रौतहटको चन्द्रपुर नगरपालिका १ मा बागमती नदीमा अवैध उत्खननमा वडा अध्यक्षकाे समेत संग्लग्नता देखिएकाे छ ।चन्द्रपुर नगरपालिका १ स्थित बागमती नदी किनारमा तटबन्ध निर्माणको नाममा स्काभेटर र डोजर प्रयोग गरी मनपरी उत्खनन गरिँदा वातावरणीय विनाश र सरकारी सम्पत्तिको दुरुपयोग भएको भन्दै स्थानीयवासी आक्रोशित भए पछि साे सम्बन्धमा बुझ्दा वडा अध्यक्ष बलराम राउतकाे समेत संग्लग्नता देखिएकाे हाे।
वडाध्यक्ष राउतले कानुनी स्वीकृति नलिई तथा बजेट स्रोत स्पष्ट नपारी आफुखुसी मनलाग्दी तटबन्ध निर्माणको नाममा स्काभेटर र डोजर प्रयोग गरिएकाे पाईएकाे छ । डिभिजन वन कार्यालय रौतहटले यो कार्य रोक्न आग्रह गरे पनि वडाध्यक्ष राउतले अटेर गरेर काम गरि रहेका पाईएकाे छ । ‘बिना नक्सा र बिना अनुमति खोला तथा वन क्षेत्रमा स्काभेटर चलाउनु पर्यावरणीय अपराध हुने र यो कार्य तुरुन्त रोकिनुपर्ने सामुदायिक वन उपभोक्ता महासंघ रौतहटका अध्यक्ष बेधारी दाहालले बताए ।
उनका अनुसार बिना बजेट र अनुमतिमा कसरी करोडौंको तटबन्ध निर्माण कार्य अघि बढिरहेको भन्ने प्रश्न चिन्ह खडा भएकाे छ । यता,आफूले जनताको मागअनुसार तटबन्ध निर्माण सुरु गरेको वडा अध्यक्ष राउतले दाबी गरे ।व्यक्तिगत संकल्पको आडमा नियमविपरीत कामलाई वैध बनाउने प्रयास नीति र कानुनविरुद्धको खतरनाक अभ्यास भएको नागरिक समाजकाे भनाइ छ ।
यता तटबन्ध निर्माण कसको निर्देशनमा र कुन बजेट स्रोतबाट भइरहेको हो भन्नेबारे न त वडा कार्यालयसँग स्पष्ट जानकारी छ, न त नगरपालिकाले आधिकारिक धारणा सार्वजनिक गरेको छ।खोलामा स्काभेटर चलाउँदा पानीको बहाव बिग्रिन्छ र वातावरणीय सन्तुलन खल्बलिन्छ। यसले भविष्यमा डुबानको खतरा निम्त्याउन सक्ने स्थानीयकाे चिन्ता छ । नेपालको जल स्रोत ऐन २०४९ र वातावरण संरक्षण ऐन २०५३ अनुसार नदी, खोला वा वन क्षेत्रभित्र कुनै पनि निर्माण कार्यअघि वातावरणीय प्रभाव मूल्याङ्कन अनिवार्य छ। त्यसैगरी स्थानीय सरकार सञ्चालन ऐन २०७४ अनुसार वडाध्यक्षले एकल निर्णयमा ठूला निर्माण कार्य अघि बढाउन पाउँदैनन्।
स्काभेटर प्रयोग गरी खोलाको प्राकृतिक स्वरूप बिगारिएको र वन क्षेत्र अतिक्रमण भएको पाइएको छ। यस आधारमा वडाध्यक्ष राउतमाथि कानुनी कारबाहीको तयारी भइरहेको डिभिजन वन कार्यालय रौतहटले जनाएको छ । चन्द्रपुर नगरपालिमा १ मा भइरहेको तटबन्ध निर्माणको विषयले स्थानीय शासन,पारदर्शिता र कानुनी प्रक्रिया उल्लंघन भएको गम्भीर प्रश्न उठाएको छ। जनताको मागको नाममा खोलाको दोहन र व्यक्तिवादी निर्णयमार्फत करोडौंको योजना सञ्चालन हुनु चिन्ताजनक विषय हो।सरकारका सम्बन्धित निकायले तत्काल तथ्य अनुसन्धान गरी योजना पारदर्शी बनाउन, वातावरणीय मूल्याङ्कन गर्न र अनियमित उत्खन्न तत्काल रोक्न स्थानीयले माग गरेका छन्।