विभागबाट हटाईएको सात महिनामा सोही विभागको मन्त्रालयको मन्त्री बने घिसिङ

407 Shares

नेपाल सरकारको अन्तरिम सरकारका प्रधानमन्त्री सुशीला कार्कीले अन्तरिम सरकार गठन गर्दै नेपाल विद्युत प्राधिकरणका निवर्तमान कार्यकारी निर्देशक कुलमान घिसिङलाई ऊर्जा,जलस्रोत तथा सिँचाइ मन्त्रालय सहित तीन मन्त्रालयको जिम्मेवारी दिएकी छन्।
तत्कालीन प्रधानमन्त्री एवम नेकपा(एमाले)का अध्यक्ष केपी शर्मा ओली नेतृत्वको सरकारले गत चैत ११ गते तत्कालीन ऊर्जा मन्त्री दीपक खड्काको सिफारिसमा नेपाल विद्युत् प्राधिकरणको कार्यकारी निर्देशकबाट कार्यकाल बाँकी रहँदै गर्दा बर्खास्त भएका उनै घिसिङले सात महिना पछि अन्तरिम सरकारको ऊर्जा,जलस्रोत तथा सिँचाइ मन्त्रालय सहित तीन मन्त्रालयको जिम्मेवारी पाएका छन् ।
भदौ २३ गते सोमबार र र २४ गते मंगलबार “जेन जी”पुस्ताका युवाहरूले देशव्यापी आन्दोलन हिंसात्मक बन्दा तत्कालीन प्रधानमन्त्री ओली नेतृत्वको सरकारले घुँडा टेकेपछि राष्ट्रपति रामचन्द्र पौडेलले पूर्व प्रधानन्यायाधीश कार्कीलाई शुक्रबार अन्तरिम सरकारको प्रधानमन्त्रीमा नियुक्त गरेका थिए।प्रधानमन्त्री कार्कीले ऊर्जा,जलस्रोत तथा सिँचाइ मन्त्रालय सहित भौतिक पूर्वाधार तथा यातायात र सहरी विकास मन्त्रालयको जिम्मेवारी घिसिङलाई दिएकी छन् ।
मन्त्री नियुक्त भई सपथ ग्रहण पश्चात ऊर्जा,जलस्रोत तथा सिचाई मन्त्री घिसिङले डेडिकेटेड ट्रंकलाइनको बक्यौता रकम असुल्न विद्युत् प्राधिकरणलाई निर्देशन दिएका छन्।सोमबार मन्त्रालयमा पदभार ग्रहण गर्दै मन्त्री घिसिङले उद्योगहरूबाट विद्युत महशुल उठाउने पहिलो निर्णयमा हस्ताक्षर गरेका हुन।नेपाल आर्थिक र राजनीतिक रुपमा संकटमा रहेका बेला व्यवसायी,देशभित्र र बाहिर भएका नागरिकले सहयोग गर्नुपर्ने भन्दै उनले डेडिकेटेड र ट्रंकलाइनको बक्यौता उठाउन निर्देशन दिएको बताए ।
विशेष परिस्थितिमा अन्तरिम सरकार बनेको सन्दर्भ उल्लेख गर्दै देशलाई समृद्धि र राजनीतिक स्थायित्वको चुनौतीलाई सामना गर्दै जिम्मेवारी बहन गर्ने नवनियुक्त मन्त्री घिसिङले बताए।पुनः निर्माणसँगै तोकिएको समयमा निर्वाचन गराउनुपर्ने सरकारको दायित्व स्मरण गर्दै उनले आफू द्रुत गतिमा देशको सेवामा लाग्ने बताए।उनले सार्वजनिक संरचनामा भएको क्षतिको आंकलन गर्दै तत्कालै पुननिर्माणको काम अघि बढाइने समेत बताए ।
मन्त्री घिसिङले पुनःनिर्माणका लागि अर्थमन्त्रालयको सहमतिमा विशेष कोष स्थापना गरी सबै तर्फबाट सहयोग लिने समेत उल्लेख गरे।मन्त्री पदमा रहँदा आफूले पाउने सबै पारिश्रमिक कोषमा दाखिला गर्ने उनको भनाइ छ ।भ्रष्टाचार नियन्त्रण र सुशासनलाई कडाईका साथ कार्यान्वयन गरिने घिसिङले बताए।उनले “जेन जी”प्रदर्शनका मागलाई सार्थक बनाउन आफू प्रयत्नशील हुने पनि उल्लेख गरेका छन्।
ओली सरकारले कसरी हटाएको थियो घिसिङलाई 
ओली सरकारले गत चैत ११ गते घिसिङलाई कार्यकाल बाँकी रहँदै नेपाल विद्युत् प्राधिकरणको कार्यकारी निर्देशक पदबाट हटाएर हितेन्द्रदेव शाक्यलाई नियुक्त गरेको थियो।तर,शाक्यलाई पनि लामो समय टिक्न पाएनन्।करिब एक वर्षमै पद छाड्नु परेको थियो। यसअघि पनि २०७७ भदौमा चार वर्षे कार्यकाल पूरा गरेर बिदा भएका घिसिङलाई २०७८ साउन २७ गते पुनःप्राधिकरणको कार्यकारी निर्देशकमा नियुक्त गरिएको थियो।तत्कालीन प्रधानमन्त्री ओलीको सरकार ढलेपछि बनेको नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवा नेतृत्वको सरकारले घिसिङलाई फेरि जिम्मेवारी दिएको थियो ।
दोस्रो कार्यकालमा घिसिङको अवधि पाँच महिना मात्रै बाँकी रहँदा सरकारले उनलाई फेरि हटायो।यसरी बारम्बार नियुक्ति र हटाइँदा संयोगहरूको शृङखला बनेको थियो ।अहिले तेस्रो संयोगस्वरूप,प्राधिकरणको कार्यकारी निर्देशक शाक्यलाई घिसिङकै निर्देशनमा काम गर्नुपर्ने अवस्था सृजना भएको छ।
घिसिङ काँग्रेस नेतृत्वको सरकारले नियुक्त गरेका थिए,तर काँग्रेसकै ऊर्जामन्त्री खड्काको सिफारिसमा उनले पद गुमाएका थिए।२०७८ साउन २७ गते दोस्रो कार्यकाल पाएका घिसिङ करिब तीन वर्ष काम गर्न सफल भए।विशेषतः२०७९ को निर्वाचनपछि बनेको नेकपा(माओवादी केन्द्र)का अध्यक्ष पुष्प कमल दाहाल(प्रचण्ड)नेतृत्वको सरकारमा उनी निर्धक्कसँग काम गरिरहेका थिए।तर २०८१ असार ३१ गते ओली नेतृत्वमा एमाले–काँग्रेस मिलेर नयाँ सरकार बनेपछि परिस्थिति फेरियो।घिसिङ र सरकारबिच टसल सुरु भयो।ओली सरकार बने लगत्तै घिसिङले ट्रंकलाइन र डेडिकेटेड लाइनको बक्यौता नतिरेका उद्योगहरूको लाइन काटे। सरकारले तत्काल पुनःजडान गर्न आदेश दिए पनि घिसिङले मन्त्रिपरिषद्को निर्णय बिना मान्न अस्वीकार गरे।
यही कदमपछि सरकार–घिसिङबिचको द्वन्द्व चुलियो।सरकारले कानुनी जटिलता भएकाले तुरुन्त हटाउन नसके पनि ऊर्जा मन्त्रालयमार्फत घिसिङलाई स्पष्टीकरण सोध्न थाल्यो।ऊर्जामन्त्री खड्काले सार्वजनिक रूपमा आलोचना गर्ने,कार्यसम्पादन मूल्यांकनमा शून्य अंक दिनेसम्मका काम गरेर घिसिङलाई दबाबमा राखे।अन्ततःसरकारले उनलाई हटाउने निर्णयलाई प्राथमिक एजेन्डा बनाएर अघि बढाएको थियो।
ऊर्जामन्त्री घिसिङ को हुन् ?
रामेछापको बेथानमा जन्मएका घिसिङले रामेछापकै दुर्गममा अवस्थित सरकारी स्कुलमा विद्यालय शिक्षा सुरु गरेका थिए।विद्यालयमा सधैँ प्रथम हुन्थे घिसिङले भारतको एनआईटी जमसेदपुरबाट विद्युत् इन्जिनियरिङमा स्नातक,पुल्चोक क्याम्पसबाट पावर सिस्टममा स्नातकोत्तर र पोखरा विश्वविद्यालयबाट एमबिए गरेका छन् ।
तत्कालीन उर्जामन्त्री एवम माओवादी केन्द्रका नेता जनार्दन शर्माले २०७३ भदौ ३१ मा नेपाल विद्युत् प्राधिकरणको कार्यकारी निर्देशकको जिम्मेवारी घिसिङलाई दिएका थिए।त्यस लगत्तकै घिसिङले २०७३ को तिहारमा काठमाडौँमा विद्युत् कटौती नगरी लोडसेडिङ अन्त्य गरेका थिए।प्राधिकरणको प्रबन्ध निर्देशक हुनुअघि उनले चिलिमे जलविद्युत आयोजनाको नेतृत्वसमेत गरेका थिए ।
उनी प्राधिकरणको प्रबन्ध निर्देशकको रूपमा पहिलो कार्यकालमा घिसिङले लोडसेडिङ हटाउनुका अतिरिक्त लामो समयदेखि घाटामा रहेको संस्थानलाई नाफामा ल्याउन सफल भएका थिए।अब उनै घिसिङ ऊर्जा,जलस्रोत तथा सिँचाइ मन्त्रालय सहित तीन मन्त्रालयको मन्त्री बनेका छन् ।

सम्बन्धित समाचार