हरिपुर नगरपालिका १ मा धारिलो हतियार प्रहार गरी एक युवकको हत्या

3.2k Shares

सर्लाहीको हरिपुर नगरपालिका १, स्थित मुक्तेश्वर सामुदायिक वनमा एक युवको शव फेला परकेो छ । शनिबार हरिपुर नगरपालिका १ स्थित  मुक्तेश्वर सामुदायिक वनमा धारिलो हतियार प्रहार गरी हत्या गरिएको अवस्थामा एक युवकको शव फेला परेको हो ।
रौतहटको गुजरा नगरपालिका ५ बस्ने अन्दाजी ३१ वर्षीय विष्णुसिंह घिसिङको मुक्तेश्वर सामुदायिक वन क्षेत्रभित्र पर्ने बागमती सिँचाईको नहरमा हतियार प्रहार गरी हत्या गरिएको अवस्थामा शव फेला परेको जिल्ला प्रहरी कार्यालय सर्लाहीले जनाएको छ ।
घाँटीमा धारिलो हतियार प्रहार गरी हत्या गरिएको अवस्थामा घिसिङको शव फेला परेको जिल्ला प्रहरी कार्यालय सर्लाहीका प्रहरी प्रमुख प्रहरी उपरिक्षक प्रविण पोख्रेलले जानकारी दिनु भयो । उहाँका अनुसार मृतकको शव घटनास्थलबाट शनिबार राती १० बजे पोष्टमार्टमका लागि प्रादेशिक अस्पताल मलंगवा ल्याइएको छ ।
घिसिङ रौतहटबाट मूर्तियास्थित आफन्तको घरमा आएको भन्ने खुलेपनि विस्तृत विवरण खुल्न बाँकी रहेको प्रहरीले बताएको छ । घटनाको अनुसन्धान र अपराधमा संलग्नहरुको खोजी गर्न जारी रहेको इलाका प्रहरी कार्यालय बरहथवाका प्रहरी प्रमुख प्रहरी नायव उपरिक्षक उमाशंकर प्रसाद यादवले बताउनु भयो । प्रहरी नायव उपरिक्षक यादवको नेतृत्वमा घटनाको अनुसन्धान र अपराधमा संलग्नहरुको खोजी गर्न प्रहरी टोली परिचालन भइसकेको छ । शनिबार दिउँसो करिब ४ बजे हत्याको घटना जानकारी पाउनासाथ प्रहरी नायव उपरिक्षक  यादव नेतृत्वको प्रहरी टोली घटनास्थलमा पुगेको थियो ।
शनिबार दिउँसो पानी परेको समयमा घटना भएको जस्तो देखिएको प्रहरी नायव उपरिक्षक यादवले बताउनु भयो । घटनास्थलमा जनकपुरबाट तालिम प्राप्त कुकुर झिकाइएको सर्लाही प्रहरीका प्रमुख पोखरेलले बताउनु भयो । उहाँले घटनामा संलग्न रहेको हुन सक्ने आशंकामा केही व्यक्ति विरुद्ध प्रहरीले निगरानी बढाइसकेको बताउनु भयो । घटनास्थल आपराधिक घटना भइरहने क्षेत्रको रुपमा परिचित रहेको छ ।

सम्बन्धित समाचार