Close This

विकाशमा ठगिएको चुरेबस्तीमा खाद्यान्न अभाव सुरु

कमलामाई खबर सम्वाददाता    प्रकाशित: २०७७-२-१ गते   ४२५ पटक हेरिएको

जिल्लाको उत्तरी अति विकट क्षेत्र लालबन्दी नगरपालिका १४ नारायणखोलामा लकडाउनपछि पर्याप्त खाद्यान्न ढुवानी नहुँदा स्थानीय वासिन्दा समस्यामा परेका छन् । लालबन्दी बजारदेखि पर्याप्त खाद्यान्न ढुवानी हुन नसक्दा सो क्षेत्रमा खाद्य संकट सृजना हुने अवस्था सृजना भएको जानकारहरुले बताएका छन । 
केही व्यवसायीले ट्याक्टर र जीपमा थोरै मात्रामा खाद्यान्न ढुवानी गर्दै आएपनि लगातारको बर्षाका कारण खोलाको बाटो बिगारेपछि समस्या भइरहेको स्थानीयबासीले गुनासो गरेका छन ।सडक सञ्जालमा नजोडिएको नारायणखोलाबाट किनमेल वा औषधोपचार गर्न लखन्देही खोलाको बगर हुँदै लालबन्दी बजारसम्म आउनु पर्ने बाध्यता छ । पाखो बारीमा उब्जिएको अन्नबालीले केही महिना मात्रै खान पुग्ने नारायणखोलाका स्थानीयले धेरैजसो महिना किनेरै खाने गरेका छन् । पहिलेकै परिमाणमा खाद्यान्न ढुवानी नहुँदा समस्या पर्न थालेको लालबन्दी नगरपालिका १४ का वडाध्यक्ष सुबाईसिंह ब्लोनले बताउनुभयो । अध्यक्ष ब्लोनका अनुसार खाद्यान्न बिक्री गर्ने बजार क्षेत्रका अधिकांश उद्योग तथा पसल व्यवसाय लक डाउनका कारण बन्द भएकाले नारायणखोलामा पसल व्यवसाय गर्ने व्यवसायीले चाहेर पनि पर्याप्त खाद्यान्न ढुवानी गर्न नसकेका हुन । 
लकडाउनपछि समस्यामा परेका मजदुर तथा अति विपन्न,गरीब स्थानियबासीलाई विभिन्न संघ संस्थाहरुले केही राहत समेत वितरण गरिसकिएका छन । विभिन्नरणमा ९६ र  ६ सय ९६ परिवारको डाटा संकलन गरि नगरपालिमा बुझाइ राहत वितरणको तयारी भई रहेको वडाध्यक्ष ब्लोनले बताउनुभयो । करिब २ महिना हुन लागेको लकडाउनले घरमा खाने अन्न सकिएको भन्दै राहतको माग गर्ने परिवार संख्या बढेको वडाध्यक्ष ब्लोनले बताउनु भयो ।यसैगरी सडक सञ्जालमा नजोडिएको लालबन्दी नगरपालिका–१५ परवानीपुर र ईश्वरपुर नगरपालिका–१२ कालिन्जोरको चुरेभेगमा पनि खाद्यान्नको समस्या हुन थालेको स्थानीय वासिन्दाले बताएका छन् । जिल्लाका चुरे क्षेत्रका बस्तीहरु सडक,खानेपानी,शिक्षा,स्वास्थ्य जस्ता आधारभुत विकासका पुर्वाधारबाट वञ्चीत छन ।
कच्ची सडक, खोलाको बाटो प्रयोग गरेर त्यस बस्तीमा पुग्न सकिन्छ । खोलाको बाटो भएका कारण हिउँदको समयमा कष्टपुर्ण तरिकाबाट त्यहाँ पुग्न सवारी साधनको प्रयोग हुने भएपनि वर्षायाम सुरु भएपछि सवारी साधन आवतजावत नै बन्द हुन्छ । वर्षायामको ४ महिना सवारी साधन सञ्चालन नहुने गरेका कारण त्यस समयमा विरामी उपचारको लागि अस्पताल सम्म पुर्याउन पनि समस्या हुने गरेको स्थानियबासीको गुनासो छ । 
सवारी साधनको सहज आवतजावत नहुने गरेका कारण र स्वास्थ्य संस्था टाढा हुने गरेका कारण पनि सामान्य स्वास्थ्य समस्या देखा पर्दा गाउँ घरमा नै झारफुक गर्ने र झारफुकबाट निको नभएपछि बाध्यताले अस्पताल जाने गरेको स्थानिय सन्चमाया थिङले बताउनु भयो । हरिवन नगरपालिका १ को आँपडाँडा,धिमिले डाँडा,सानो कौवा,ईश्वरपुर नगरपालिकाको अड्डी,सानो फुलजोर,पिपल दमार लगायतका बस्तीहरुका स्थानिय बासी पनि कष्टपुर्ण जीवन विताई रहेका छन । ती बस्तीहरुमा  विजुली वक्ती ,खानेपानी,सडक,शिक्षा,स्वास्थ्य लगायतका आधारभुत पुर्वाधारको विकास भएको छैन ।
 सर्लाहीको कर्णाली भनेर चिनीने ति चुरे फेदीका बिकट गाउँहरु विकासले पछि परेका छन । सो क्षेत्रका स्थानियबासीले संघियता र विकास निर्माणको महसुस नै गर्न पाएका छैन्न । संघिय संरचना भएपछि गाउँनै विकास हुने अपेक्षा गरेका सो क्षेत्रका स्थानिय बासी अहिले निराश हुन थालेका छन । देशकै सबै भन्दा धेरै स्थानिय निकाय रहेको जिल्लामा लालबन्दी,हरिवन,ईश्वरपुर र बागमती नगरपालिका विकास निर्माणका हिसाबले अगाडी देखिन्छन तर विकट गाउँ बस्तीहरुमा विजुली वक्ती,खानेपानी,सडक,शिक्षा,स्वास्थ्य लगायतका आधारभुत पुर्वाधारको अभावमा  अल्झीरहेका छन । जनप्रतिनिधीहरुले भोट माग्न आउँदा चासो दिने तर भोट पाएर गएपछि आफुहरुलाई वास्था नगरेका कारण चुरे फेदीका गाउँहरु विकासको प्राथमिकतामा नपरेको स्थानियको गुनासो छ । तर ती नगरपालिकाहरुले चुरे क्षेत्रलाई विकासको प्राथमिकतामा राखेर काम गरि रहेको दाबी गरेका छन । 
ईश्वरपुर नगरपालिकाका नगर प्रमुख मनोज कुमार देवकोटाले सो क्षेत्रमा प्राविधिक सहितको टोली पुगेर खानेपानी लगायतका आधारभुत विकासका कार्यहरुको अध्यायन गरेको बताउनु भयो । चुरे फेदीका बस्तीहरुमा विजुली वक्ती ,खानेपानी,सडक,शिक्षा,स्वास्थ्य लगायतका आधारभुत पुर्वाधारका लागि प्राविधिक सहितको टोली लागि रहेको नगर प्रमुख देवकोटाले बताउनु भयो । स्थानिय सरकारको बजेटले भ्याए सम्म चुरे क्षेत्रको विकासमा लागि परेको लालबन्दी नगरपालिकाका नगर प्रमुख मान बहादुर खड्काले बताउनु भयो । उहाँले पहिलाको तुलनामा निकै विकास भएको बताउनु भएको छ ।

© Copyright 2019 Kamalamai Khabar. All rights reserved.
Design & Developed Journey For Tech