कमिसन चलखेलमा पूर्वाधारका योजना असम्बन्धीत व्यक्ति मार्फत खरिद–बिक्री,

114 Shares

विकास निर्माणका नाममा सञ्चालन गरिने पूर्वाधारका योजनाहरूमा व्यापक कमिसन चलखेल हुने गरेको तथ्य बाहिरिएको छ।स्थानीय तहदेखि संघीय निकायसम्मले सञ्चालन गर्ने विकास निर्माणका हरेक काममा कमिसन असुलेर गुणस्तहीनता साथै गैर सम्बन्धीत व्यत्तिहरुलाई योजनाको चिठ्ठी बेच्ने र कमिसन असुल्ने गरेका रहस्यहरु फेला परेका छन् ।
जसमा प्रदेश सरकारले सञ्चालन गर्ने योजनाहरुमा पूर्वाधार विकास कार्यालय सर्लाहीले चर्काे कमिसन असुलेर गैर सम्बन्धीत मानिसहरुलाई योजनाको चिठ्ठी बिक्रि गर्ने गरेको पाइएको छ ।हरिवन नगरपालिका–८ मा निर्माण हुने तालिम केन्द्रको भवन निर्माणको चिठ्ठी पुर्वाधार विकास कार्यालय सर्लाहीले ठूलो रकम कमिसन लिएर बिक्रि गरेको तथ्य फेला परेको हो ।
नियमानुसार सम्बन्धीत प्रदेश सरकारको सम्बन्धीत मन्त्रालयबाट पुर्वाधार विकास कार्यालय मार्फत सम्बन्धीत वडा कार्यालयहरुमा चिठ्ठी पुग्नु पर्नेमा पुर्वाधार विकास कार्यालयहरुमा विचौलियाहरु गएर कमिसन बुझाएर योजनाको चिठ्ठी लिने गरेका रहस्य फेला परेको हो ।यसबाट योजना छनोटदेखि बजेट विनियोजन,ठेक्का प्रक्रिया र भुक्तानीसम्म कमिसनको प्रभाव बढ्दै जाँदा विकास आयोजना नै “खरिद–बिक्री”को माध्यम बन्न थालेको सरोकारवालाहरूको आरोप छ ।
स्थानीय तह,प्रदेश सरकार तथा संघीय मन्त्रालयबाट सञ्चालन हुने सडक,नाला,भवन, खानेपानी,सिंचाइ तथा अन्य पूर्वाधार योजनाहरू राजनीतिक पहुँच र आर्थिक चलखेलका आधारमा वितरण हुने गरेको गुनासो बढी रहेको भएपनि सरोकारवाला निकाय मौन देखिएको उनीहरुको आरोप छ ।योजना आवश्यकताको आधारमा भन्दा पनि “कसले कति कमिसन दिन सक्छ”भन्ने आधारमा छनोट हुने तथा चिठ्ठी वितरण हुने गरेको आरोप स्थानीयको छ।
स्रोतका अनुसार कतिपय योजनाहरू बजेट विनियोजन हुनुअघि नै निश्चित निर्माण व्यवसायी वा पहुँचवालाको नियन्त्रणमा पुग्ने गरेका छन्।योजनाको लागत अनुमान तयार पार्दा नै कमिसन मिलान हुने गरी रकम बढाइने र प्रतिस्पर्धी कम्पनीलाई प्रक्रियाबाट बाहिर राख्ने तथा मिलेमतोमा ठेक्का दिने प्रवृत्ति बढेको पाइन्छ।
विशेषगरी आर्थिक वर्षको अन्तिम समयमा हुने विकास निर्माणमा यस्तो विकृति झन् बढी देखिने गरेको छ।असार महिनामा बजेट सक्ने दबाबका कारण हतारमा ठेक्का प्रक्रिया पूरा गरिने,अपूर्ण कामलाई पूर्ण देखाइने तथा गुणस्तर परीक्षण बिनै भुक्तानी दिने काम व्यापक रूपमा हुने गरेको स्थानीयको आरोप छ।
कतिपय स्थानमा एउटै योजना विभिन्न राजनीतिक समूहबीच भागबण्डा गरेर सञ्चालन गरिने गरिएको छ।योजना सञ्चालनका लागि उपभोक्ता समिति गठन गर्दा पनि राजनीतिक पहुँच र आर्थिक प्रभावलाई प्राथमिकता दिने गरिएको पाइन्छ।उपभोक्ता समितिमार्फत सञ्चालन हुने योजनामा वास्तविक काम भन्दा बढी रकम देखाएर अनियमितता गर्ने प्रवृत्ति बढेको छ।
निर्माण व्यवसायीहरूका अनुसार ठेक्का प्राप्त गर्न विभिन्न तहमा“अनौपचारिक रकम” बुझाउनुपर्ने बाध्यता छ।योजना स्वीकृतिदेखि अन्तिम भुक्तानीसम्म अनेक शीर्षकमा रकम मागिने भएकाले गुणस्तरीय काम गर्न कठिन हुने उनीहरूको भनाइ छ।एक निर्माण व्यवसायीका अनुसार“कामभन्दा बढी कमिसन मिलाउनुपर्ने अवस्था छ,त्यसैले लागत कटौती गर्न कमसल सामाग्री प्रयोग गर्नुपर्ने बाध्यता छ।”
योजनामा हुने कमिसन चलखेलकै कारण धेरै पूर्वाधार निर्माण सम्पन्न भएको केही समयमै भत्किने गरेका उदाहरण प्रशस्तै छन्।वर्षायाम सुरु हुनासाथ सडक उप्किने,नाला भासिने, पुलमा समस्या देखिने तथा भवन चर्किने समस्या बारम्बार दोहोरिने गरेको छ।यसले राज्यको अर्बौं रुपैयाँ खर्च भए पनि जनताले गुणस्तरीय सेवा पाउन सकेका छैनन् ।
सार्वजनिक खरिद प्रक्रियामा पारदर्शिता अभाव हुनु पनि समस्याको मुख्य कारण मानिएको छ। कतिपय ठेक्कामा मिलेमतोमा बोलपत्र हाल्ने,प्रतिस्पर्धा सीमित गर्ने तथा पहुँचका आधारमा निर्णय गरिने प्रवृत्तिले भ्रष्टाचार संस्थागत बन्दै गएको विज्ञहरू बताउँछन्।खरिद प्रक्रिया विद्युतीय प्रणालीमार्फत भए पनि व्यवहारमा राजनीतिक र प्रशासनिक हस्तक्षेप कायम रहेको उनीहरूको भनाइ छ।
भ्रष्टाचार विरुद्ध काम गर्ने निकायहरूमा समेत प्रभाव पार्ने प्रयास हुने गरेको आरोप बेला–बेलामा उठ्ने गरेको छ।अख्तियार दुरुपयोग अनुसन्धान आयोगमा पूर्वाधार योजनासँग सम्बन्धित उजुरीको संख्या उच्च भए पनि अधिकांश प्रकरणमा प्रभावकारी अनुसन्धान हुन नसकेको गुनासो सरोकारवालाको छ।
स्थानीयवासी विकासका नाममा भइरहेको अनियमितताबाट दिक्क बनेका छन्।विज्ञहरूका अनुसार योजना खरिद–बिक्रीको प्रवृत्ति रोक्न सार्वजनिक खरिद प्रणालीलाई पूर्ण पारदर्शी बनाउन आवश्यक छ।योजना छनोटमा राजनीतिक प्रभाव हटाएर आवश्यकता र प्राविधिक मूल्यांकनलाई आधार बनाउनुपर्ने उनीहरूको सुझाव छ। 
त्यस्तै,निर्माण कार्यको नियमित अनुगमन,गुणस्तर परीक्षण र समयमै कारबाहीको व्यवस्था प्रभावकारी बनाइनुपर्ने माग पनि उठिरहेको छ।सरोकारवालाहरूले विकास निर्माणलाई कमिसनको माध्यम बनाउने प्रवृत्ति अन्त्य नगरेसम्म देशमा दिगो पूर्वाधार निर्माण सम्भव नहुने बताएका छन्।जनताको करबाट सञ्चालित योजनामा हुने अनियमितता रोक्न राज्य संयन्त्र कडा रूपमा प्रस्तुत हुनुपर्ने माग समेत बढ्दै गएको छ।
यता,हरिवन नगरपालिका–८ को उक्त तालिम केन्द्रको भवन निर्माण गर्ने योजनाको चिठ्ठी स्थानीय तर गैर सम्बन्धीत मानिसले खरिद गरेर ल्याएका सवालमा आफुलाई थाहा नभएको पुर्वाधार विकास कार्यालय सर्लाहीका प्रमुख सन्जय यादवले बताए।उनी हालसालै मात्रै सरुवा भएर सर्लाही आएका भएपनि यस अघिका प्रमुख विजय यादवले ठूलो कमिसन असुलेर योजना बेचेका अन्य घटनाहरु समेत फेला परेको छन् भने उक्त तालिम केन्द्रको भवन स्वास्थ्य चौकीको परिसर भित्र स्वास्थ्य चौकीकै जग्गामा निर्माण सुरु गरिएको छ।जुन भवन निर्माण गर्नका लागि अन्यन्त्र नै तर सोही वडामा जग्गा उपलब्ध हुँदा हुँदैपनि वडा अध्यक्ष प्रज्वल ढुंगानाले राजनीतिक दम्भका कारण सोही स्वास्थ्य चौकीकै जग्गामा निर्माण सुरु गरेपछि कमलामाई मिडिया प्रा.लिको टिमले स्थलगत अवलोकन गर्दा निर्माणस्थलमा सूचना बोर्ड समेत नराखेको र निर्माणस्थलमा प्राविधिक कर्मचारी नरहेका साथै गुणस्तरहीन निर्माण सामाग्री प्रयोग गरिएको पाइएको हो ।

सम्बन्धित समाचार