममा भएको प्रदर्शनका क्रममा आगजनी र तोडफोडबाट लालबन्दी नगरपालिकाको प्रशासनिक भवनसहित भवनभित्र रहेका सम्पूर्ण शाखाका कम्प्युटर,विभिन्न विद्युतीय उपकरण,फर्निचर र सबै कागजातलगायत जलेर नष्ट भएका छन्।यस्तै प्रदर्शनकारीले आगो झोस्दा नगर प्रमुख अधिकारी, उपप्रमुख पाख्रिन र प्रमुख प्रशासकीय अधिकृत न्यौपाने चढ्ने गाडी,एउटा जेसिबी,एउटा स्काभेटर,एउटा टिपर र एउटा ट्याक्टर प्रयोग गर्न नमिल्ने गरी जलेका छन् ।

WhatsApp Image 2025-09-15 at 9.01.50 PM.jpeg
फुटेका सिसा र आगजनी भएका विभिन्न सामग्रीका टुक्रा यत्रतत्र रहेकाले नगरपालिकाको कार्यालयभित्र पस्न सक्ने अवस्था नरहेको नगरपालिकाको सूचना तथा प्रविधि शाखाले जनाएको छ।तोडफोड तथा आगजनीबाट लालबन्दी नगरपालिका १,२,४,५,६,७,९ र १७ को वडा कार्यालयमा समेत क्षति पुगेको छ।भदौ २४ गते मंगलबार भएको घटनापछि यस नगरपालिकाका कुनै पनि वडाले काम कारवाही अघि बढाउन नसकेका नगरपालिकाले जनाएको छ ।

सम्बन्धित समाचार