रौतहटको यमुनामाई गाउँपालिकामा करोडौँको अवैध ठेक्का सम्बन्धी आरोपमा जिल्ला प्रशासन कार्यालय रौतहटले छानबिन सुरु गरेको छ।स्थानीयवासीले ठेक्कामा पारदर्शिता हुनुपर्ने माग गर्दा पनि गाउँपालिकाले बेवास्ता गर्दै पाँच वटा योजना अनियमित तरिकाले ठेक्का लगाको भन्ने विषयको उजुरी पछि अनुसन्धान प्रक्रिया अघि बढाइएको जिल्ला प्रशासन कार्यालय रौहतटले जनाएको छ ।
गत अर्थिक वर्ष २०८०/०८१ मा विभिन्न योजनाहरूका लागि प्राप्त रकमहरूःराष्ट्रिय योजना आयोग मार्फत बोरिङ र दमकल खरिदका लागि एक करोड,तराई मधेश समृद्धि कार्यक्रम अन्तर्गत जनता आवासका लागि रु २५ लाख,मदरसा वा विद्यालयका लागि रु ५० लाख, गाउँपालिकाको रु ५० लाख,सडक बोर्डबाट प्राप्त रु ५० लाख र वित्तीय समानीकरण अनुदानका लागि रुएक करोड १० लाख बिना कार्य आदेश गोप्य ठेक्का लगाईएको आरोप लागेको छ।
यस उजुरीको आधारमा,जिल्ला प्रशासन कार्यालय रौतहटले गत जेठ २५ गते नै गाउँपालिकालाई पत्राचार गर्दै ठेक्का बन्दोबस्ती र यससँग सम्बन्धित सबै कागजातहरू पठाउन निर्देशन दिएको थियो।हाल,गाउँपालिकाले उपलब्ध गराएका कागजातहरूको अनुसन्धान भइरहेको जिल्ला प्रशासन कार्यालय रौतहट स्रोतले जनाएको छ ।यस प्रकरणमा यमुनामाई गाउँपालिकाका प्रमुख प्रशासकीय अधिकृत र जनप्रतिनिधिहरूको मिलेमतोमा ठेक्काहरू अनियमित तरिकाले लगाइएको र भ्रष्टाचार गरिएको आरोप लागेको छ।