मधेश प्रदेश सरकारले मधेश प्रदेशका आठ जिल्लामा क्रियाशील पत्रकारहरूको स्वास्थ्य तथा दुर्घटना बीमा गर्ने सम्झौता गरेको छ।मधेश प्रदेश सरकारको गृह, सञ्चार तथा कानून मन्त्रालय मातहतको आम सञ्चार प्राधिकरणले मधेश प्रदेशमा रहेका सबै क्रियाशील पत्रकारहरूको रु एक लाखको स्वास्थ्य बीमा तथा रु सात लाखको दुर्घटना बीमा गर्ने सम्झौता भएको आम सञ्चार प्राधिकरण मधेश प्रदेशका अध्यक्ष श्याम सुन्दर यादवले जानकारी दिए ।
उनका अनुसार मधेश प्रदेशको भौतिक पूर्वाधार विकास मन्त्रालयमा आयोजित कार्यक्रममा मधेश प्रदेशका गृह तथा सञ्चार मन्त्री राजकुमार लेखीको रोहबरमा पत्रकारहरूको स्वास्थ्य तथा दुर्घटना बीमा सम्बन्धि सम्झौता गरिएको हो ।राष्ट्रिय बीमा कम्पनीका व्यवस्थापक देवराज घिमिरेले कम्पनीको तर्फबाट तथा प्राधिकरणको तर्फबाट निमित प्रशासकीय प्रमुख प्रसन्न राज कर्णले हस्ताक्षर गर्दै रु एक लाखको स्वास्थ्य तथा रु सात लाखको दुर्घटना बीमा गर्ने सम्झौता गरेका हुन ।
मधेश प्रदेश सरकार सञ्चार मैत्री सरकार भएको उल्लेख गर्दै पत्रकारहरूको स्वास्थ्य तथा दुर्घटना बीमा निःशुल्क रुपमा गरेर प्रमाणित गरेको मधेश प्रदेशका गृह,सञ्चार तथा कानून मन्त्री लेखीले बताए ।पत्रकारहरूको समस्याप्रति प्रदेश सरकार पूर्ण रुपमा जानकार भएको मन्त्री लेखिले बताए ।पत्रकारहरूलाई लोककल्याणकारी विज्ञापन समानुपातिक रुपमा प्रदान गरिने जानकारी दिदैँ मन्त्री लेखीले निकट भविष्यमा नै मधेश प्रदेशका सबै शहिद परिवारलाई एक लाखको स्वास्थ्य बीमा निःशुल्क रुपमा गर्ने तयारी प्रदेश सरकारले गरेको बताए ।
मधेश प्रदेशमा तीन वर्षदेखि निरन्तर रुपमा पत्रकारिता क्षेत्रमा क्रियाशील रहेका सबै पत्रकारहरूको रु एक लाखसम्मको स्वास्थ्य तथा रु सात लाखसम्मको दुर्घटना बीमा सरकारको स्वामित्वमा रहेको राष्ट्रिय बीमा कम्पनी लिमिटेडसँग सम्झौता गर्न लागेको आमसञ्चार प्राधिकरणका अध्यक्ष यादवले बताए ।उनका अनुसार महिलाहरूको स्वास्थ्य बीमा गर्दै आएको भए पनि यसपटक करिब आठ सय पत्रकारहरूको बीमा नेपाल पत्रकार महासंघको सिफारिसमा वा सम्बन्धीत मिडियाको सिफारिसमा गरिने छ ।
राष्ट्रिय विमा कम्पनीका व्यवस्थापक घिमिरेको अध्यक्षतामा भएको सो कार्यक्रममा बीमा कम्पनीसँग बीमितले गर्नुपर्ने दाबी भुक्तानी सहितको विषयमा कम्पनीका अधिकारी निरञ्जन आचार्यले बताए ।पत्रकारहरूको बीमाका लागि मधेश प्रदेश सरकारले चालु आर्थिक वर्षमा रु ३० लाख बजेट विनियोजन गरेको छ ।