प्रदेश २ मा थप ९ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । पछिल्लो २४ घण्टामा २ महिलासहित ९ जनामा कोरोना संक्रमण पुष्टि भएको सामाजिक विकास मन्त्रालयले जनाएको छ ।संक्रमित हुनेमा सप्तरीका १ महिलासहित ४ जना र सर्लाहीका एक महिलासहित पाँच जना छन् ।
सामाजिक विकास मन्त्रालयका अनुसार सप्तरीको हनुमाननगर कंकालनी नगरपालिका वडा नम्बर ४ का ५० वर्षीया एक जना महिला, ११ वर्षीय एक जना बालक, १६ वर्षीय एक जना किशोर र ४० वर्षीय एक पुरुषमा संक्रमण पुष्टि भएको हो ।
यस्तै, सर्लाहीको गोडैता नगरपालिकाका १६, २० र २३ वर्षका पुरुषमा कोरोना संक्रमण पुष्टि भएको छ । सर्लाहीकै चक्रघट्टा गाउँपालिकाकी ९ वर्षीया एक बालिका र १९ वर्षीय एक पुरुषमा संक्रमण पुष्टि भएको छ । यससँगै प्रदेश २ मा संक्रमितको संख्या २ हजार ७ सय ९० पुगेको छ ।
डिस्चार्ज हुनेको संख्या ७४०
प्रदेश २ बाट पछिल्लो २४ घण्टामा ५७ जना कोरोना संक्रमितहरु उपचार पश्चात डिस्चार्ज भएका छन् ।जनकपुरधामस्थित प्रादेशिक अस्पताल अन्तर्गत लक्ष्मीनिया गाउँपालिकामा रहेको वीपी मेमोरियल पोलिटेक्निकल इस्न्टिच्युटको आइसोलेसन कक्षबाट ११ जना पुरुष, सिराहा जिल्ला स्थित सिराहा अस्पताल अन्तर्गतको कोभिड विशेष अस्पतालको आइसोलेसन कक्षबाट ४ जना पुरुष, सप्तरी जिल्लास्थित गजेन्द्र नारायण सिंह सगरमाथा अस्पताल अन्तर्गतको साईकृष्ण कोभिड १९ अस्पतालको आइसोलेसन कक्षबाट ५ जना पुरुष र सर्लाहीको मलंगवा नगरपालिकास्थित सर्लाही जिल्ला अस्पताल अन्तर्गत रहेको अल्पामाई रामनारायण यादव नर्सिङ्ग कलेजको आइसोलेसन कक्षबाट २ महिला र ३५ जना पुरुष गरी कुल ५७ जना कोरोना संक्रमतिहरु उपचार पश्चात डिस्चार्ज भएका छन् ।
यससँगै यस प्रदेश नम्वर २ का ७ सय ४० जना कोरोना संक्रमित ब्यक्तिहरु उपचार पश्चात डिस्चार्ज भइसकेको मन्त्रालयले जनाएको छ ।