लालबन्दी नगर वाङ्मय परिषद् भाषा तथा साहित्य पुरस्कारमा १० कृति छनोट

एसपि गौरव    प्रकाशित: २०८०-५-९ गते   ३१९ पटक हेरिएको

सर्लाहीको लालबन्दी नगर वाङ्मय परिषद् भाषा तथा साहित्य पुरस्कार २०८० का लागि छनोट भएका १० कृतिको नाम सार्वजनिक गरिएको छ ।भाषा,कला,साहित्य,संगीत तथा संस्कृतिको संरक्षणका लागि स्थापित परिषद्ले पुरस्कारका लागि छनोट भएका १० कृतिको नाम सार्वजनिक गरेको हो । 

स्वतन्त्र विज्ञहरूसहितको सम्मान तथा पुरस्कार छनोट समितिको सिफारिसमा रञ्जना निरौलाको ‘अनुभूतिको अवतरण’,सिम्रन क्षेत्रीको ‘झुमर’, दामोदर पुडासैनी (किशोर)को ‘डोल्पो ओ डोल्पो’, रमेश क्षितिजको ‘पर्वत पर्वतमा बटुवा घाम’,सन्तोष श्रेष्ठको ‘फरैना’,रामलाल जोशीको ‘बा आमा’, प्रोल्लास सिन्धुलीयको ‘भग्न भैरव’,युवराज नयाँघरेको ‘याकजी’, विदुर चालिसेको ‘लघु कथालय’ र अशोक थापाको ‘सन्तापको धून’ नामक कृति छनोटमा परेका परिषद्ले विज्ञप्ति मार्फत सार्वजनिक गरेको छ ।

वाङ्मय परिषद्लाई प्राप्त एक सय ४५ कृतिमध्ये सम्मान तथा पुरस्कार छनोट समितिले छनोट गरी सूचीकृत गरेका १० कृतिमध्ये उत्कृष्ट एक कृतिलाई वाङ्मय परिषद्ले पुरस्कृत गर्ने परिषद्का अध्यक्ष अच्यसत अधिकारीले जानकारी दिए ।

उनका अनुसार सम्मान तथा पुरस्कार छनोट समितिले १० कृतिमध्ये पुनःएक उत्कृष्ट कृति सिफारिस गरेपछि उक्त कृतिलाई ‘लालबन्दी नगर वाङ्मय परिषद् भाषा तथा साहित्य पुरस्कार २०८०’प्रदान गरिने छ । छनोट भएको कृतिको पुरस्कारको राशि रु ५० हजार रहेको परिषद्ले जनाएको छ ।

© Copyright 2019 Kamalamai Khabar. All rights reserved.
Design & Developed Journey For Tech