हरिपूर्वा नगरपालिकामा मन्त्री यादव र नगर प्रमुख साहको जुधाई,प्रमुख प्रशासकीय अधिकृत २४ घण्टामै फिर्ता

एसपि गौरव    प्रकाशित: २०८०-६-१८ गते   ६४० पटक हेरिएको

खानेपानी मन्त्री यादव र हरिपुर्वाका नगर प्रमुख साह

 सर्लाहीको हरिपूर्वा नगरपालिकामा प्रमुख प्रशासकीय अधिकृतको रुपमा हाजिर भएको २४ घण्टामै शम्भुप्रसाद यादवको जिम्मेवारी खोसिएको छ ।असोज १४ गते रौतहटको देवाहीगोनाही नगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत रहेका यादवलाई सर्लाहीको हरिपूर्वा नगरपालिकामा थप जिम्मेवारी दिने गरी संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयले निर्यण गरेको थियो ।उनलाई अर्को व्यवस्था नभएसम्मका लागि हरिपूर्वामा थप जिम्मेवारी लिन भनिएको थियो ।तर, उनले हरिपूर्वामा हाजिर भएर नियमित काम सुरु गर्न न पाउँदै पुन जिम्मेवारी खोसिएको छ । असोज १७ गते बुधबार हरिपुर्वा नगरपालिकामा हाजिर भएका उनले असोज १८ गते बिहीबार कर्मचारीहरुसँग छलफल गरेका थिए ।
तर, बिहीबार नै मन्त्रालयले उनको थप जिम्मेवारी दिने निर्णय उल्ट्याएर देवाहीगोनाहीका लागि मात्रै प्रमुख प्रशासकीय अधिकृतका रुपमा काम गर्न भन्दै जिम्मेवारी खोसिदिएकोे छ । २०८० बैशाख १७ गते पनि हरिपूर्वामा हाजिर भएको एक घण्टामै उनको काजमा खटाउने निर्णय फिर्ता भएको थियो । मधेश प्रदेशको मुख्यमन्त्री कार्यालयमा शाखा अधिकृत रहेका उनले हरिपूर्वा नगरपालिकामा खटाए लगत्तै सो समयमा पनि हाजिर नहुन दबाब खेप्नु परेको थियो ।जोडबल गरेर नगरपालिकामा हाजिर भएका उनलाई एक घण्टामै सामान्य प्रशासन मन्त्रालयबाट साविककै जिम्मेवारीमा फर्किन पत्र आएको थियो ।
उपसचिवमा बढुवा भएपछि अहिले रौतहटमा देवाही गोनाहीमा प्रमुख प्रशासकीय अधिकृत रहेका उनी फेरि हरिपूर्वा जान चाहिरहेकै थिए । हरिपूर्वा नगरपालिकाका नगर प्रमुख विनोदकुमार साह तेलीले पनि उनलाई लैजान दुई सातासम्म सिंहदरबारमा जोडबल लगाएका थिए ।असोज ५ गते मन्त्रालयले शाखा अधिकृत दिलीप कुमार यादवलाई हरिपूर्वा नगरपालिकामा पठाएको थियो ।तर,सिरहाबाट पठाइएका दिलीपकुमार हरिपूर्वा नगरपालिका आउन तयार नभएको भन्दै निवेदन दिएपछि शम्भुकमारलाई थप जिम्मेवारी दिइएको थियो ।
भदौ २४ गते मन्त्रालयले आफू खटिन इच्छुक रहेको स्थानीय तह उल्लेख गरेर निवेदन माग्दा शम्भुप्रसादले हरिपूर्वा नगरपालिकामा सरुवा माग्दै आवेदन दिएका थिए ।रौतहटको देवाही गोनाहीमा प्रमुख प्रशासकीय अधिकृत रहेका उनले घरपायक हुने भन्दै हरिपूर्वा नगरपालिकामा सरुवा मागेका थिए ।नगर प्रमुख साहले हरिपूर्वा नगरपालिका नै गृहनगर भएका संघीय सरकारका खानेपानी मन्त्री महिन्द्र राय यादवका कारणले यस्तो अवस्था आएको आरोप लगाउँदै आएका छन् ।संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालय स्रोतले पनि खानेपानी मन्त्री यादवले नै शम्भुकुमारलाई फिर्ता गराउन दबाब दिएको स्वीकार गरेको छ ।
‘मन्त्रीज्यू कुनै पनि हालतमा आफू अनुकुलका मान्छेबाहेक अरुलाई त्यहाँ काम गर्न दिने पक्षमा हुनुहुन्न रहेछ,’एक अधिकारीले भने,‘उहाँ नगर प्रमुखलाई फेल गराउन चाहने र नगर प्रमुख साह पनि आफूले खोजेकै मान्छे लैजाने अडानमा रहँदा यस्तो अवस्था आएको हो ।’ मन्त्रालय स्रोतको भनाई छ ।यही कारण चैत यता हरिपूर्वा नगरपालिकामा ५ जना प्रमुख प्रशासकीय अधिकृत खटिइसकेको भएपनि कसैले पनि हाजिर भएर राम्रोसँग काम गर्न पाएका छैनन् ।
सवारी चालक र कार्यालय सहयोगी भर्नालाई लिएर नगरपालिकाकै जनप्रतिनिधिहरुले दुव्र्यवहार गरेपछि तत्कालीन प्रमुख प्रशासकीय अधिकृत बसन्त न्यौपाने २०७९ चैत १५ गते धनुषाको मिथिला नगरपालिका सरुवा भएका थिए ।उनको स्थानमा गएका ध्रुवराज आचार्य हरिपूर्वा नगरपालिकामा हाजिर हुनै पाएनन् ।नगरपालिका नटेक्दै धम्की खेपेका उनी २०७९ चैत २९ गते बाटैबाट सरुवा भए ।त्यसपछि निमेष मिश्र प्रमुख प्रशासकीय अधिकृत भएर गए । वैशाख २४ गते सरुवा भएका उनी ‘राजनीतिक विवादको भुमरीमा नफस्ने’ भन्दै लामो समय नगरपालिकामा हाजिर हुनै चाहेनन् । ४ महिनादेखिको झगडाका कारण नगरपालिकामा तालाबन्दी समेत भएकाले उनी हरिपूर्वा नगरपाकिला जान खोज्दा पनि हच्किएका थिए ।
तत्कालीन संघीय मामिला सचिव कृष्णहरि पुष्करसँग सहमति पछि मिश्र असार १० गते नगरपालिकामा हाजिर भए ।असार २० गते बसेको नगर कार्यापालिकाको बैठकले असार २९ गते नगरसभा बोलाउने निर्णय ग¥यो,तर नगरसभा बस्नुअघि नै प्रमुख प्रशासकीय अधिकृत मिश्रले हरिपूर्वा नगरपालिका छाडे ।नगर प्रमुख साहले बहुमतका बलमा नगरसभाबाट बजेट पास गर्न खोजेपछि सद्भाव नै खल्बलिने डर भएको भन्दै उनी सर्लाहीबाट हिँडेका थिए ।काठमाडौं आएका मिश्र हरिपुर्वा नगरपालिका नफर्किएपछि नगरसभा नै प्रभावित भयो ।साउन २३ गते नगरपालिकाले प्रमुख प्रशासकीय अधिकृत मिश्रलाई हाजिर गराइदिन संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयलाई पत्र लेख्यो । पत्रमा प्रमुख प्रशासकीय अधिकृत मिश्र फर्किन नमाने अर्को कुनै उपसचिव पठाउन आग्रह गरिएको थियो ।भदौ ४ गते प्रमुख प्रशासकीय अधिकृत मिश्र सिन्धुपाल्चोकको मेलम्ची नगरपालिकामा सरुवा भए,तर हरिपूर्वा नगरपालिकामा नयाँ प्रमुख प्रशासकीय अधिकृत तोकिएन ।त्यसपछि नगर प्रमुख साहले नगरवासी समेत रहेका उपसचिव शम्भुकुमारलाई हरिपूर्वा नगरपाकिला ल्याउन लबिङ थालेका थिए भने त्यसमा सहमत शम्भुकुमारले मन्त्रालयमा आवेदन समेत दिएका थिए । तर,मन्त्रालयले अधिकृतस्तरका कर्मचारीलाई सिरहाबाट प्रमुख प्रशासकीय अधिकृत बनाएर पठाएपछि फेरि नगर प्रमुख साह काठमाडौं आएर शम्भुमारलाई थप जिम्मेवारी दिने निर्णय गराएर फर्किएका थिए ।
तर,प्रधानमन्त्रीसँगै चीन भ्रमणबाट फर्किएलगत्तै खानेपानी मन्त्री यादवले हरिपूर्वा नगरपालिकामा शम्भुकुमारलाई खटाउने निर्णय फिर्ता लिन दबाब दिएको स्रोतको दाबी छ । मन्त्री यादव र उपसचिव शम्भुकुमारको गाउँ एउटै भएपनि उनीहरूबीच सुमधुर सम्बन्ध नरहेका कारण मन्त्री यादवले फिर्ता लिन दबाब दिएको स्थानीय स्रोतको दाबी छ ।नगरको प्रमुख प्रशासकीय अधिकृत को राख्ने/नराख्ने भन्नेबारे सिंहदरबारका मन्त्रीहरुले गरिरहेको हस्तक्षेपलाई संघीयता माथिकै प्रहार भएको नगर प्रमुख साहको भनाई छ ।‘यो हदसम्मको खेलाँची हुनु लज्जास्पद र खेदजनक छ,’उनले भने,स्थानीय तहको अधिकार माथिको यस्तो ठाडो हस्तक्षेप स्वीकार्य छैन ।’प्रमुख प्रशासकीय अधिकृत समेत नहुँदा हरिपूर्वा नगरपालिकाले चालु आर्थिक वर्ष २०८०/०८१ को नीति तथा कार्यक्रम र बजेट नगरसभामा पेश गर्न पाएको छैन । यसले नगरका योजनाहरू अलपत्र परेका छन् भने चालु योजनामा भुक्तानी दिन समस्या परेको छ । 
दशैंको मुखमा कर्मचारीहरुले तलब पाएका छैनन् भने संघिय सरकारबाट गएको सामाजिक सुरक्षाभत्ता समेत वितरण हुन सकेको छैन । हरिपुर्वा नगरपालिका निर्णयको बन्दी बनेको छ । गत चैतदेखि नै काम बन्द भएपछि संघिय सरकारबाट गएको रु १५ करोड अनुदान फ्रिज भएको नगर प्रमुख साहको भनाई छ । यो वर्ष पनि गत वर्षकै अवस्था दोहोरिन लागेको उनको गुनासो छ ।नेपाली कांग्रेसबाट निर्वाचित भएका नगर प्रमुख साह नगरकार्यपालिकामा अल्पमतमा समेत रहेका छन् ।

© Copyright 2019 Kamalamai Khabar. All rights reserved.
Design & Developed Journey For Tech