सर्लाहीको हरिवन नगरपालिका ५ मा रहेको सर्लाही रिफ्रेस खानेपानी उद्योग र हरिवन नगरपालिका ४ तीनघरे स्थित रहेको सर्लाही टाईम्स खानेपानी उद्योगले बजारमा पुर्याएको पानीको जारमा बाक्लै लार्भाजस्ता किराहरु देखिएका छन् ।सर्लाही रिफ्रेस उद्योगले किरायुक्त पानी बजारमा बिक्रि वितरण गरेको पाइएपछि स्थानीयले हरिवन नगरपालिका ५ का वडा वडाध्यक्ष नागेन्द्र साहलाई सुनाएपछि हरिवन नगरपालिकाका नगरु प्रमुख रमेश बुढाथोकी(कमल) सहितको टोलीले स्थलगत अनुगमन गरेको हरिवन नगरपालिकाको स्वास्थ्य शाखाका प्रमुख रामबाबु चौधरीले जानकारी दिए ।
उनका अनुसार नगर प्रमुख बुढाथोकी सहित स्थानीय जनप्रतिनिधिहरु र प्रहरी प्रशासनको संयुक्त टोलीले नगरका दुईवटा पानी उद्योगमा स्थलगत अनुगमन गरि अखाद्य पानी बजारमा विक्रि वितरण नगर्न उद्योगका सञ्चालकलाई निर्देशन दिइएको छ ।अनुगमनमा गएको टोलीले दुईवटै पानी उद्योगबाट नमुना संकलन गरि परीक्षणका लागि जनकपुर पठाईने हरिवन नगरपालिकाले जनाएको छ ।
अनुगमनको क्रममा मानवीय जीवनको स्वास्थ्यमा प्रत्यक्ष असर पुग्ने खानेपानी जस्तो विषयमा समेत उद्योगहरुमा लापरबाही देखिएको हरिवन नगरपालिकाका नगर प्रमुख बुढाथोकीले बताए ।उनका अनुसार दुवै उद्योगहरुमा मापदण्ड अनुसारको संरचना र सरसफाई नदेखिएको र पूनः प्रयोग हुने जार सफा गर्नका लागि उपकरण नभएको लगायत देखिएको समेत बताए ।दुवै उद्योगका सञ्चालकलाई सरसफाई र मापदण्ड अनुसारका उपकरण राख्न भनिएको अनुगमन समितिले जनाएको छ ।