तराई मधेशका विभिन्न जिल्लामा नव दुर्गा पूजाको मूर्ति निर्माणमा कालिगढहरु व्यस्त रहेका छन्।विश्वकर्मा पूजा सकिएसंगै गतवर्षको भन्दा चाँडै दशैँ परेकाले नव दुर्गा पूजाको मूर्ति निर्माणमा कालिगढहरु व्यस्त रहेका हुन ।यस वर्ष विश्वकर्मा पूजा र वडा दशैंको समय छोटो भएकाले दशैंका लागि नव दुर्गाको मूर्ति निर्माण धमाधम भई रहेको स्थानीय कालिगढहरु बताउँछन्।सर्लाहीको मलंगवा,चक्रघट्टा, गोडैता,हरिपुर,लालबन्दी,हरिवन र बरहथवा लगायतका ठाउँहरुमा मूर्ति निर्माणको काम धमाधम भइरहेको छ।मूर्ति निर्माणका लागि दक्ष जनशक्ति र आवश्यक सामग्री भारतबाट समेत आयात गर्नुपर्ने वाध्यात्मक अवस्था सृजना भएको स्थानीय कालीगढहरु बताउँछन् ।
उनीहरुका अनुसार मूर्ति निर्माण धार्मिक क्रियाकलापम मात्रै नभई पौराणिक कथा र परम्परागत संस्कृतिसँग नयाँ पिँढीलाई जोड्ने माध्यम पनि हो।प्रत्येक मूर्तिमा दुर्गा महिमा र पर्वसँग सम्बन्धित कथा चित्रण गरिएको हुन्छ।सर्लाहीमा ५० भन्दा बढी स्थानमा दशैंको अवसरमा मेला लाग्ने गर्दछ।पहिले मनोरञ्जनका साधन सीमित भए पनि अहिले विभिन्न प्रकारका आधुनिक मनोरञ्जन सामाग्रीको व्यवस्था भएपछि मेलाको आकर्षण अझै बढेको स्थानीय जानकारहरु बताउँछन् ।मूर्तिकारहरूले स्थानीय बजारको चहलपहल र मेला व्यवस्थापनलाई ध्यानमा राख्दै मूर्ति निर्माणको काम गरेका हुन्छन्।