सिन्धुलीको इलाका प्रहरी कार्यालय खुर्कोटको हिरासत कक्षभित्र मृत्यु भएका युवाका पीडित परिवार सहित स्थानीयले घटनाले निश्पक्ष छानविन गर्न भन्दै जिल्ला प्रशासन कार्यालय सिन्धुली घेराउ गर्दै धर्ना दिएका छन् ।सुनकोशी गाउँपालिका–३ निवासी अन्दाजी २२ वर्षिय श्रीकृष्ण बि.क.को हिरासत कक्षमै मृत्यु भएको भन्दै पीडित परिवार र स्थानीयहरूले निष्पक्ष छानबिनको माग गर्दै जिल्ला प्रशासन कार्यालय सिन्धुली घेराउ गर्दै धर्ना दिएका हुन् । पीडित परिवार र स्थानीयले घटनाको सत्यतथ्य सार्वजनिक गर्न दबाब दिन जिल्ला प्रशासन कार्यालय सिन्धुलीको घेराउ गर्दै धर्ना दिएका हुन् ।
पीडित पक्षले हिरासतजस्तो सुरक्षायुक्त स्थान भित्रै नागरिकको मृत्यु हुनु अत्यन्त गम्भीर विषय भएको उल्लेख गर्दै घटनाको पारदर्शी र विश्वसनीय छानबिन आवश्यक रहेको बताएका छन् ।उनीहरूले घटनासम्बन्धी सम्पूर्ण विवरण सार्वजनिक गर्न,विशेषगरी सिसिटिभी फुटेज तत्काल सार्वजनिक गर्नुपर्ने माग गरेका छन्।साथै,घटनामा संलग्न जो कोही दोषी ठहरिए कडाभन्दा कडा कानुनी कारबाही हुनुपर्ने र पीडित परिवारलाई न्याय सुनिश्चित गर्नुपर्ने उनीहरूको माग रहेको छ ।
घेराउ तथा धर्नामा पीडित परिवार र स्थानीयले प्रहरी प्रशासनको भूमिकामाथि प्रश्न उठाउँदै घटनाको वास्तविकता लुकाउन खोजिएको आशंका व्यक्त गरेका छन्।उनीहरूले“राज्यको संरक्षणमा रहेको स्थानमै नागरिकको ज्यान जानु केवल व्यक्तिगत क्षति मात्र नभई समग्र सुरक्षा प्रणाली माथिको गम्भीर चुनौती रहेको धारणा राखेका छन्।यस सन्दर्भमा मानवअधिकारको संरक्षण र कानुनी शासनको प्रत्याभूति सुनिश्चित गर्न निष्पक्ष अनुसन्धान अपरिहार्य भएको उनीहरूको जोड छ ।
यता,जिल्ला प्रशासन कार्यालय सिन्धुलीले घटनालाई गम्भीरतापूर्वक लिँदै आवश्यक अनुसन्धान प्रक्रिया अघि बढाइएको जनाएको छ।कार्यालयले घटनाबारे सत्यतथ्य पत्ता लगाउन सम्बन्धित निकायसँग समन्वय भइरहेको र कानुनी प्रक्रियाअनुसार अगाडि बढिने स्पष्ट पारेको छ । तथापि,पीडित पक्षले भने छानबिन प्रक्रिया पारदर्शी र विश्वसनीय नभएसम्म आन्दोलन जारी राख्ने चेतावनी दिएका छन् ।
यता,जिल्ला प्रहरी कार्यालय सिन्धुलीले विज्ञप्ती नै जारी गरेर वि.क.को हिरासतमा नभई उपचारको क्रममा ज्यान गएको दाबी गरेको छ।जिल्ला प्रहरी कार्यालय सिन्धुलीका प्रहरी प्रवक्ता एवम प्रहरी नायव उपरीक्षक सूर्य प्रकाश सुवेदीले हस्ताक्षर गरी जारि गरिएको विज्ञप्तीमा सहायक प्रमुख जिल्ला अधिकारी दिपेन्द्र पौडेलको संयोजकत्वमा छानविन समिति समेत गठन गरिएको र सामाजिक सञ्जालहरु तथा सञ्चार माध्यममा आएका समाचारहरुमा सत्यता नरहेको दाबी गरिएको छ।उक्त विज्ञप्तीबाट प्रहरीले घटनालाई विषयान्तर गर्न खोजेको पीडित परिवार र स्थानीयको आरोप छ ।
यस घटनाले स्थानीय तहमा मात्र नभई व्यापक रूपमा मानव अधिकारको अवस्था र प्रहरी हिरासतको सुरक्षा व्यवस्था बारे बहस उत्पन्न गरेको छ।विभिन्न मानव अधिकारकर्मी तथा नागरिक समाजका प्रतिनिधिहरूले समेत घटनाको स्वतन्त्र र निष्पक्ष छानबिनको माग गरेका छन्।उनीहरूले यस्ता घटनाले राज्यप्रतिको जनविश्वासमा असर पार्ने भएकाले यथाशीघ्र सत्य उजागर गरिनुपर्नेमा जोड दिएका छन् ।हिरासतभित्र भएको यस प्रकारको मृत्युले सुरक्षा निकायको जिम्मेवारी र जवाफदेहितामाथि पनि गम्भीर प्रश्न खडा गरेको छ।यस अवस्थामा पारदर्शिता,उत्तरदायित्व र न्याय सुनिश्चित गर्नु नै सम्बन्धित निकायहरूको प्रमुख दायित्व हुने जानकारहरु बताउँछन् ।