सर्लाहीको पर्सा गाउँपालिका ३ नारायणपुरबाट सशस्त्र प्रहरीले विभिन्न प्रकारका लागू औषध सहित एक युवकलाई पक्राउ गरेको छ । नेपाल भारत सिमाक्षेत्र स्थित पर्ने पर्सा गाउँपालिका ३ स्थित नारायणपुरबाट शुक्रबार बिहान विभिन्न प्रकारका लागू औषधसहित एक युवकलाई पक्राउ गरिएको सशस्त्र प्रहरी बल नेपाल नम्बर १० हे.क्वा.गण सर्लाहीका गणपति सशस्त्र प्रहरी उपरिक्षक तुल बहादुर भण्डारीले जानकारी दिए ।
उनका अनुसार सशस्त्र प्रहरी बल नेपाल बोर्डर आउट पोष्ट (बीओपी) संग्रामपुरबाट खटिएको सशस्त्र प्रहरीको गस्ती टोलीले ईश्वरपुर नगरपालिका १५,सोकनाहका अन्दाजी वर्ष २५ का विजय राउतलाई लागू औषध नाइट्रोभेट ट्याब्लेट १० पत्ता,स्पाक्मो प्रोक्सीभन ट्याब्लेट ६ र वनरेक्स ३९ बोतल सहित प्रदेश नं. २–०३–०२२ प ४२८ नम्वरको मोटरसाइकल सहित नियन्त्रणमा लिएको हो ।
राउतले मोटरसाईकलको ट्याङकीभित्र लुकाई छिपाई नेपाल तर्फ ल्याउँदै गरेको अवस्थामा शंका लागि चेकजाँच गर्ने क्रममा नाइट्रोभेट ट्याब्लेट १० पत्ता,स्पाक्मो प्रोक्सीभन ट्याब्लेट ६ पत्ता र वनरेक्स ३९ बोतल बरामद भएको सशस्त्र प्रहरीले जनाएको छ ।लागूऔषधसहित पक्राउ परेका राउतलाई थप अनुसन्धानका लागि जिल्ला प्रहरी कार्यालय सर्लाहीको जिम्मा लगाइएको सशस्त्र प्रहरी उपरिक्षक भण्डारीले बताए ।