जिप्रका चितवनका प्रहरी निरीक्षक सापकोटा“भदौ महिनाको उत्कृष्ट प्रहरी”घोषित

254 Shares

 जिल्ला प्रहरी कार्यालय चितवनका प्रहरी निरीक्षक ठाकुर प्रसाद सापकोटा भदौ महिनाको “उत्कृष्ट प्रहरी”घोषित भएका छन् ।प्रहरी निरीक्षक सापकोटाले अपराध अनुसन्धान शाखाको प्रमुखका रूपमा कार्यरत रहँदा विभिन्न घटनाको सफल अनुसन्धान तथा महत्वपूर्ण आपराधिक घटनामा संलग्न व्यक्तिहरूलाई कानुनी दायरामा ल्याउन उल्लेखनीय भूमिका निर्वाह गरेका कारण उनलाई भदौ महिनाको “उत्कृष्ट प्रहरी”घोषित गरिएको जिल्ला प्रहरी कार्यालय चितवनले जनाएको छ ।
कार्यालयका अनुसार प्रहरी निरीक्षक सापकोटाको नेतृत्वमा २०७९ मंसिर १८ गते भरतपुर महानगरपालिका–१७, गाँजीपुरस्थित नारायणी नदी किनारमा भेटिएको मानव कंकालसम्बन्धी घटनाको अनुसन्धान अघि बढाइएको थियो।डिएनए परीक्षणमार्फत मृतकको पहिचान गरी घटनामा संलग्न प्रतिवादीहरूलाई २०८३ साउन २० गते त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट पक्राउ गरी कानुनी दायरामा ल्याउन उनी सफल भएका थिए।
त्यस्तै,२०८३ भदौ १० गते भोटेकोशी नदीमा आएको बाढीपछि नारायणी तथा त्रिशूली नदीमा बाढीले बगाएर ल्याएका शवहरूको खोजी,उद्धार तथा व्यवस्थापनमा समेत प्रहरी निरीक्षक सापकोटा सक्रिय रूपमा खटिएका थिए।उनले शवको पहिचान,आफन्तलाई हस्तान्तरण, आवश्यक कानुनी प्रक्रिया तथा डिएनए नमुना संकलन लगायतका काममा सम्बन्धित निकायसँग समन्वय गरी भूमिका निर्वाह गरेका थिए।बाढीमा मृत्यु भएका व्यक्तिका शवबाट सुन तथा चाँदीका बहुमूल्य गहना चोरी गरी अमानवीय व्यवहार गर्ने कार्यमा संलग्न व्यक्तिहरूलाई पक्राउ गरी कानुनी दायरामा ल्याउन समेत उनले महत्वपूर्ण भूमिका निर्वाह गरेका कार्यालयले जनाएको छ।
नेपाल प्रहरी संगठनको नीति,निर्देशन र जिम्मेवारीलाई वफादारी,लगनशीलता तथा अनुशासन पूर्वक निर्वाह गर्दै प्रशंसनीय एवम् उत्कृष्ट कार्यसम्पादन गरेको मूल्यांकनका आधारमा“उत्कृष्ट प्रहरी छनौट कार्यविधि,२०७९”बमोजिम भदौ महिनाको उत्कृष्ट प्रहरी घोषणा गरिएका प्रहरी निरीक्षक सापकोटालाई जिल्ला प्रहरी कार्यालय चितवनका प्रहरी प्रमुख एवम प्रहरी उपरीक्षक रामेश्वर पौडेलले सम्मान प्रदान गरेका हुन्।उनीले केही समय पहिला सर्लाहीको ईलाका प्रहरी कार्यालय हरिपुरको प्रमुखको कार्यभारपनि सफलतापुर्वक पुरा गरेका थिए । 

सम्बन्धित समाचार