जिल्ला हुलाक कार्यालय सिन्धुलीले सेवाग्राहीलाई सहज र सरल रूपमा सरकारी सेवा उपलब्ध गराउने उद्देश्यले राहदानीको अनलाइन दर्ता तथा राष्ट्रिय परिचय–पत्रसम्बन्धी अनलाइन सेवा निःशुल्क सुरु गरेको छ।कार्यालयबाट सेवा सुरु भएपछि राहदानी बनाउन तथा राष्ट्रिय परिचय–पत्र सम्बन्धी अनलाइन प्रक्रियाका लागि सेवाग्राहीले निजी साइबर तथा बिचौलियाको भर पर्नुपर्ने बाध्यता हट्ने अपेक्षा गरिएको जिल्ला हुलाक कार्यालय सिन्धुलीका हुलाक अधिकृत कुमार थापाले जानकारी दिए ।
उनका अनुसार सरकारी सेवा लिन अनलाइन फाराम भर्न तथा आवश्यक विवरण प्रविष्ट गर्न समस्या हुने नागरिकका लागि हुलाक कार्यालयबाटै सहजीकरण हुने भएको हो।राहदानीका लागि अनलाइन आवेदन फाराम भर्ने,आवश्यक विवरण प्रविष्ट गर्ने तथा प्रक्रियाका लागि सेवाग्राहीलाई आवश्यक सहयोग उपलब्ध गराइने कार्यालयले जनाएको छ। त्यसैगरी राष्ट्रिय परिचय–पत्र सम्बन्धी अनलाइन आवेदन तथा प्रक्रियामा पनि सेवाग्राहीलाई आवश्यक सहजीकरण गरिने छ।
विशेषगरी ग्रामीण तथा दुर्गम क्षेत्रबाट आउने नागरिकलाई अनलाइन प्रविधिको ज्ञान तथा पहुँचको अभावमा सरकारी सेवा लिन कठिनाइ हुँदै आएको अवस्थामा हुलाक कार्यालयबाटै यस्तो सेवा सुरु भएपछि उनीहरूलाई प्रत्यक्ष लाभ पुग्ने अपेक्षा गरिएको जिल्ला हुलाक कार्यालय सिन्धुलीका सूचना अधिकारी दुर्गा प्रसाद पहाडीले बताए ।उनका अनुसार अनलाइन फाराम भर्नकै लागि निजी साइबरमा शुल्क तिर्नुपर्ने अवस्थाबाट सेवाग्राहीलाई राहत मिल्नुका साथै सरकारी सेवामा नागरिकको पहुँचसमेत सहज हुने विश्वास लिईएको छ। सेवा लिन आउने नागरिकले आवश्यक व्यक्तिगत विवरण तथा सम्बन्धित कागजात लिएर कार्यालयमा सम्पर्क गर्नुपर्ने कार्यालयले जनाएको छ।
पछिल्लो समय सरकारी सेवाहरू क्रमशःडिजिटल प्रणालीमा आधारित हुँदै गए पनि सबै नागरिकसँग इन्टरनेट,कम्प्युटर तथा अनलाइन फाराम भर्ने सीप समान रूपमा उपलब्ध छैन। यस्तो अवस्थामा सरकारी निकायबाटै निःशुल्क अनलाइन सेवा उपलब्ध गराउनु सार्वजनिक सेवा प्रवाहलाई नागरिकमैत्री बनाउने महत्वपूर्ण कदमका रूपमा लिन सकिने स्थानीय जानकारहरु बताउँछन् ।
हुलाक सेवा परम्परागत रूपमा चिठीपत्र तथा पार्सल आदान–प्रदानमा सीमित रहेको बुझाइलाई परिवर्तन गर्दै जिल्ला हुलाक कार्यालय सिन्धुलीले पछिल्लो समय विभिन्न सरकारी तथा नागरिक सेवामा सहजीकरण गर्न थालेको छ ।सिन्धुलीमा राहदानी र राष्ट्रिय परिचय–पत्रको अनलाइन सेवा सुरु हुनु पनि हुलाक कार्यालयको सेवा विविधीकरणतर्फको प्रयासका रूपमा देखिएको छ।
सेवा सुरु भएपछि सेवाग्राहीले सरकारी प्रक्रियाका लागि अनावश्यक रूपमा अतिरिक्त खर्च गर्नुपर्ने अवस्था घट्ने तथा अनलाइन आवेदनमा हुने सामान्य त्रुटि र झन्झटसमेत कम हुने अपेक्षा गरिएको कार्यालयले जनाएको छ।जिल्ला हुलाक कार्यालय सिन्धुलीबाटै निःशुल्क सेवा उपलब्ध हुन थालेपछि सिन्धुलीका नागरिकलाई सरकारी डिजिटल सेवामा पहुँच बढाउन सहयोग पुग्ने छ ।