सिन्धुलीको घ्याङलेख गाउँपालिका का अध्यक्ष जगत बहादुर भोलनले प्रयोग गर्दै आएको सरकारी सवारी साधन पालिकामा फिर्ता गरेका छन्।बा २ झ ३६८० नम्बरको सरकारी डबल क्याप स्कारपियो गाडी गाउँपालिका अधयक्ष भोलनले गाउँपालिकालाई बुझाएका हुन ।हाल मुलुकको विद्यमान राजनीतिक परिस्थितिलाई मध्यनजर गर्दै कार्यालयको कामकाज तथा आपतकालीन प्रसूति सेवाको लागी मात्र प्रयोग गर्ने गरि आफुले प्रयोग गर्दै आएको सरकारी सवारी साधन गाउँपालिकालाई फिर्ता गरेको अध्यक्ष भोलनले बताए ।
भदौ २३ र २४ गतेको देशव्यापी भएको जेन जी आन्दोलनको क्रममा गाउँपालिका उपाअध्यक्ष शंकरमान घलानले प्रयोग गरेको सरकारी सवारी साधनमा आगजनी भएपछि आफुले नैतिकताले पनि सरकारी सवारी साधन चढ्न नमिल्ने भएकाले पनि सरकारी सवारी साधन फिर्ता गरेको गाउँपालिका अध्यक्ष भोलनले बताए ।उनी देश संघीय संरचनामा जानु पहिला पनि जनप्रतिनिधि भएका २०७४ तथा २०७९ मा पनि गाउँपालिका अध्यक्षमा निर्वाचित भएका हुन ।उनले अब आफु नीजि सवारी साधनमा हिड्ने र इन्धन मात्रै गाउँपालिकाबाट लिने समेत बताए । पाँच वटा वडा कार्यालय रहेको घ्याङलेख गाउँपालिकाका वडा नम्बर ३ का वडा अध्यक्षले सरकारी सवारी साधन नलिएका र घ्याङलेख गाउँपालिकाका २ का वडा अध्यक्षले पनि सरकारी मोटरसाईकल फिर्ता गरि सकेका छन् भने घ्याङलेख गाउँपालिकाका १,४ र ५ का वडा अध्यक्षहरुले सरकारी मोटरसाईकल प्रयोग गरी रहेका छन् ।