सर्लाहीका सबै पालिकाबाट राष्ट्रिय परिचयपत्र विवरण संकलन हुने

399 Shares

सर्लाहीका सबै पालिकाहरुले राष्ट्रिय परिचयपत्र विवरण संकलन गर्ने भएका छन्।जिल्ला प्रशासन कार्यालय मलंगवा र इलाका प्रशासन कार्यालय हरिवन र ईलाका प्रशासन कार्यालय  बरहथवाले यस अघि राष्ट्रिय परिचयपत्र विवरण संकलन गर्ने काम गर्दै आएकामा अब जिल्लाका २० वटै पालिकाबाट राष्ट्रिय परिचयपत्र विवरण संकलन हुने प्रमुख जिल्ला अधिकारी गोपाल कुमार अधिकारीले बताए ।
उनका अनुसार मलंगवा नगरपालिकामा जिल्ला प्रशासन कार्यालयले,हरिवन नगरपालिकामा इलाका प्रशासन कार्यालय हरिवनले र बरहथवा नगरपालिकामा इलाका प्रशासन कार्यालय बरहथवाले राष्ट्रिय परिचयपत्र विवरण संकलन गर्ने साथै अन्य १७ वटा पालिकामा राष्ट्रिय परिचय पत्रको विवरण संकलनका लागि टोली खटाइने छ ।
जिल्लामा राष्ट्रिय परिचय पत्र लिने लाभग्राहीहरुको चाप रहेका कारण स्थानीय तहहरुबाट नै राष्ट्रिय परिचयपत्र विवरण संकलन गर्ने व्यावस्था गरिएको सहायक प्रमुख जिल्ला अधिकारी होम प्रसाद घिमिरेले जानकारी दिए ।उनका अनुसार बलरा,गोडैता र ईश्वरपुर नगरपालिकामा असार ३ गते(भोली)देखि ६ गतेसम्म र रामनगर गाउँपालिकामा असार ३ गतेदेखि ५ गतेसम्म राष्ट्रिय परिचयपत्र विवरण संकलन गर्ने टोली खटिने छ ।
धनकौल,विष्णु,चन्द्रनगर र बसबरिया गाउँपालिकामा उक्त टोली असार ७ गतेदेखि ९ गतेसम्म बस्ने साथै कौडेना र चक्रघट्टा गाउँपालिकामा असार १० गतेदेखि १२ गतेसम्म तथा हरिपुर र हरिपूर्वा नगरपालिकामा असार १० गतेदेखि १३ गतेसम्म राष्ट्रिय परिचय पत्रको विवरण संकलनका लागि कर्मचारीहरुको टोली परिचालन गर्ने जिल्ला प्रशासन कार्यालयले जनाएको छ ।
यि १२ वटा पालिकामा विवरण संकलन भए पश्चात प्रशासन कार्यालय नरहेको बाँकी पाँच पालिकामा यसैगरी मिति तोकेर कर्मचारी खटाइने जिल्ला प्रशासन कार्यालय सर्लाहीले जनाएको छ।कार्यालयका अनुसार पालिकाको कार्यालयमै गएर राष्ट्रिय परिचय पत्रको विवरण संकलन गर्ने गरी आवश्यक कर्मचारी र उपकरणको प्रवन्ध मिलाइ सकिएको छ ।
आगामी साउनदेखि सामाजिक सुरक्षा भत्ता प्राप्त गर्ने लाभग्राहीले राष्ट्रिय परिचय पत्र विवरण दार्ता गराउन अनिवार्य गरिएपछि केही दिनदेखि जिल्ला प्रशासन कार्यालय सर्लाही,ईलाका प्रशासन कार्यालय हरिवन र ईलाका प्रशासन कार्यालय बरहथवामा विवरण दर्ता गर्ने सेवाग्राहीहरुको अत्यधिक चाप बढेको छ ।
कार्यालयमा एकैपटक धेरै सेवाग्राही पुग्दा काम गर्न समस्या हुनुका साथै सेवाग्राहीहरुले पनि सास्ती खेप्नु परेपछि स्थानीय स्तरबाटै राष्ट्रिय परिचय पत्र विवरण संकलनको काम गर्नलागिएको हो।आफ्नो पालिकामा आउने टोलीलाई पर्खिएर राष्ट्रिय परिचय पत्रका लागि विवरण दर्ता गराउन जिल्ला प्रशासन कार्यालय सर्लाहीले आग्रह गरेको छ।

सम्बन्धित समाचार