देशमा राजनीतिक स्थिरता कायम गर्न कांग्रेस एमालेको सरकार बनेको हो : मन्त्री सिंह

365 Shares

अर्थतन्त्रलाई चलायमान गराउन र आर्थिक समृद्धिको बाटोमा अगाडि बढाउन सहयोग पुगोस भन्ने उद्धेश्यले बहुउद्देश्यीय व्यापारीक भवन निर्माण गरिएको नेपाल सरकारका उप प्रधान एवम शहरी विकास मन्त्री प्रकाशमान सिंहले बताए।उप प्रधान तथा शहरी विकास मन्त्री एवम कार्यक्रमका प्रमुख अतिथि सिंहले स्थानीय उत्पादनलाई बजारिकरण गर्न र आयमुलक व्यवसाय सुरु गरेका साना व्यापारीहरुलाई प्रोत्साहन गर्न लालबन्दीमा बहुउद्देश्यीय व्यापारीक भवन निर्माण गरिएको बताए ।
वैदेशिक रोजगारीबाट फर्किएका तथा सीप सिकेर स्वदेश मै व्यवसाय गर्ने योजना बनाएका युवा तथा व्यवसायीहरुलाई देशको अर्थाेपार्जनमा सहयोग पुर्याउन उक्त भवन प्रयोग गरिने लालबन्दी नगरपालिकाका नगर प्रमुख बासुदेव अधिकारीले बताए।उनले लालबन्दी नगरपालिका पुरानो बजार भएकोले यसको सौन्दर्यकरण गर्न सहयोग आवश्यक रहेको समेत बताए ।
शहरी विकास तथा भवन निर्माण कार्यालयका महानिर्देशक मचाकाजी महर्जनले लालबन्दी नगरपालिकालाई भवनको उचित संरक्षण र व्यावसायिक प्रयोजनकै लागि प्रयोग गर्न अनुरोध गरे । 
लालबन्दी नगरपालिका ७ स्थित साझा संस्थाको जग्गामा संघीय शहरी विकाश तथा भवन निर्माण कार्यालयको पाँच करोड ४१ लाख ५२ हजार नौ सय ७५ रुपैयाँ ४८ पैसाको लागतमा भुइँ तलामा १७ वटा व्यापारिक सटर,पहिलो तलामा तीनवटा च्याम्बर कोठा र तेस्रो तलामा एउटा च्याम्बर कोठा सहितको बहुउद्देश्यीय व्यापारीक भवन निर्माण गरिएको संघीय शहरी विकाश तथा भवन निर्माण कार्यालय मधेश प्रदेशका प्रमुख विनोद कुमार यादवले बताए ।
नगर प्रमुख अधिकारीको अध्यक्षता तथा उप प्रधान एवम शहरी विकास मन्त्री सिंहको प्रमुख आतिथ्यतामा भएको कार्यक्रममा नेपाली कांग्रेस मधेश प्रदेशका उप सभापति एवम निवर्तमान मन्त्री  वीरेन्द्र प्रसाद सिंह,कांग्रेस सर्लाहीका सभापति सुरेन्द्र प्रसाद सिंह लगायतको विशेष उपस्थिति रहेको थियो ।
त्यसैगरी नेपाली कांग्रेस र नेकपा(एमाले)को संयुक्त सरकार बनेपछि देशमा राजनीतिक स्थिरता कायम भएको उपप्रधान तथा शहरी विकास मन्त्री सिंहले बताए।नेपाल मुस्लिम संघ मधेश प्रदेश समितिको प्रथम अधिवेशनलाई सम्वोधन गर्दै उपप्रधान तथा शहरी विकास मन्त्री सिंहले चाँडोचाँडो सरकार फेरिनेक्रम भङ्ग भएको समेत बताए ।
देशमा राजनीतिक स्थिरता र स्थायित्व नभएसम्म विकास सम्भव नहुने देखेपछि दुई ठूला दल मिलेर सरकार बनाउनुपरेको सिंहको भनाई छ ।संविधानलाई संस्थागत गर्न आवश्यक कानून निर्माण गरेर तीनै तहका सरकारलाई अझ मजबुद बनाउन आवश्यक रहेको समेत मन्त्री सिंहले बताए ।
उपप्रधान तथा शहरी विकास मन्त्री सिंहले मुस्लिम समुदायमा पुरुषको तुलनामा महिलामा शिक्षाको अवस्था निकै कमजोर रहेकाले महिलालाई पनि शिक्षामा पहुँच बढाउने विषयमा गम्भीर बन्न मन्त्री सिंहले आग्रह गरे।उनले नेपाली कांग्रेस निकट नेपाल मुस्लिम संघले बेलैमा सङ्गठनको अधिवेशन गर्न सकिन्छ भन्ने गतिलो उदाहरण प्रस्तुत गरेको समेत बताए ।
संघको प्रदेशस्तरीय प्रथम अधिवेशनलाई नेपाली कांग्रेसका केन्द्रीय सदस्यहरु अब्दुल सतार,जाबेदा खातुन,नैनसिंह महर,नेपाली कांग्रेस मधेश प्रदेशका सभापति कृष्ण यादव,नेपाल मुस्लिम संघका केन्द्रीय सभापति महम्मद अताउल,नेपाली कांग्रेस सर्लाहीका सभापति सिंह,पूर्व मन्त्री शम्भुलाल श्रेष्ठलगायतले सम्वोधन गरेका नेपाल मुस्लिम संघ मधेश प्रदेश समितिका सभापति शेष साहदुल्लाहले जानकारी दिए ।

सम्बन्धित समाचार