सर्लाहीको मलंगवाबाट अनुदानको रासायनिक मल कालाबजारी गरी बढी मूल्यमा बिक्री वितरण गर्ने तीन जनालाई प्रहरीले पक्राउ गरेको छ ।कृषकहरूको गुनासो र विशेष सूचनाका आधारमा जिल्ला प्रहरी कार्यालय सर्लाहीबाट खटिएको प्रहरी टोलीले उनीहरूलाई मलसहित नियन्त्रणमा लिएको हो ।

मलंगवा नगरपालिका–१० स्थित कृष्ण जनरल स्टोरमा खानतलासी गर्दा अनुमति विना डीएपी मल प्रतिबोरा रु तीन हजार ५ सयमा बिक्री गरिरहेको अवस्थामा मलंगवा नगरपालिका–७ का अन्दाजी २३ वर्षीय अभिनय राय र अन्दाजी २० वर्षीय अभिनन्दन राय रहेका जिल्ला प्रहरी कार्यालय सर्लाहीले जनाएको छ।कार्यालयका अनुसार उनीहरूको पसलबाट चार बोरा डीएपी र एक बोरा युरिया मल बरामद गरिएको छ।अनुसन्धानका क्रममा उनीहरूले उक्त मल मलंगवा नगरपालिका ४ शिवसागर चोकस्थित राहुल गुप्ताको पसलबाट प्रतिबोरा रु तीन हजार दुई सयमा खरिद गरी ल्याएर रु तीन हजार ५ सयमा बिक्रि गरेको खुलाएका थिए।

सोही बयानका आधारमा प्रहरीले मलंगवा नगरपालिका–३ का अन्दाजी २८ वर्षीय गुप्ताको पसलमा खानतलासी गर्दा थप सात बोरा युरिया मल बरामद गरी गुप्तालाई समेत पक्राउ गरेको छ।पक्राउ परेका तीनै जनामाथि कालो बजारी सम्बन्धी कसूरमा अनुसन्धान सुरु गरिएको जिल्ला प्रहरी कार्यालय सर्लाहीले जनाएको छ ।