सिन्धुलीमा सञ्चालित स्वास्थ्य कार्यक्रमहरू र तिनबाट हासिल भएका प्रगतिबारे अन्तरक्रिया गरिएको छ।अस्पतालबाट प्रदान गरिएको सेवा,सुविधा,हालसम्मका उपलब्धी,प्रगति तथा सुधारका प्रयासहरु, चुनौती तथा समस्याहरु,आगामी योजना,लक्ष्य तथा सुधारका रणनीतिहरु लगायतका विषयमा जिल्ला अस्पताल सिन्धुलीका निर्देशक शुसान्त कुमार खड्काले जानकारी दिए।उनले गुणस्तरीय स्वास्थ्य सेवा विस्तारका लागि अस्पतालले निरन्तर प्रयास गरिरहेको बताए ।
यता,चालु आर्थिक वर्ष २०८२÷०८३ मा भएका मुख्य उपलब्धिहरू प्रस्तुत गर्दै कार्यालयले सय वटा खानेपानी स्रोतको नमुना परीक्षण गरेको,पाँच सय ६५ जना विद्यार्थीहरुको स्वास्थ्य परीक्षण गरिएको तथा एक सय ७७ वटा सवारी साधनका चालकहरुको लागुपदार्थ सेवन जाँच गरिएको जनस्वास्थ्य कार्यालय सिन्धुलीका प्रमुख विमल पटेलले जानकारी दिए ।
उनले महिला सामुदायिक स्वास्थ्य स्वयंसेविकाहरूलाई सम्मान,स्वास्थ्य संस्था तथा स्वास्थ्यकर्मीहरूको विवरण केन्द्रीय प्रणालीमा अद्यावधिक र परिवार नियोजन अन्तर्गत स्थायी बन्ध्याकरण सेवा तथा निजी स्वास्थ्य संस्थाको अनुगमन गरिएको पनि बताए ।
दुई हजार आठ सय ३७ जना किशोरीलाई एचपीभी खोप प्रदान गरिएको र सबै स्थानीय तहका स्वास्थ्य संस्थामा “पाम्स भिटु”सेवा सञ्चालनमा ल्याइएको उनले बताए ।नागरिकलाई स्वस्थ राख्न तथा गुणस्तरीय स्वास्थ्य सेवामा पहुँच विस्तार गर्न सञ्चारमाध्यामहरुले सचेतनामूलक सामाग्री उत्पादन र पैरवी गर्नुपर्नेमा जोड दिए ।
साथै,जनस्वास्थ्य कार्यालय सिन्धुलीको आयोजनामा भएको कार्यक्रममा सहभागी भएका स्वास्थ्यकर्मीहरुले कार्यालयबाट प्रदान गरिँदै आएका सेवा,प्रमुख कार्यक्रम,उपलब्धि तथा चुनौती बारे अन्तरक्रिया गरिएको आयुर्वेद तथा वैकल्पिक चिकित्सालय सिन्धुलीका निमित्त प्रमुख दिपकराज तिमल्सिनाले जानकारी दिए ।
उनका अनुसार आयुर्वेदप्रति नागरिकको आकर्षण बढ्दो क्रममा रहेको साथै आर्थिक वर्ष २०८२÷८३ मा ३१ हजार चार सय ६५ जनाले सेवा लिएका छन्।नागरिकलाई स्वस्थ र निरोगी बनाउन विभिन्न स्वास्थ्य सम्बन्धी कार्यक्रम सञ्चालन भइरहेका आयुर्वेद तथा वैकल्पिक चिकित्सालय सिन्धुलीले जनाएको छ।कार्यालयका अनुसार चिकित्सालयबाट दैनिक बहिरंग सेवा,फिजियोथेरापी,पूर्वकर्म र अकुपञ्चर लगायतका सेवा प्रदान भइरहेको छ।