सर्लाहीमा सवारी दुर्घटना हुँदा दुई जनाको मृत्यु

164 Shares

सर्लाहीका विभिन्न दुई स्थानमा भएको सवारी दुर्घटनामा दुई जनाको ज्यान गएको छ ।जिल्लाको हरिपुर्वा नगरपालिका ६ स्थित पोखरी नजिकै ट्याक्टरको ठक्करबाट दुई वर्षीया बालिकाको मृत्यु भएको छ।भने धनकौल गाउँपालिका ५ पासवान टोलमा ट्याक्टर पल्टँदा चालकको मृत्यु भएको जिल्ल प्रहरी कार्यालय सर्लाहीले जनाएको छ ।
प्रहरीका अनुसार हरिपुर्वा नगरपालिका ६ हरिपुर्वा पोखरी नजिक मधेश प्रदेश ०३–००१ त ८७०४ नम्वरको ट्याक्टरले ठक्कर दिँदा स्थानीय अफरोज साह फकिरकी छोरी दुई वर्षकी सोहानी साह फकिरको मृत्यु भएको हो।बालिकालाई बाटो काट्ने क्रममा इँटा लोड गरिएको ट्याक्टरले ठक्कर दिँदा मृत्यु भएको प्रहरीले जनाएको छ ।बालिकालाई प्रादेशिक अस्पताल मलंगवा लगेर चेकजाँच गर्दा चिकित्सकले मृत घोषणा गरेका थिए ।दुर्घटनामा संलग्न ट्याक्टर र चालक प्रहरीको नियन्त्रणमा रहेका छन् ।
त्यसैगरी,धनकौल गाउँपालिका ५ पासवान टोलमा ज १ त ७०१३ नम्बरको खाली ट्याक्टर नहरमा पल्टँदा चालक धनकौल गाउँपालिका ४ महिनाथपुरका अन्दाजी ३० वर्षीय अरुण राय यादवको मृत्यु भएको सर्लाही प्रहरीले जनाएको छ ।  एकान्त ठाउँमा पर्ने गाउँको भित्री सडकमा राति कुन समयमा दुर्घटना भयो भन्ने एकिन हुन नसकेको प्रहरीले जनाएको छ।घटनास्थलको प्रकृति मुचुल्का गरी मृतक चालक यादवको शव पोष्टमार्टमका लागि प्रादेशिक अस्पताल मलंगवा पठाइएको छ ।
दुर्घटनामा परेको ट्याक्टर नहरबाट निकालेर इलाका प्रहरी कार्यालय हरकठवामा ल्याइ राखिएको छ।केही दिनदेखि बाक्लो मात्रामा हुस्सु,कुहिरो लागेका कारण निकै पनि कम देखिने भएकाले सवारी साधन चलाउँदा गति सिमित गर्न र बत्ती बालेर मात्रै चलाउन प्रहरीले आग्रह गरेको छ।यता,उखु ढुवानीको समय सुरु भएको भएपनि उखु लोड भएका सवारी साधनहरुमा पछाडि कुनै सांकेतिक व्यानर तथा कपडा नराखेका कारण पनि दुर्घटना बढ्ने भएपनि ट्राफिक प्रहरी मौन देखिएको छ ।

सम्बन्धित समाचार