वर्षेविदामा पनि सामुदायिक विद्यालयहरुमा“समर क्याम्प”,शिक्षाको गुणस्तर सुधार्न जे गर्न पनि तयार रहेको नगर प्रमुख थापाको भनाई

एसपि गौरव    प्रकाशित: २०८०-४-२७ गते   ४१८ पटक हेरिएको


 सर्लाहीको बागमती नगरपालिका भित्र रहेका सामुदायिक विद्यालयहरुले वर्षे विदामा पनि विद्यार्थीहरुलाई सिकाई निरन्तरता दिएका छन् ।नगर भित्र रहेका २५ वटै सामुदायिक विद्यालयहरुमा अध्यायनरत विद्यार्थीहरु सहित इच्छुक शिक्षकहरुले रचनात्मक क्रियाकलापमा सहभागी हुँदै वर्षे विदाको समय विताएका नगर शिक्षा शाखाका प्रमुख मीन प्रसाद उपाध्यायले जानकारी दिए ।

उनका अनुसार सामान्यतया विदाको समय फुर्सदको समय भन्ने गरिएको भएपनि सो समयलाई यहाँका सामुदायिक विद्यालयहरुमा अध्यायनरत छात्रछात्राहरुले रचनात्मक क्रियाकलापमा सहभागि हुदै विताएका छन् । भने नगर शिक्षा शाखाले नगर भित्रका सामुदायिक विद्यालयहरुका शिक्षकहरु र विद्यार्थीहरुका लागि एक हप्ते समर क्याम्प समेत सञ्चालन भएको थियो ।

नगर शिक्षा शाखाको आयोजनामा आयोजित बर्षे शिविर“समर क्याम्प”मा सहभागि भएका बागमती नगरपालिका भित्रका सामुदायिक विद्यालयहरुका इच्छुक शिक्षक शिक्षिकाहरु र विद्यार्थीहरुले विदाको समयको पुर्ण सदुपयोग गरी रचनात्मक क्रियाकलापमा सहभागी भएका राष्ट्रिय बृहतर शिक्षा सुधार अभियानका अभियन्ता अभिषेक घिमिरेले जानकारी दिए ।
उनका अनुसार बागमती नगरपालिकाले नगर भित्रका सामुदायिक विद्यालयहरुको शिक्षाको गुणस्तर सुधारका लागि सुरु गरेको अभियान अन्र्तगत बर्षे विदामा नगर भित्रका सामुदायिक विद्यालयहरुका छात्रछात्राहरुलाई विभिन्न अतिरिक्त कृयाकलापहरुमा सहभागि गराईएको हो ।

नगरमा रहेका २५ सामुदायिक बिद्यालयबाट प्रत्य विद्यालयमा अध्यायनरत छात्रछात्राहरुबाट पाँच जनाका दरले छात्रछात्रा सहभागि गराएर समर क्याम्प आयोजना गरिएको शिक्षा शाखाका ओम बहादुर कार्कीले बताए । उनका अनुसार समर क्याम्प अन्तरगत नगरका चार वटा माध्यामिक विद्यालयमा विभिन्न विषय विज्ञ प्रशिक्षकहरुको उपस्थितिमा तालिमहरु संचालन गरिएको हो ।

नियमित कक्षा सञ्चालनको क्रममा पनि बालमैत्री तथा विद्यार्थी मैत्री शिक्षण क्रियाकलाप चलि रहेको र समय समयमा यस प्रकारका शिविरहरुले बालबालिकाहरुको सर्वाङगिण विकासमा निकै टेवा पुग्ने अपेक्षा गरिएको बागमती नगरपालिका ८ स्थित रहेको जनवन जागरण माविका प्रधानाध्यापक बद्री प्रसाद पोख्रेलले बताए । पहिला पहिला निजी विद्यालयहरुले सबै प्रकारका अस्त्रहरु अपनाएर पठन पाठन गराउने गरेका भएपनि संघिय संरचना पछि बागमती नगरपालिकाले सामुदायिक विद्यालयहरुको शैक्षिक सुधारका लागि विभिन्न किसिमका योजनाहरु ल्याएको प्रधानाध्यापक पोख्रेलले बताए ।


यसअघि विदाको समयमा घुमेर हिड्ने,साथिहरुको लहैलहैमा कुलतमा लाग्ने छात्रछात्राहरुले यसपटक समयको भरपुर सदुपयोग गरेका र उनीहरुमा उत्साह र अठोट बढेको पाइएको बागमती नगरपालिका २ स्थित रहेको जनवाल कल्याण माविका प्रधानाध्यापक प्रकाश बहादुर जिम्वाले बताए ।उनका अनुसार समर क्याम्पमा बालबालिकाहरुले चित्रकला,सार्वजनिक भाषण कला,नृत्य,बिज्ञान परिक्षण र कम्प्यूटरबाट गरिने विभिन्न डिजाईन लगायतमा सहभागिता जनाएका हुन ।नृत्य निर्देशक छेडुप लामा तथा चित्रकला प्रशिक्षक महेन्द्र थापा र डिल्ली निरौला लगायतले एकहप्ते “समर क्याम्प”को प्रशिक्षण गरेका थिए ।

“समर क्याम्प” समापन सत्रका प्रमुख अतिथि समेत रहेका बागमती नगरपालिकाका नगर प्रमुख भरत कुमार थापाले छोटो समय आयोजना गगरिएको तालिमबाट बालबालिकाहरुमा आएको उर्जा तथा उनीहरुको क्षमता देखेर खुसी लागेको बताए । उनले नगर भित्रका सामुदायिक विद्यालयहरुको शैक्षिक गुणस्तर सुधारका लागि आफु जुनसुकै निणर्य गर्न पनि तयार रहेको बताए ।सात दिन सम्म सञ्चालन भएको तालिममा सिकेका कुराहरु विद्यार्थीहरुले प्रस्तुत तथा प्रदर्शनी समेत गरेको बागमती नगरपालिका ११ स्थित रहेको श्री ५ महेन्द्र जनता माविका प्रधानाध्यापक नवकिरण श्रेष्ठले जानकारी दिए ।

© Copyright 2019 Kamalamai Khabar. All rights reserved.
Design & Developed Journey For Tech