सर्लाहीको चन्द्रनगर गाउँपालिकाले मालसामान मर्मत सम्भारमा लाखौं रकम अनियमितता गरेको रहस्य बाहिरिएको छ।चन्द्रनगर गाउँपालिकाले आर्थिक वर्ष २०८०÷०८१ मा आर्थिक कार्यविधि तथा वित्तीय उत्तरदायित्व ऐनको ठाडो उल्लंघन गर्दै मालसामान मर्मत सम्भारमा रु एक लाख छ हजार छ सय ६० अनियमित खर्च गरेको महालेखा परीक्षकको ६२ औं वार्षिक प्रतिवेदनमा उल्लेख छ ।
महालेखाका अनुसार स्थानीय तहहरुमा व्याप्त वित्तीय लापरवाही र सम्भावित भ्रष्टाचारमा मालसामान मर्मत सम्भारमा हुने अनियमितता करदाताको पैसाको दुरुपयोग मात्र नभई विकास कार्यमा समेत ठूलो असर पार्ने काम हो । प्रतिवेदन अनुसार,चन्द्रनगर गाउँपालिकाले ऐनको नियम ९६ को उपनियम २ र ३ को स्पष्ट व्यवस्था बेवास्ता गर्दै सवारी साधन तथा अन्य मेशिनरी सामानको मर्मतमा एक लाख छ हजार छ सय ६० अनियमित खर्च गरेको र यो कार्य पालिकाको प्रशासनिक कमजोरी हो ।
आर्थिक कार्यविधि तथा वित्तीय उत्तरदायित्व ऐन २०७६ को नियम ९६ मा मालसामान मर्मत सम्भार गर्ने कार्यविधि स्पष्ट रूपमा उल्लेख छ।उपनियम २ अनुसार मर्मत कार्य गर्नुअघि लागत अनुमान स्वीकृत भएपछि मात्र काम सुरु गर्नुपर्ने व्यवस्था छ ।त्यसैगरी,उपनियम ३ ले कुनै मालसामान वा पार्ट पुर्जा फेरबदल गर्नुपर्ने भएमा जिन्सी दाखिला गराई प्रति एकाइ मूल्य रु पाँच हजार भन्दा बढी पर्ने उपकरण वा पार्ट पुर्जाको अभिलेख राख्नुपर्ने तथा सो कुरा प्राविधिकबाट प्रमाणित गराई जिन्सी दाखिला गर्नुपर्ने अनिवार्य गरेको छ ।तर,चन्द्रनगर गाउँपालिकाले यी सबै प्रक्रियालाई पूर्ण रूपमा बेवास्ता गरेको प्रतिवेदनमा उल्लेख छ ।
प्रतिवेदनका अनुसार पालिकाले विभिन्न भौचर र मितिहरूबाट सवारी साधन तथा अन्य मेशिनरी सामानको मर्मत गराएर रकम भुक्तानी गरेको छ।तर आवश्यक लागत अनुमान स्वीकृति,प्राविधिक प्रमाणीकरण र अभिलेख राख्ने काम गरिएको छैन।यसले ऐन तथा नियमावलीको स्पष्ट उल्लंघन भएको प्रष्ट हुन्छ ।यसका साथि मर्मत गरिएका साधनको नम्बर समेत उल्लेख गरिएको छैन।प्रतिवेदनले भनेको छ ।
उक्त रकम सानो लागे पनि यसले पालिकाको समग्र वित्तीय अनुशासनमा ठूलो प्रश्न चिन्ह खडा गरेको छ।स्थानीय र विज्ञहरूले यो घटनालाई गम्भीर रूपमा लिएका छन्।महालेखा परीक्षकको प्रतिवेदनले यो अनियमितताबाट प्रभावित क्षेत्रहरूको पनि उल्लेख गरेको छ। सवारी साधन र मेशिनरीको मर्मतमा भएको यो लापरवाहीले पालिकाको दैनिक कार्य सञ्चालनमा असर पारेको छ ।