आन्दोलित उखु किसानसँग ४ बुँदे सहमती

286 Shares

सर्लाहीको धनकौलस्थित रहेको अन्नपूर्ण चिनी उद्योगलाई बेचेको उखुको भुक्तानी माग्दै धर्नामा बसेका उखु उत्पादक किसानहरु र उद्योगीबिच विभिन्न चार बुँदे सहमती भएको छ। जिल्ला प्रशासन कार्यालय सर्लाहीमा भएको छलफलमा यस आर्थिक वर्षमा उखुको क्रसिङ गर्दा हुने प्रदुषण नियन्त्रण गर्न उपाय अपनाउने,गत वर्ष उद्योगले खरिद गरेको उखुको भुक्तानी गर्न बाँकी रहेको रकम भुक्तानी दिने,यसअघिका उद्योग पति राकेशकुमार अग्रवालले दिन बाँकी उखु उत्पादक किसानहरुको भुक्तानी एक महिनाभित्र गर्ने र उद्योगलाई संचालनका लागि सबै मिलेर सहज वातावरण बनाउने सहमती भएको अगुवा उखु किसान रामआधार रायले जानकारी दिए ।
उनका अनुसार प्रमुख जिल्ला अधिकारी रामुराज कडरियाको अध्यक्षता र उद्योगपति शैलेन्द्र गुप्ताको सहभागी छलफल गरेर सहमती गरिएको हो।सहमतीसँगै आफूहरु उखुको बक्यौता रकम पाउने आशमा रहेको र तत्काल अब धर्नासहितका आन्दोलनका कुनैै कार्यक्रम नगर्ने आन्दोलनरत उखु उत्पादक किसानहरुले बताएका छन् ।सर्लाहीमा रहेका तीन वटा चिनी मिलहरु मध्य हरिवनमा रहेको इन्दु शंकर चिनी उद्योग बाहेकका अरु दुई वटै उद्योगले किसानहरुको केही रकम भुक्तानी गर्न बाँकी राखेका किसानहरुको गुनासो छ ।

सम्बन्धित समाचार