सर्लाहीको लालबन्दी नगरपालिका ११ हुँदै लालबन्दी नगरपालिका १६ जोड्ने सडकको शिलान्यास गरिएको छ।मधेश प्रदेश सरकारको “एक निर्वाचन क्षेत्र, एक सडक”अन्तर्गत सर्लाहीको लालबन्दी नगरपालिका ११ बाहुनी हुँदै लालबन्दी नगरपालिका १६ परवानिपुर चोक सम्मको कालोपत्रे सडक निर्माण कार्यको शिलान्यास गरिएको लालबन्दी नगरपालिका १६ का वडा अध्यक्ष गणेश बहादुर थापाले जानकारी दिए ।
उनका अनुसार सर्लाही क्षेत्र नं. १ (ख) की प्रदेश सभा सदस्य एवम निवर्तमान मन्त्री बेची लुङ्गेली,लालबन्दी नगरपालिकाका नगर प्रमुख वासुदेव अधिकारी सहित विभिन्न वडाका वडाध्यक्षहरु सहित स्थानीय राजनीतिक दलका प्रतिनिधिहरुको उपस्थितिमा सडकको शिलान्यास गरिएको हो ।
बहुवर्षीय ठेक्का अन्तर्गत लालबन्दी नगरपालिका ११ बाहुनीदेखि लालबन्दी नगरपालिका १६ सम्मको करिब छ किलो मिटर सडक कालोपत्रे गर्ने १३ करोड १२ लाख ३७ हजार पाँच सय तीन रुपियाँ २३ पैसामा बागमती नगरपालिका १२ को एस.आर. कन्ष्ट्रक्सनले ठेक्का सकार गरेको छ ।
१८ महिनामा सडक कालो पत्रेको काम सम्पन्न गर्ने गरी गत असार ४ गते नै ठेक्का सकार गरेको बागमती नगरपालिका १२ को एस.आर. कन्ष्ट्रक्सनका प्रतिनिधि रामकृष्ण केसीले बताए ।उनका अनुसार यो वर्ष बाहुनीदेखि परवानीपुर चोकसम्मको सडक कालोपत्रे गर्ने गरी ठेक्का सकार गरिएको हो ।