राम्रो खेल मैदान बनाएर खेलकुद क्षेत्रलाई व्यवस्थापन गरे स्थानीयस्तर मै राष्ट्रियस्तरका खेलाडी उत्पादन गर्न सकिने बागमती प्रदेश सभा सदस्य एवम निवर्तमान आन्तरिक मामिला तथा कानुन मन्त्री गंगा नारायण श्रेष्ठले बताए ।सिन्धुलीको घ्याङलेख गाउँपालिकामा आयोजना गरिएको चौथो राष्ट्रपति रनिङ शिल्ड प्रतियोगिता उद्धघाटन गर्न घ्याङलेख पुगेका प्रदेश सभा सदस्य श्रेष्ठले घ्याङलेखमा राम्रो खेल मैदान बनाउन बजेट व्यवस्थापनका लागि पहल गर्ने समेत बताएका छन् ।
उनले सोलाभञ्ज्याङ देखि घ्याङलेखको रामपुर सम्म जोड्ने सडक निर्माणका लागि रु दुई करोड रकम समेत व्यवस्थापन गरि सकेको बताउँदै घ्याङलेखलाई कृषिको पटके क्षेत्र बनाउने र कृषि एम्बुलेन्स खरिदको काम अघि बढी सकेको समेत बताए ।
“राष्ट्रको लागि खेलकुद, स्वास्थ्यको लागि खेलकुद”भन्ने नारा सहित घ्याङलेख गाउँपालिकामा बिहीबारबाट सुरु भएको चौथो राष्ट्रपति रनिङ शिल्ड प्रतियोगितामा गाउँपालिका भित्रका छ वटा माध्यामिक विद्यालयहरुको सहभागीता रहने आयोजक घ्याङलेख गाउँपालिकाको खेलकुद विकास समितिका अध्यक्ष अविनास वाइबाले जानकारी दिए।उनका अनुसार घ्याङलेख गाउँपालिका ४ गोपेको जन जागृति मा.वि.को खेलमैदानमा तीन दिन अर्थात कात्तिक २९ गतेसम्म प्रतियोगिता सञ्चालन हुने छ ।
प्रतियोगितामा छात्र छात्रा भलिबल,छात्र कबड्डी,एथ्लेटिक्स तर्फ सय र दुई सय मिटर दौड, छात्र छात्रा हाइजम्प ,लङजम्प ,त्रिपलजम्प,ज्याभलिङ थ्रो र सटपुट जस्ता खेलहरू समावेश गरिएको आयोजकले जनाएको छ ।प्रतियोगितामा प्रथम,द्वितीय र तृतीय हुने विद्यालयलाई क्रमशः नगद रु ३० हजार, २० हजार र रु १० हजारसहित शिल्ड,मेडल र प्रमाण पत्र वितरण गरिने आयोजकले जनाएको छ ।