सैतपुरमा रक्तदान, लालबन्दीमा सरसफाई

4.6k Shares

सर्लाहीको बरहथवा नगरपालिका–१५, सैतपुरमा शनिवार ५० जनाले रक्तदान गरेका छन् । स्थानीय युवाहरुको सक्रियतामा जलदेवी आमा समूह र जलदेवी सेवा समाजले आयोजना गरेको रक्तदान कार्यक्रमामा ५० जनाले रक्तदान गरेका आयोजकले बताएको छ।
 रक्तदान कार्यक्रमको सर्लाही क्षेत्र नं.४ का प्रदेश सभा सदस्य बिरेन्द्र प्रसाद सिंहले दिप प्रज्वलन गरेर उद्घाटन गर्नु भएको आयोजक संस्थाका व्यावस्थापक सागर मानन्धरले जानकारी दिनु भयो ।
आफूहरुले जिल्लाको ग्रामीण क्षेत्रमा पर्ने सैतपुरमा पहिलो पटक पुगेर रक्तदान शिविर आयोजना गर्न सहयोग गरेको नेपाल रेडक्रस सोसाइटी सर्लाहीका ब्लड बैँकका अध्यक्ष जितेन्द्र थापाले बताउनु भयो । सङ्कलित रगत रक्तसञ्चार केन्द्र (ब्लड बैंक) मलंगवा पठाइएको जलदेवी आमा समूहकी अध्यक्ष तृषना श्रेष्ठले बताउनु भयो ।
जिल्लाको मुख्य बजार क्षेत्रमा पटक–पटक रक्तदान शिविर हुने गरेको भए पनि शनिवार पहिलो पटक सैतपुर जस्तो ग्रामीण क्षेत्रमा रक्तदान शिविर आयोजना गरिएको हो । स्थानियबासी,जनप्रतिनिधिहरु र सामाजिकसंघसंस्था तथा सामाजिक व्यक्तिहरुको सहयोगमा रक्तदान कार्यक्रम गरिएको कार्यक्रमका व्यावस्थापक मानन्धरले बताउनु भयो ।
त्यसैगरी जिल्लाकै लालबन्दी नगरपालिका ७ मा रहेको दुर्गा मन्दिर परिसरमा सरसफाई गरिएको छ ।  गाउँ सुधार संस्थाले शनिवार  दुर्गा मन्दिर परिसरमा सरसफाई गरेको हो । प्रदेश सभा सदस्य बेची लुंगेली, उद्योग वाणिज्य संघ लालबन्दीका अध्यक्ष कल्याण कुमार जोशी लगायतको उपस्थितिमा लालबन्दी ७ को बजारमा रहेको दुर्गा मन्दिर परिसर सँगै आसपासको क्षेत्रको सरसफाई गरिएको संस्थाकी अध्यक्ष लक्ष्मी गोले (प्रधान)ले जानकारी दिनु भयो । गाउँ सुधार संस्थाले निरन्तर सामाजिक कार्य गर्दै आएको छ ।

सम्बन्धित समाचार