बागमतीका नगर प्रमुख थापा सहितलाई वन मुद्धा लगाउने तयारी गरेपछि स्थानीय आक्रोसित

320 Shares

सर्लाहीको वागमती नगरपालिकाका नगर प्रमुख भरत कुमार थापा सहित अन्य जनप्रतिनिधिहरु र कर्मचारीहरुलाई वन अतिक्रमण र हानि नोक्सानी सम्बन्धी कसुरमा राज्यले मुद्धा लगाउने तयारी गरेपछि नेकपा(माओवादी केन्द्र)सर्लाहीले प्रमुख जिल्ला अधिकारीको ध्यानाकर्षण गराएको छ ।सर्लाहीको बागमती नगरपालिका ४ र १२ मा निर्माण भई रहेको बागमती माछा पोखरी(भरत ताल) को विषयमा अख्तियार दुरुपयोग अनुसन्धान आयोगमा उजुरी गरी त्यहाँबाट बागमती नगरपालिकाका नगर प्रमुख थापा सहित अन्य जनप्रतिनिधिहरु र कर्मचारीहरुलाई फसाउन सक्ने अवस्था नदेखेपछि वन ऐन २०७६ बमोजिम वन मुद्दा लगाउने तयारी भएको भन्दै माओवादी केन्द्र सर्लाहीले प्रमुख जिल्ला अधिकारी तुलसी बहादुर श्रेष्ठको ध्यानाकर्षण गराएको माओवादी केन्द्र सर्लाहीका इन्चार्ज अच्युतम प्रसाद काफ्लेले जानकारी दिए ।
अख्तियार दुरुपयोग अनुसन्धान आयोगले संघीय वन तथा वातावरण मन्त्रालय र वन विभाग सहित सागरनाथ वन विकास परियोजना सर्लाही र डिभिजन वन कार्यालय लालबन्दी सर्लाहीलाई पत्राचार गरी बागमती नगरपालिकामा ताल बनाउने क्रममा वन क्षेत्र अतिक्रमण गरीएको र वन विनाश गर्ने काम भएको भन्दै वागमती नगरपालिका का नगर प्रमुख थापा सहित उप प्रमुख लिला मोक्तान र अन्य जनप्रतिनिधिहरु तथा कर्मचारीहरुलाई वन मुद्दा लगाउने तयारी गरेपछि तातेको माओवादी केन्द्र सर्लाहीले डिभिजन वन कार्यालय लालबन्दी सर्लाहीका प्रमुख एवम डिभिजन वन अधिकृत सन्तोष कुमार झा र प्रमुख जिल्ला अधिकारी श्रेष्ठको ध्यानाकर्षण गराएको हो ।
बागमती नगरपालिका लगायत अतिक्रमणमा संलग्न व्यक्ति उपर तत्काल थप अनुसन्धान गरी गैर कानुनी रूपमा हटाएको र निकासी गरेको रूख,बिरुवा र ढुंगा, बालुवा, माटो लगायतका नदीजन्य पदार्थको परिमाण र बिगो (मूल्य) यकिन गरी दण्ड सजाय सहितको मागदाबी लिई प्रचलित वन ऐन २०७६ बमोजिम सम्बन्धित अदालतमा मुद्दा दायर गर्न भन्दै अख्तियारले मन्त्रालयलाई र मन्त्रालयले परियोजना र डिभिजन वन कार्यालय लालबन्दी सर्लाहीलाई पत्राचार गरेपछि राज्य नियोजित रुपमा बागमती नगरपालिकाका नगर प्रमुख थापा सहितका जनप्रतिनिधिहरु र कर्मचारीहरु माथि लागि परेको भन्दै माओवादी केन्द्र सर्लाहीले विज्ञप्ती समेत जारी गर्दै सर्व दलिय सर्व पक्षिय छलफलहरुका साथै सरोकारवाला निकायको ध्यानाकर्षणको काम सुरु गरेको माओवादी केन्द्र हरिवन नगर कमिटि अध्यक्ष अर्जुन पन्तले जानकारी दिए ।
उनका अनुसार वागमती नगरपालिकाका नगर प्रमुख थापा, उप प्रमुख मोक्तान,जिल्ला समन्वय समिति सर्लाहीका तत्कालीन प्रमुख मेथुर चौधरी,नगरपालिकाका तत्कालीन प्रमुख प्रशासकीय अधिकृत विमल कुमार पोखरेल लगायतको योजनामा सरकारी वन क्षेत्र अतिक्रमण गरी गैर कानुनी रूपमा पोखरी बनाउन भन्दै रु २७ करोड बढीको नदीजन्य पदार्थ उत्खन्न गर्दै बिक्री वितरण गरिएको आरोप लगाईएको छ ।
अख्तियारको निर्देशन अनुसार संघीय वन तथा वातावरण मन्त्रालयले वन तथा भू संरक्षण विभागलाई सागरनाथ वन विकास परियोजना सर्लाही अन्तर्गतको कर्मैया वन क्षेत्रमा भएको अतिक्रमणको छानबिन गर्न निर्देशन दिएको थियो।त्यसपछि विभागका महानिर्देशक शिवकुमार वाग्ले,उप महानिर्देशक दीपक ज्ञवाली,मधेस प्रदेश वन तथा वातावरण सचिव उद्धव घिमिरे लगायतको टोलीले त्यस क्षेत्रको स्थलगत अध्ययन गरी प्रतिवेदन तयार पारेको बुझिएको छ।विभागका महानिर्देशक वाग्लेको नेतृत्वमा तयार पारिएको सो प्रतिवेदनले पनि सागरनाथ वन विकास परियोजना सर्लाहीको एक हजार चार सय बिघा जग्गा अतिक्रमण भएको निष्कर्ष निकाल्दै अतिक्रमणमा संलग्न वागमती नगरपालिका लगायत सबैलाई वन मुद्दा चलाउनुपर्ने निष्कर्ष निकालेको थियो।
प्रतिवेदनमा वन क्षेत्रमा तालहरू र अन्य भौतिक संरचना निर्माण गर्दा ठूलो परिमाणमा ढुंगा, गिटी, बालुवा,ग्रेभल र माटोलगायतका वस्तुहरू उत्खन्न गरी गैर कानुनी तवरले निकासी गरेको ठहर गरिएको छ।सो प्रतिवेदनमा वन अतिक्रमण गर्ने विरुद्ध आवश्यक कारबाही गर्नका लागि वन डिभिजन कार्यालय लालबन्दी सर्लाहीलाई आवश्यक सहयोग गर्न गृह मन्त्रालयमार्फत जिल्ला प्रशासन कार्यालय सर्लाही र जिल्ला प्रहरी कार्यालयल सर्लाहीलाई आवश्यक निर्देशन दिनुपर्ने सुझाव दिइएको विभागका उपमहानिर्देशक दीपक ज्ञवालीले जानकारी दिएका छन् ।प्रतिवेदनको सो सुझाव अनुसार वन तथा वातावरण मन्त्रालयले गृह मन्त्रालय,प्रधानमन्त्री तथा मन्त्रिपरिषद् कार्यालय र भूमि व्यवस्था,सहकारी तथा गरिबी निवारण मन्त्रालयलाई सो अनुसार पत्राचार गरेको वन मन्त्रालयले जनाएको छ ।
अख्तियार दुरुपयोग अनुसन्धान आयोगमा उजुरी गरी त्यहाँबाट फसाउन सक्ने अवस्था नदेखेपछि नेपाली कांग्रेस र नेकपा(एमाले)को गठबन्धनको सरकारले वन सम्बन्धी मुद्धा बनाएर बागमती नगरपालिकाका नगर प्रमुख थापा र उप प्रमुख मोक्तान सहितका जनप्रतिनिधिहरु र कर्मचारीहरुलाई नियोजित रुपमा फसाउन षड्यन्त्र सुरु गरेको भएपनि स्थानीय जानकारहरुका अनुसार सो क्षेत्रमा २०६२ देखि ०६५ सम्मको अवधिमा सबै रुख परियोजनाका कर्मचारीहरु र काठ तस्करहरुले चोरी तस्करी गरि सखाप पारि सकेका थिए ।
“२०६२ देखि २०६५ साल सम्मको अवधिमा परियोजनाको लापर्बाहीले परियोजनाको मुर्तिया क्षेत्रमा करिब दुई हजार पाँच सय हेक्टर वन क्षेत्रको काठ चोरी तस्करी भएको थियो।विभिन्न समयमा सो क्षेत्रमा भएको अतिक्रमण हटाउन सागरनाथ वन विकास परियोजना सर्लाही,डिभिजन वन कार्यालय लालबन्दी सर्लाहीका साथै जिल्ला प्रशासन कार्यालय सर्लाही रअन्य सरोकारवाला निकायहरुले अतिक्रमण हटाउने प्रयास गरे।तर असफल भएका थिए।जसका कारण त्यहाँ २०६६÷०६७ देखि नै बस्ती बसेको थियो। अहिले सोही विषयलाई लिएर अनावश्यक दुःख दिने नियतले सरकारले बागमती नगरपालिकाका नगर प्रमुख थापा र उप प्रमुख मोक्तान सहितका जनप्रतिनिधिहरु र कर्मचारीहरुलाई नियोजित रुपमा फसाउन षड्यन्त्र सुरु गरेको छ ।”भन्दै स्थानीय आक्रोसित भएका छन् ।
सो क्षेत्र खाली गराउन तत्कालीन प्रमुख जिल्ला अधिकारी मेघनाथ काफ्लेको नेतृत्वमा जिल्ला वन अतिक्रमण नियन्त्रण कार्यदल बनाई अतिक्रमित क्षेत्र खाली गराउन लागि पर्दा स्थानीय र सो कार्यदल विच विवाद भई ५० राउण्ड बढी अश्रुग्याँस समेत प्रहार भएको थियो ।परियोजनाको मूर्तिया वन व्यवस्थापन क्षेत्रअन्तर्गत दुई हजार सात सय ५० हेक्टर क्षेत्रफल मध्ये दुई हजार पाँच सय ३४ हेक्टर क्षेत्रफलमा २०६२ र २०६५ सालदेखि खेती बाली लगाउने एवम बस्ती बस्ने काम सुरु भएको भएपनि २०७४ सालमा स्थानीय तहको निर्वाचनबाट आएका बागमती नगरपालिकाका नगर प्रमुख थापा र उप प्रमुख मोक्तान सहितका जनप्रतिनिधिहरु र कर्मचारीहरुलाई फसाउन वन क्षेत्र नै नभएको बुढी बागमती नदी उकास क्षेत्रलाई वन क्षेत्र भन्दै राज्य लागेको आफुहरुलाई सो कार्य स्वीकार योग्य नभएकाले तत्काल सो निर्णय राज्यले नसच्याए आफुहरु चरणवद्ध आन्दोलनको जाने स्थानीयलेबताएका छन् ।
“सो क्षेत्रमा २०७४ सालबाट बागमती माछा पोखरी बनाउने काम सुरु भएको र करिब १२ वर्ष पहिला नै सकिएको वनलाई २०७४ मा पनि वन मासियो भन्दै अहिले बाहना बाजी गर्ने वनकर्मीहरुले हाल सम्म के हेरेर बसे,यदी वन क्षेत्र थियो भने निर्माण सुरुहुँदै किन रोकिएन?संघीय सरकार, प्रदेश सरकार तथा स्थानीय सरकार र विभिन्न दातृ निकायहरुले लगानी गरेर निर्माण भएको बागमती माछा पोखरी एकै रातमा निर्माण भएको हो ?कुनै वन क्षेत्र तथा वन मासेर निर्माण भएकाले  हो?वातावरणीय प्रभाव मुल्यांकन(आईईई) गर्दा वनका प्रतिनिधिले के हेरेर हस्तक्षर गरे?यी सबै कुरा हेर्दा अहिलेको गठबन्धन सरकार माओवादी केन्द्रका जनप्रततिनिधिहरुले गरेको विकास निर्माणको काम देखेर अतालिएका कारण अनावश्यक मुद्धा लगाई फसाउने षडयन्त्रमा लागेको छ।यो हामीलाई स्वीकार्य छैन्।”उनीहरुले बताए ।
सागरनाथ वन विकास परियोजना सर्लाही अन्र्तगतको मुर्तिया क्षेत्रमा दुई हजार पाँच सय हेक्टर क्षेत्रको वन काठ तस्करले सिध्याएर खाली गराउँदा सो समयमा परियोजना किन मौन थियो ?प्रमुख जिल्ला अधिकारी काफ्लेको नेतृत्वमा बनेको सरोकारवालाहरुको कार्यदलले २०६२/०६५ मा सो क्षेत्रमा रुख नभएकाले रुख लगाउने अभियान चलाएको भएपनि असफल भएको कुरा अहिलेका सरोकारवाला निकायलाई जानकारी नभएको हो की जानकारी भएपनि बाहना गरेका हुन भन्दै स्थानीय आक्रोसित भएका छन् ।घर टहरा बनाएर बसोबास गरिरहेका वास्तविक सुकुम्बासीलाई सुकुम्बासी समस्या समाधान आयोग लगायत राज्यका सरोकारवाला निकायसँगको समन्वयमा पहल गर्ने तथा सरकारको निर्णय अनुसार कार्यान्वयन गर्ने त्यति वेलाको कार्यदलले बताएको,२०६६ सालमा परियोजनालेअतिक्रमण खाली गराउने बाहनामा आफुहरुलाई घरबार विहिन बनाउने काम सुरु गरेपछि आफुहरुले आन्दोलन गरी परियोजनाको कार्यालयमा धर्ना बसेपछि लिखित सहमती गरि आफुहरुलाई सोही ठाउँमा व्यवस्थापन गर्ने सहमती भएको स्थानीयको भनाई छ ।

सम्बन्धित समाचार