मंसिर २९ गते काट्ने वेला भएको उखुुमा आगलागी भएपछि पीडित बनेका सर्लाहीका उखु उत्पादक किसानहरुले सर्लाहीका प्रमुख जिल्ला अधिकारीसंग गुहार मागेका छन्।सर्लाहीको गोडैता नगरपालिका ४ रोहुवामा आगलागीबाट जलेको उखु बिक्री गराइदिन प्रमुख जिल्ला अधिकारी रामुराज कडरियासंग जलेको उखु खरिद गरी दिन उद्योगसंग पहल गरीदिन आग्रह गरेका हुन ।
जलेको उखुको स्थलगत गर्न पुगेका प्रमुख जिल्ला अधिकारी कडरिया सहितको टोलीले उखु उत्पादक किसानहरुले भेटेर आगलागीबाट क्षति पुगेको उखु खेतीको निरीक्षण गर्दै बिक्रीका लागि पहल थाल्ने बताएका छन्।केही साताअघि जिल्ला प्रशासन कार्यालयमा भएको सहमति अनुसार चिनी उद्योगले उखु खरिद नगरेको गुनासो आएपछि प्रमुख जिल्ला अधिकारी कडरिया सहितको टोली स्थलगत गर्न पुगेको सहायक प्रमुख जिल्ला अधिकारी घिमिरेले बताए।उनका अनुसार पूर्व सहमति अनुसार तत्काल उखु खरिद गर्न गोडैतामै रहेको महालक्ष्मी चिनी उद्योग बगहद र हरिवनमा रहेको इन्दुशंकर चिनी उद्योगलाई निर्देशन दिइएको छ।
यता,चिनी उद्योगले उखु खरिद गर्न आलटाल गरेको र कहीँकतैबाट राहत नपाएको उखु उत्पादक किसानहरुको गुनासो छ ।आगलागीबाट गोडैता नगरपालिका ४ रोहुवा गाउँका ६३ जना उखु किसानहरुको करिब २२ बिघा १७ कठ्ठा १८ धुरमा लगाइएको उखु जल्दा अन्दाजी रु ९९ लाख ३६ हजार बराबरको क्षति भएको जिल्ला प्रशासन कार्यालय सर्लाहीले संकलन गरेको तथ्यांकमा उल्लेख गरिएको छ ।त्यस्तै,जलेको उखुको रसको मात्रा परीक्षण गरी सोही अनुसार मुल्य दिएर उखु खरिद गर्ने यस अघि नै सहमति भएको चिनी उद्योगहरुले बताएका छन् ।