नेकपा(एमाले( सर्लाहीले विभिन्न चारवटा माग राख्दै जिल्ला प्रशासन कार्यालय सर्लाही मार्फत प्रधानमन्त्री पुष्पकमल दाहाल(प्रचण्ड)लाई ध्यानाकर्षण पत्र पठाएको छ । जिल्ला प्रशासन कार्यालय सर्लाही मार्फत एमाले सर्लाहीले सुख्खा क्षेत्र घोषणा,लम्पी स्किन रोगको उपचार,उखु उत्पादक किसानहरुको अनुदान भुक्तानी र वाढीको जोखिम बढेकाले सावधानीका काम तत्काल गर्न भन्दै प्रमुख जिल्ला अधिकारी इन्द्रदेव यादव मार्फत प्रधानमन्त्री दाहाललाई आफ्ना मागहरु पठाएको एमाले नेता चूडामाणि वाग्लेले जानकारी दिए ।
आफुहरुले राखेका माग पुरा नभए आन्दोलनमा जान वाध्य हुनु पर्ने चेतावनी पनि एमालेले पत्रमा उल्लेख गरेको नेता वाग्लेले बताए । ध्यानाकर्षण पत्रमा एमाले सर्लाहीका अध्यक्ष राजनारायण साहको हस्ताक्षर रहेको छ ।
ध्यानाकर्षण पत्र वुझ्दै सर्लाहीका प्रमुख जिल्ला अधिकारी यादवले नेकपा(एमाले)सर्लाहीले राखेका माग सम्वन्धित निकायमा जानकारी गराउने बताए । ध्यानाकर्षण पत्रमा एमालेले तत्काल सुख्याग्रस्त जिल्ला घोषणा गरि किसानहरुलाई राहतका कार्यक्रम ल्याउन माग गरेको छ ।मागमा उखु उत्पादक किसानहरुलाई राज्यले दिनु पर्ने प्रती क्वुन्टल रु ७० पनि नदिएकोले तत्काल सो रकम उपलब्ध गराउन माग गरेको छ । सुक्खाको असर र लम्पी स्किन रोगवारे जिल्लामा तथ्यांक समेत नभएको भन्दै एमाले सर्लाहीले केही संकलन गरेको तथ्यांक समेत पत्रमा उल्लेख गरेको नेता वाग्लेले बताए ।
लम्पी स्किन रोगले जिल्लामा करिब २५ हजार पशु चौपाया विरामी भएका र ठुलो सख्यामा मरेका एमालेको पत्रमा दावी छ । ध्यानाकर्षण पत्रमा ईश्वरपुर नगरपालिकामा मात्र करिब ४ हजार पशु चौपाय विरामी भएको उल्लेख गरिएको छ । एमालेले मरेका पशु चौपायको कृषकहरुलाई राहत दिन र भ्याक्सीन सहित उपचार निःशुल्क गर्न माग गरेको छ ।
यस्तै साउन र भदौमा आकस्मीक वर्षात भएर वाढी आउने सम्भावना भएकाले स्थानीय प्रशासन मार्फत प्रधानमन्त्री दाहाललाई सचेत गराएको छ ।बाढी,पहिरो र डुवान जस्ता समस्याबाट क्षती हुन नदिन र राहतका कार्यक्रमको लागि पुर्व तयारी थाल्न एमाले सर्लाहीले ध्यानाकर्षण गराएको छ ।
नेकपा(एमाले)का केन्द्रीय सचिव एवम मधेश प्रदेश ईन्चार्ज योगेश भट्टराईले जिल्लाका मागहरु समेटेर राज्यको ध्यानाकर्षण गराउन निर्देशन दिएकाले मधेश प्रदेशका ८ वटै जिल्लाले प्रधानमन्त्री दाहाललाई आफ्ना मागहरु पठाएका एमाले मधेश प्रदेशका उपाअध्यक्ष रेवती पन्तले जानकारी दिए । आफ्ना मागहरु सहितको ध्यानाकर्षण पत्र लिएर एमाले केन्दीय सदस्य सहित उल्लेख्य संख्यामा एमालेका नेता कार्यकर्ता जिल्ला प्रशासन कार्यालय सर्लाहीमा पुगेका थिए ।