मधेस प्रदेशमा दुर्घटनामा ज्यान जानेको संख्या बर्सेनि बढि रहेको भएपनि सरोकारवाला निकाय र सवारी चालकहरु मौन देखिएका छन् ।नेपाल प्रहरी राजमार्ग सुरक्षा तथा ट्राफिक प्रहरी व्यवस्थापन कार्यालय पथलैया,बाराको तथ्यांक अनुसार मधेस प्रदेशका जिल्लामा दुर्घटनाको दर बर्सेनि बढ्दै गएको छ ।
मधेस प्रदेशमा चालु आर्थिक वर्षको सात महिनामा सवारी दुर्घटनाबाट ज्यान गुमाउनेको संख्या दुई सय ९० पुगेको छ ।यस्तै पाँच हजार सात सय २६ जना घाइते भएका छन् । जसमा सर्लाहीमा ३७ जना,रौतहटमा ३० जना,बारामा ५६ जना,पर्सामा ३० जना,महोतरीमा ३८ जना,धनुषामा ४४,सिरहामा ३३ जना र सप्तरीमा २२ जनाले सवारी दुर्घटनामै ज्यान गुमाएका नेपाल प्रहरी राजमार्ग सुरक्षा तथा ट्राफिक प्रहरी व्यवस्थापन कार्यालय पथलैया,बाराको तथ्यांकमा उल्लेख छ ।
सडक सुरक्षा तथा दुर्घटना न्यूनीकरणका लागि विद्यालय र समुदायस्तरमा सामुदायिक प्रहरी साझेदारी कार्यक्रम र नागरिकका लागि जनचेतनामुलक कार्यक्रम गरिरहेको नेपाल प्रहरी राजमार्ग सुरक्षा तथा ट्राफिक प्रहरी व्यवस्थापन कार्यालय पथलैया,बाराका प्रहरी नायव उपरीक्षक माधव प्रसाद काफ्लेले बताए पनि त्यो प्रभावकारी नभएको पाइएको हो ।दुर्घटना न्यूनीकरणका लागि मधेस प्रदेश सरकारले दुई वर्षअघि बाराको पर्सा राष्ट्रिय निकुञ्ज आधाभार क्षेत्र,काठमाडौँ–तराई÷मधेस द्रुतमार्ग छेउ,सप्तरी,सिराहा र महोत्तरीमा गरी पाँच ठाउँमा रु एक करोड ३० लाख खर्चेर“राडार गन”सहितको सिसि क्यामेरा जडान गरेको थियो ।
रु २६ लाखका दरले रु एक करोड ३० लाख खर्चेर प्रदेश सरकारले पाँच ठाउँमा “राडार गन”सहितको सिसि क्यामेरा जडान गरेको भएपनि दुई वर्षमै काम नलाग्ने अवस्थामा पुगेको छ ।तीन वटा राडार गन बिग्रिएर कामै नलग्ने भएका छन् भने दुई वटा मर्मत सम्भार गर्नुपर्ने अवस्थामा रहेका नेपाल प्रहरी रार्जमार्ग सुरक्षा तथा ट्राफिक प्रहरी व्यवस्थापन कार्यालय पथलैया,बाराले जनाएको छ ।सवारी दुर्घटना न्यूनीकरण अन्तर्गत गति नियन्त्रण गर्न “राडार गन”सहितको सिसि क्यामेरा महत्वपुर्ण उपकरण भएपनि विग्रेर काम नलाग्ने हुँदा समेत सरोकारवाला निकाय कानमा तेल हालेर बसेको छ ।